कस्तो ठाउँमा उपयुक्त हुन्छ पदमचाल खेती ?

Share to:

रासंसा/कन्चंजंगा, श्रावण ३१,

मुलुकमा यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्कहुँदा वातावरणलाई आकर्षित पारेको छ। गहनाले दुलही सजिएजस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदाघुमघाम गर्नेलाई मोहित बनाएको छ।उच्च हिमाली क्षेत्रमा फूलहरूको रानी पदमचाल (केन्जो) फूललाई लिन सकिन्छ। केन्जो अर्थात् पदमचाल दुर्लभ प्रजातिको फूल हो।अग्लो र सेतो हुने यो फूल निकै सुन्दर हुन्छ। डाँडैभरि टावरझैँ फुलेको हुन्छ केन्जो। लेकाली चौर र अग्ला डाँडा निकै आकर्षक देखिने गरी फुलेको भेटिन्छ। केन्जो औषधि पनि हो। पहाडमा बाक्लो गरी देखिने केन्जो लामो क्षेत्रसम्म फैलिएको छ।फरक किसिमको फूल भएकाले आकर्षक देखिन्छ। यो कमै ठाउँमा पाइन्छ । केन्जो फूल झट्ट देख्दा मानसपटलमा काठमाडौँमा नयाँ बनेको धरहराको झल्को आउँछ। धरहराजस्तै सेतो रङ र बनावट पनि उस्तै देखिन्छ। हिमाली क्षेत्रमा उच्च डाँडा तथा पहरामा सेताम्य भएर केन्जो फूलले जो–कोहीलाई पनि लोभ्याउँछ। कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यक्रम सहायक जितेन चेम्जोङलेमिक्वाखोला गाउँपालिका–५ का लोदेन र तोक्पेगोला तथा फक्ताङलुङ गाउँपालिका–७ सिङजेमा, देउमा र माउमा क्षेत्रमा केन्जो कमै पाइने बताए। सिदिङवा गाउँपालिका–७ तिम्बुपोखरी पनि क्षेत्र केन्जो पाइने एक ठाउँ हो।वनस्पति विभागका अनुसार जैविक औषधिको महत्वसमेत बोकेको यो वनस्पति आकर्षक भएकाले नै चर्चित छ। यस क्षेत्रका घरमा केन्जोको तस्वीर फ्रेममा झुन्डिएको देख्न पाइन्छ। होटलमा पनि राखेको देख्न पाइन्छ। “पदमचाललाई मैले पहिलोपल्ट एक माइल टाढाबाट देखेँ। लाछेन उपत्यकाको १४ हजार फिट उचाइमा अवस्थित कालो पहाडलाई यसले अत्यन्त सुन्दर बनाएको थियो। अप्ठ्यारा ठाउँमा थिए। तीन फिट जति अग्लो यस वनस्पति पिरामिड टावरको रूपमा ठिङ्ग उभिएको थियो”, उनले लेखेका छन्। यसको व्याख्या पहिलोपल्ट ब्रिटिस बोटानिस्ट सर जोसेफ टाल्टन हुकरले गरेको भेटिन्छ। उनले ‘हिमालयन जर्नल्स नोट्स अफ न्याचुरलिस्ट’मा व्याख्या गरेका छन्। सन् १८४९ तिर सिक्किमको लाछेन उपत्यकामा यो वनस्पति देखेको लेखेको पाइन्छ। वनस्पति विभागका अनुसार नेपाल, भारत र भुटानमा यो वनस्पति भेटिएको छ। वनस्पति विभागका अनुसार पदमचाललाई एक किसिमको जडीबुटी हो। आयुर्वेदमा यसलाई निकै महत्वका साथ लिइन्छ। संस्कृतमा यसलाई रेवाचिनी, अम्लसार, बेतसाम्ल, फलाम्ले, गन्धिनी भनेर पनि चिनिन्छ । पोलिगोनेसी वनस्पति परिवारभित्र पर्दछ। हिमाली भेगको फिरफिरे, ठिङ्ग्रे वा गोब्रे सल्ला इत्यादि भएका जङ्गलको छेउछाउ, थुम्का, खुला ठाउँ र ढुङ्गाको अन्तरमा हुर्किन्छ। एकदेखि दुई मिटरसम्म अग्लो हुने पदमचाल जरा र जमिनमुनि रहने कान्ड कसिएको गठिलो हुने गरेको मिक्वाखोला गाउँपालिका–५ तोक्पोगालाका स्थानीय तेन्जिङ शेर्पाले बताए।उनका अनुसार बाहिरी भाग चाउरी परेको हुन्छ। यसबाट सुगन्धित बास पनि आउँछ। स्वाद भने पिरो, टर्रो र केही मात्रामा अमिलो पनि हुन्छ। जमिनबाटै पलाइआएका लामा डाँठ भएका यसका पात ३० सेन्टिमिटर चौडा हुन्छन्। बिरुवाका माथिल्लो भागमा तल्ला पातहरूको दाँजोमा साना हुन्छन्। यसको फूल साना र राता हुन्छन्। एउटै फूलमा भाले तथा पोथी दुवै पाइन्छन्। यसलाई जडीबटी सङ्कलनकर्तालेजरा किनेर भारत, चीनलगायतका मुलुकमा निर्यात गर्ने गरेका छन्।कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत आर्दश क्षेत्रीका अनुसार पदमचालको औषधीय गुण धेरै हुने भएकाले यो अति महत्त्वपूर्ण बिरुवा हो। व्यावसायिकरूपमा लगाएर आर्थिक लाभ लिन सकिन्छ। बिरुवा काण्डका टुक्राहरूबाट अथवा बीउबाट उमारिन्छ। बिरुवालाई वसन्त ऋतुमा सार्नुपर्दछ। एक दशमलव पाँच मिटर दूरीमा रहेको खाल्डोमा मलजल गरेपछि मात्र यो बिरुवा सार्ने कार्य हुन्छ। पदमचालका फूल साना र रातो रङको हुन्छ। पदमचाल विशेषत नेपालको हिमाली भेग दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्वत, रुकुम, बागलुङलगायतका जिल्लामा पाउने संरक्षण अधिकृत क्षेत्रीले बताउनुभयो। वन विभागले दिएको तथ्याङ्कानुसार नेपालमा हाल वार्षिक चार हजार आठ सय ३५ मेट्रिक टन जडीबुटी उत्पादन हुँदै आएको छ। यस्तै विभागले सतुवा, लौठसल्ला, अतिसलगायत ३० प्रजातिका जडीबुटीलाई अध्ययन, अनुसन्धान र खेती विस्तार गराउँदै आएको छ। उनका अनुसार कब्जियत, पखला लागेको, ज्वरो आएको अवस्थामा पदमचालको प्रयोग गर्न सकिन्छ। त्यस्तै, शरीरमा जलन भए यसको रस जुसका रूपमा पिउँदा शरीरलाई शीतलता प्रदान गर्छ। डाँठलाई सुकाएर जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ। खाना अपच भएको अवस्थामा एक गिलास पानीमा यसको सुकाएको धुलो एक चम्चा मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ। शरीरको कुनै भाग सुन्निएको, मर्केको, भाँचिएको अवस्थामा पदमचालको जरा कुटेर गाईको गहुँतसँग मिसाइ लगाउनाले फाइदा गर्दछ। साथै पदमचालको पात, डाँठ, फूललाई अचार तथा तरकारीमा पनी प्रयोग गरिन्छ।

Like