चुच्चेपाटीमा डा.सन्दुक रुइत र रीता गुरुङले गरे ‘तिलगंगा सिटी आई सेन्टर’को उद्घाटन

Share to:

रासंसा/काठमाण्डौ, भाद्र ९,

मुलुकमा वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइत र डा. रीता गुरुङले काठमाडौंको चुच्चेपाटीमा ‘तिलगंगा सिटी आइ सेन्टर’को उद्घाटन गरेका छन् । शनिवार विहान एक समारोहका बीच तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक रुइत र प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले एक समारोहका बीच सिटी आइ सेन्टरको उद्घाटन गर्दै सेवा सुभारम्भ गरेका हुन् । तिलगंगा सिटी आई सेन्टरले व्यवस्थापनको काम गर्ने र तिलगंगाका चिकित्सकहरुले आँखा उपचार गर्ने मोडेलमा सो काम अघि बढ्न लागेको उनले बताए । उद्घाटनको अवसरमा बोल्दै डा.रुइतले पब्लिक–प्राइभेट पार्टनरसीप मोडेलबाट आँखा उपचार सेवा दिनु समायुनुकूल भएको बताए । यस्तो मोडेलबाट काम गर्न उपयुक्त पात्र पाउन गाह्रो रहेको अवस्थामा सहकार्यका लागि उपयुक्त पात्र भेटेको बताउँदै सो सेन्टरमा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरुले सेवा दिने बताए । उनले भने– ‘यस्तो मोडेल नेपालका अरु शहरमा पनि गर्न सकिन्छ । राम्रो मोडेल जहाँ पनि चल्छ त्यसका लागि एकजनाले पहल लिनुपर्छ । अहिलेको जमानामा यस्तो प्रक्रिया नअपनाईकन हामी अगाडि बढ्न सक्दैनौँ । यस्ता मोडेलहरुले गरेर हाम्रा युवाहरुलाई विदेशमा जानबाट केही मात्रामा भएपनि रोक्न सक्छौँ । सक्छौँ भने यस्तो मोडेलहरु सिर्जना गरौँ, सक्दैनौँ भने प्रोत्साहन गरौँ ।’ कार्यक्रममा सो सेन्टरले आँखासम्बन्धी विभिन्न जटिलताको निदान र उपचारको लागि विभिन्न सेवाहरू प्रदान गर्ने, आँखा सम्बन्धी उन्नत निदान उपकरणहरुका साथै दक्ष कर्मचारीहरुद्वारा आँखाको जाँच गरिने जानकारी दिइएको छ । यस्तै नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाहरू, मोतिबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको रोगहरुको उपचार, आँखाको सौन्दर्य सम्बन्धि र अल्छि आँखाको व्यवस्थापन साथै कन्ट्याक्ट लेन्स र भीजन थेरापीको सेवासुविधाहरु पनि दिइने जानकारी दिइएको छ । सो सेन्टरमा तिलगंगा आँखा प्रतिष्ठानका १८ जना नेत्र चिकित्सकहरुले हरेक दिन सेवा दिनेछन् भने दैनिक १५० जना आँखाका बिरामीले सेवा लिन सक्ने जानकारी दिइएको छ । आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट सेवा एकै ठाउँवाट दिने उद्देश्यले चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आइ सेन्टरले सेवा शुभारम्भ गरेको हो । सार्वजनिक–निजी साझेदारीको अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्याती प्राप्त चिकित्सकको समूहबाट आँखाका सम्पूर्ण उपचार गर्ने सुविधा सहित यो सेन्टर सञ्चालनमा ल्याइएको कार्यक्रममा जानकारी दिइएको छ ।

Like