सहकारीले दिएका पीडा कहिल्यै नबिर्सने क्षण
रासंसा/काठमाण्डौ, श्रावण १९,
मुलुकमा आर्थिक अवस्था सामान्य भएका नेपालीको बाध्यता नै हो परिवारको शिक्षा र स्वास्थ्यका लागि पैसाको जोहो गर्नु। सबैभन्दा बढी खर्च यहीँ हुन्छ भनेर कमाएको केही रकम बैंक वा सहकारीलगायतका वित्तीय संस्थामा उनीहरू जम्मा गर्छन्, आवश्यक परेको समय प्रयोग गर्छन्। तर, त्यहीँ जम्मा गरेको पैसा आवश्यक परेको समयमा निकाल्न नपाए अवस्था के होला ? अहिले सहकारी पीडितको अवस्था हेरे उत्तर पाइन्छ। सहकारीपीडित मध्येकै एक नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द सहकारीले गरेको व्यवहारमा दुःख लागेको बताउँछिन्। भन्छिन्, ‘सहकारी पीडितको यस्तो अवस्था हँुदा पनि सरकार किन मौन छ ?’ नेपालभर सहकारीबाट ठगिएका निक्षेपकर्ताहरू एकबद्ध भएर आन्दोलन गरे। सहकारीपीडित बचतकर्ता महासंघको संयोजक हरिश्चन्द्र श्रेष्ठ ६३ दिनदेखि निरन्तर धर्ना र रिले अनशनमा रहेको बताउँछन्। केहीले राम्रो ब्याज आउने आसले पनि सहकारी रोजे। ब्याज त परै जाओस, दुःख गरेर कमाएको पैसा पनि सहकारीले फिर्ता नदिएपछि सर्वसाधारण एकाएक सडकमा पुगेका छन्। उनीहरूको एउटै माग छ– सहकारीले हाम्रो पैसा फिर्ता गरोस्। लाखौं सहकारी पीडितहरूले निक्षेप रकमको साँवा र ब्याज अबिलम्ब फिर्ता गर्न माग गर्दै काठमाडौंको माइतीघरबाट जुलुस निकाल्दै बिहीबार आन्दोलन गरे। बिजुलीबजारमा पूरै सडक कब्जा गर्नेक्रममा सहकारी पीडित र प्रहरीबीच मुठभेड भएर दुई जना सहकारी पीडित घाइतेसमेत भए। लामो समयदेखि पीडितले उठाएको आवाज सरकारले नसुनेको भन्दै उनीहरू आन्दोलित भएका थिए। उनीहरूले सहकारी संस्थालाई राष्ट्र बैंकको निगरानी र नियन्त्रणमा राख्ने व्यवस्था गर्नुपर्ने, बचकर्ताको साँवा तथा ब्याज रकम फिर्ता गर्नुपर्ने, सहकारी सञ्चालकका परिवार र कर्मचारीको सम्पत्ति रोक्का गर्नुपर्ने मागसहित प्ले कार्ड बोकेर दबाबमूलक र्याली निकाले। १ सय ६ वटा सहकारीका पीडित सहकारीहरू रहेको यस आन्दोलनमा उनीहरूको समस्यालाई समाधान गर्न एकजुट भएको उनले बताए। उनका अनुसार मुलुकभर करिब ३२ हजार सहकारी दर्तामा छन्। ‘यसमध्ये ३० हजार सहकारीमा समस्या आउँदा १४ हजार सहकारी संकटमा छन् र ८ हजार सहकारीले पूर्णरूपमा निक्षेपकर्ताको पैसा फिर्ता गरेका छैनन्,’ उनले भने। ‘१८ प्रतिशत ब्याज पाउने आसमा ९० लाख रुपैयाँ मुद्दतीमा राखेका थिए। तर, साँवा ब्याज नआएको १२ वर्ष भयो। यसबिच २०६९ साल भदौमा उनीहरूले पैसा दिन नसक्ने भनेको सुनेपछि लिन जाँदा कहिल्यै दिएनन्। यसलगत्तै आन्दोलन, जुलुस गरियो सञ्चालकलाई जेल हालियो, सर्वोच्चमा मुद्दा दायर गरियो र जितियो पनि तर पैसा पाइएन,’ श्रेष्ठले सुनाए। यद्यपि