माधव कुमार नेपालको भनाई समाजवादी मोर्चा बनेपनि तत्काल पार्टी एकता हुँदैन
रासंसा/काठमाण्डौ, आश्विन ६,
मुलुकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नै अर्को पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन्। शनिबार काठमाडौंमा समाजवादी पेशागत कानून व्यवसायी संगठनको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिले नै अर्को पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताएका हुन्। उनले एमालेभित्र आत्मसमर्पण र दासता स्वीकार्य नभएकै कारण आफूहरुले विद्रोह गर्नुपरेको पनि बताए। अध्यक्ष नेपालले गठबन्धन सरकारबाट बारिहिने कुरा पार्टीलाई सिद्धाउने कुरा मात्रै रहेको र कांग्रेसलाई बिच्काएर मुलुक निर्माणको सिंगो अभियानलाई धराशयी बनाउने दिशातर्फ जान नसकिने स्पष्ट पारे। मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउनका लागि विचार मिल्नेहरुको समाजवादी मोर्चा बनाएपनि पार्टी एकता नहुने बताए। आफ्नो पार्टीको अस्तित्व स्वीकार नगर्ने र अनुहार नै देख्न नचाहने प्रवृतिसँग एकताको गीत गाएर हिड्नुको कुनै अर्थ नरहेको उनले बताए। नेपालले नेकपा एकीकृत समाजवादीलाई दृढताका साथ अघि बढाउने जिकिर गरे। उनले राजनीतिक व्यवस्थाको परिवर्तनसँगै जनताको अवस्थामा परिवर्तन ल्याउन नसके राजनीतिक परिवर्तनको कुनै अर्थ नरहने धारणा राखे। नेपालले जनताको हक अधिकार संविधानको पानामा मात्रै लेखेर नहुने भन्दै त्यसमा रहेका बिषयलाई कार्यान्वयन गर्नु चुनौति रहेको बताए।