चिनियाँ विदेशमन्त्रीपछि रक्षामन्त्री पनि सम्पर्कविहीन बर्खास्त गरिएको आशंका

Share to:

एजेन्सी,

चिनियाँ विदेशमन्त्री छिन काङ सार्वजनिक जीवनमा नदेखिएको एक महिनापछि गत जुलाईमा मात्रै पदमुक्त गरिएको चिनियाँ सरकारले बतायो। त्यसको दुई महिना नपुग्दै फेरि रक्षामन्त्री ली साङ् फु दुई सातादेखि सार्वजनिक रूपमा देखिएका छैनन्। यसरी महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका चिनियाँ राजनीतिज्ञहरू एकपछि अर्को अचानक हराउनुलाई अस्वाभाविक रूपमा हेर्न थालिएको छ। लीको अनुपस्थितिलाई लिएर विदेशी कूटनीतिज्ञले पनि प्रश्न उठाउन थालेका छन्। जापानका लागि अमेरिकी कूटनीतिज्ञ रहम् इमानुयलले महत्त्वपूर्ण सैन्य बैठकहरूमा पनि चिनियाँ रक्षामन्त्री नदेखिनु गम्भीर भएको बताए। उनले सामाजिक सञ्जाल ‘एक्स’मा चिनियाँ सरकारमा ‘बेरोजगारी दर’ अति उच्च रहेको तथा धेरै वरिष्ठ सैन्य अधिकारीलाई अवकाशमा पठाइएको उल्लेख गर्दै रक्षामन्त्री लीको अनुपस्थितिले उनलाई जिम्मेवारीविहीन बनाइएको पुष्टि गर्न बल मिलेको उल्लेख गरेका छन्। अमेरिका र चिनियाँ स्रोतहरूलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले रक्षामन्त्री लीलाई शुक्रबार पदमुक्त गरिएको भिडियो रिपोर्ट सार्वजनिक गरेको छ। यता रक्षामन्त्री लीको ‘सार्वजनिक अनुपस्थिति’को बारेमा भने चिनियाँ सरकारले कुनै प्रतिक्रिया दिएको छैन। गत साता चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले ‘रक्षामन्त्रीको अवस्थाबारे जानकार नभएको’ बताएकी थिइन्। यसरी महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका चिनियाँ राजनीतिज्ञहरू एकपछि अर्को अचानक एकाएक टाढिएको विषयलाई चीनले भने लुकाउँदै आएको छ। चिनियाँ सरकारले यस्तो विषयलाई पनि गोप्य राख्नुको पछि आशंका गर्ने धेरै विषय भएको कूटनीतिज्ञहरू आशंका गर्छन्। ‘के उनीहरूलाई चिनियाँ सरकारले गम्भीर सजाय त दिइएन ?’ धेरैले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्। पूर्वविदेशमन्त्रीजस्तै छिन साङजस्तै लीलाई पनि राष्ट्रपति सी जिनपिङको विश्वासपात्रको रूपमा हेरिएको थियो। सैन्य भ्रष्टाचार शुद्धीकरणको अभियान पहिलो पटक अगस्टको सुरुमा लन्च गरिएपछि चीनको रकेट फोर्समा दुई जनरलहरूलाई प्रतिस्थापन गरिएको थियो। भ्रष्टाचार मुद्दामा नै सेनाको सैनिक अदालतका अध्यक्षलाई पनि नियुक्ति भएको महिनौंपछि हटाइएको थियो। केही दिनअघि मात्रै धेरै चिनियाँ सैन्य अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको थियो। त्यस लगत्तै रक्षामन्त्री पनि सार्वजनिक रूपमा देखिएनन्। उनी गत २९ अगस्टमा बेइजिङमा भएको अफ्रिकी मुलुकसँगको सुरक्षा फोरमको बैठकमा सहभागी भएका थिए। त्यसयता सार्वजनिक रूपमा देखिएका छैनन्। ली चीनको एयरोस्पेस इन्जिनियरको रूपमा चीनको स्याटेलाइट र रकेट सेन्टरबाट सुरु गरेको सैन्य करिअरबाट रक्षामन्त्रीसम्म बनेका थिए। जनरल ली भियतनाम भ्रमण अचानक छोट्ट्याएर फर्किएका थिए भने हालै सिंगापुरको नौसेना प्रमुखसँग बेइजिङको बैठकमा जनरल ली उपस्थित भएनन्। भियतनामी अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले ली गत हप्ता भियतनामी रक्षा नेताहरूसँगको बैठकबाट अचानक बाहिरिएको र जसलाई चिनियाँ जनरलको ‘स्वास्थ्य अवस्था’ मा समस्या भएको बताइएको थियो।

Like