बिहीबार सहकारी पीडितको दबाबमूलक आन्दोलनले सरकारको ध्यानाकर्षण भएको छ। सरकारले सहकारी पीडितसँग सातबुँदे सम्झौता गरेको छ। वास्तवमा सञ्चालकको बदमासी र गैरजिम्मेवारीका कारण सहकारीमा समस्याले विकराल रूप लिँदै गएको हो। सञ्चालकले मनपरी ऋण चलाउने, साँवा, ब्याज नतिर्ने र अन्धाधुन्ध घरजग्गामा लगानी गर्दा सहकारी धराशायी हुने क्रम बढ्यो। देशभर २९ हजार ८ सय ८६ सहकारी छन्। अधिकांश सहकारी काठमाडौंमा छन्। सहकारी विभागका रजिस्टार घिमिरेका अनुसार ७५ प्रतिशत बढी सहकारी निक्षेप फिर्ता गर्न नसक्ने स्थितिमा पुगेका छन्। जसले गर्दा सदस्यको बिल्लीबाठ भएको छ। संयोजक श्रेष्ठ ओरियन्टल सहकारीबाट ठगिएका व्यक्ति हुन्। २०५४ सालदेखि दैनिक रूपमा पैसा जम्मा गर्दै जानेक्रममा १ लाख पुगेपछि बढी ब्याज आउँछ भनेर मुद्दतीमा सार्दै गएका थिए। यसो गर्दै जानेक्रममा उनले ९० लाख रुपैयाँ जम्मा भएको थियो तर १२ वर्षदेखि साँवा ब्याज पाएका छैनन्। ‘करिब ८ हजार सहकारीले पूर्ण रूपमा पैसा नदिएको देख्दा करिब ६५ अर्ब रुपैयाँ साँवा मात्रै उठ्न बाँकी रहेको अझ ब्याज जोडेको छैन। हामीहरूले ३ चरणमा सहकारी मन्त्रीसँग कुरा गरिसकेका छौं तर, निकासा निक्लिएको छैन,’ उनको भनाइ छ। ३० हजारसम्म जम्मा गरेका सदस्यले पनि निक्षेप फिर्ता पाउन सकेका छैनन्। ३ करोड निक्षेप राखेका एक सदस्य ५ हजार रुपैयाँ पनि फिर्ता नपाएको गुनासो गर्छन्। अहिलेसम्म १० वटा खरेज भएका छन् भने ५ सय बढीको उजुरी परेको छ। देशभरका १ सय ३५ सहकारी जटिल समस्यामा पर्दा ५७ वटा कारबाही सिफारिसमा परेका छन्। काठमाडौं उपत्यकामा मात्रै कुलमध्ये ७५ प्रतिशतभन्दा बढी सहकारी धराशायी भएका छन्। विषयका आधारमा बचत तथा ऋण ३९, कृषि सहकारी ३८, बहुउद्देश्यीय सहकारी १३ र अन्य सहकारी १० प्रतिशत छन्। तर, सबैले खुलेआम बचत तथा ऋण मात्रै गर्दा समस्या आएको जानकारी बताउँछन्। उनका अनुसार देशभरको सहकारीले १० खर्बको कारोबार गर्छन्। ४ खर्ब ७७ अर्ब ९६ करोड निक्षेप संकलन गरी ४ खर्ब २६ अर्ब २६ करोड कर्जा प्रवाह गरेका छन्। सेयर पुँजी १ खर्ब पुगेको छ। पछिल्लो समय एकपछि अर्को गर्दै सहकारी संस्था धराशायी बन्दै गएका छन्। कति सहकारीका त सञ्चालक नै फरार छन्। सय बढी सहकारी कार्यालयमा ताला लागेको छ। सरकार र सहकारीपीडितबीच सात बुँदे सम्झौता भएको छ। तर, यो सम्झौताले पीडितको समस्या समाधान हुनेमा पीडितकै आशंका छ। छलफलबाट सहकारी संस्थाका बचतकर्ताको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाउने सहमति भएको सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले जानकारी दिए। सिंहदरबारमा बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरे र पीडितबीच छलफल भएको थियो। ‘सहकारी संस्थाबाट भएको कर्जा असुली प्रक्रियालाई छिटो–छरितो र प्रभावकारी बनाउन कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरणको स्थापना गर्न मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ। सहकारी क्षेत्र सुधार सुझाव कार्यदलमा अनशन-धर्नामा रहेका सहकारी संस्थाका बचतकर्ताको समेत प्रतिनिधित्व गराउन धेरैमा तीन जनासम्म प्रतिनिधि आमन्त्रित सदस्यका रूपमा समावेश गर्ने सहमति भएको छ’, उनले भने। सहकारीपीडित बचतकर्ता माइतीघरमण्डलामा दुई महिनादेखि अनशन÷धर्नामा बस्दै आएका थिए। सहमतिअनुसार ओरेन्टललगायत समस्याग्रस्त घोषित सहकारी संस्थाको तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाई कार्यान्वयन गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग मन्त्रालयले समन्वय गर्ने निर्णय भएको छ। यस्तै सहकारी क्षेत्रको सुधार गर्न विद्यमान कानुनी व्यवस्थाभित्र तत्काल सुधार गर्न सकिने र कानुन संशोधन गर्नुपर्ने भए त्यस्तो विषयमा समेत तत्काल मन्त्रालय, सहकारी विभाग र समस्याग्रस्त व्यवस्थापन समितिबाट आवश्यक गृहकार्य अघि बढाउने सहमति भएको छ। कालीकोटबाट ९ वर्षदेखि काठमाडौंमा आएर घरघरमा गलैंचा डुलाउँदै बेचिखाने गरेको छु। श्रीमतीले पनि डोकोमा साग बेच्ने गर्छिन्। यसरी जोहो गरेको थोरैथोरै पैसालाई न्युरोडस्थित खुसी सहकारीमा राख्दै आयौं। सहकारीमा २०७८ कात्तिक २४ गतेबाट मुद्दती निक्षेपमा ४ लाख ५५ हजार राखेको थिए। ५५ हजार बल्ल तल्ल उठ्यो तर ४ लाख उठाउन सकिएन। सहकारीमा कैलालीतिरकै बहिनीले लौन दाइ पैसा जम्मा गरिदिनुस् भने अनि विश्वासले पैसा राखियो। दिनभर दुःख गरेर बेलुका चुलो बाल्नुपर्छ। त्यही पनि दिनको सय, ५ सय गरेर जम्मा गरियो। हामीले त पैसा जम्मा गरेर दशैंमा मिठो खाने राम्रो लाउने हो। केटाकेटीलाई राम्रै शिक्षा दिन भनेर सहरी आइयो। उनीहरूलाई भोलि भविष्यमा सजिलो होला भनेको तर भएको पैसा सहकारीले ठग्यो। मैले सहकारीमा पहिलो पटक राखेको सुरुमै फसेँ। म जस्तै कालीकोट, जुम्लाका दुःख गरेर जोहो गरेका १५ जना जति पनि यसमा पीडित छन्। सबैको ६५ हजारदेखि माथी लाखौं लाख डुबेको छ। सुरुमा राम्रो ब्याज पाइने भनेर १५ प्रतिशतमा ब्याज लगाएपछि आम्दानी पनि हुन्छ अरूको कमाइ छैन भनेर राखियो। परिवारमा म एक्लैले नर्सिङ काम गरेर कमाएर घर धान्दै आएको छु। सम्पत्तिको नाममा भएको त्यो पैसा हो। अब छोरीलाई विदेश पढ्न पठाउनु छ तर भएको पैसा फसेकाले जुटाउन सकेको छैन। यो अवस्थाले गर्दा छोरीलाई समेत डिप्रेसनको अवस्था आयो। सञ्चय कोषबाट ऋण लिएर कलंकीमा घर बनाइयो। पछि ऋण तिर्न गाह्रो भयो र छोराछोरीलाई पढाउन पनि धेरै पैसा खाँचो परेकाले घर बेचियो। घर बेचेर आमाको घरमा बसेका छौं। घर बेचेर ऋण चुक्ता गरेपछिको बाँकी र आफ्नो सञ्चय कोषको केही पैसा गरेर ६० लाख सोल्टीमोडस्थित सिभिल सहकारीमा राखेँ। मैले राखेको ३ वर्षमै यस्तो हविगत भयो। बत्तीसपुतलीको स्थानीय बासिन्दा हुँ। मेरो घर बेचेको करिब ५० लाख जति ओरेन्टियल सहकारीमा फसेको छ। यसैले १२ वर्षदेखि पीडितहको समूहमा लड्दै आएका छौं। राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालय, सरकारी निकायमा गएर गुनासो राखिसक्यौं। तर, पीडितलाई सहयोग गर्नुको ठाउँमा पीडक सुधीर बस्नेत र सञ्चालकहरूलाई नै सरकारले सहयोग गर्यो। किनभने त्यो सहकारी राजनीतिक संरक्षणबाट चलेका तिनीहरूलाई सरकारले कारबाही गरेन। सरकारले ४ वटा समस्याग्रस्त सहकारी समिति खडा गर्यो, आफ्नै मान्छे राख्यो। तर, यति लामो समय बित्दा पनि न सहकारी विभागले काम गर्छ नत समस्याग्रस्त समितिले पनि काम गरेन। उल्टै सरकारले पीडितलाई भन्दा पीडकलाई नै सहयोग गरेर हामीलाई झन अफ्ठेरोमा राख्ने काम भयो। मैले रोयल गोरखा सहकारीमा पटक–पटक गरेर साढे १८ लाख मुद्दतीमा जम्मा गरेको थिए। यसमा मैले माइतीले दिएको जग्गा बेचेका पैसामध्ये ८ लाख रुपैयाँ राखेको थिए। मेरो नातिनी विदेश जाने भनेर ल्याएको ९ लाख रुपैयाँ मैले त्यही सहकारीमा ३ महिनाका लागि मात्रै भनेर राखिदिएको थिएँ। मलाई सहकारीमा पैसा राख्न एक जना कर्मचारीले फकाइ–फकाइ लग्यो। अहिले देखा पर्दैन। मेरो आफन्तको पनि मैले राम्रो ब्याज आउँछ रे राख भनेपछि राखेका हुन्। मलाई सबैको थाप्लामा आउँछ। सहकारीबाट आएन भने मैले कसरी तिर्नु। तर, पैसा ३ महिनापछि दिँदै दिएन। अझ दिदीको छोरीलाई पनि त्यही सहकारीमा राख भनेर डेढ लाख राखिन्। सबै साँवा ब्याज डुब्यो। राखेको पनि धेरै भएको छैन। पैसा राखेको १ वर्ष नहुँदै सहकारी भाग्यो। फोन गर्दा उठाउँदैन। धरानमा मुख्य कार्यालय रहेको बराह सहकारीमा मैले लगभग २० लाख रुपैयाँ जम्मा गरेको थिए। यो सहकारीको शाखा न्युरोडमा पनि थियो। श्रीमतीको नामबाट निक्षेपमा राखेको करिब ३ वर्ष भयो। सहकारीमा पैसा राख्नलाई श्रीमतीका दिदीबहिनीले बहकाय। सुरुमा १६ प्रतिशत ब्याज दिएको थियो। पछि फेरि पैसा थप्नुस् १८ प्रतिशत ब्याज दिन्छु भनेर लोभ्याइ दियो। यो सहकारीले धेरैलाई अर्बौं तिर्नुपर्ने छ। सहकारीले अहिल अलि लगानी पनि गर्यो तर त्यहाँका ८–१० जना कर्मचारीले मनपरि खर्च गरे, चोरे। सहकारीमा आर्थिक अनुशासन नै भएन। कोही भागे कोही अझै छन्। हाम्रा अगाडि हाम्रै पैसा खाएकाहरू चिल्ला गाडी चढेर हिँड्छन्। बंगलामा बस्छन्। हामीलाई मर्कामा पारेर उनीहरूले मोजमस्ती गर्नु भएन नि ! अझ मैले चिनेजनेका आफन्तीका करोडभन्दा माथी राखेका पनि छन्। धरानमा जग्गा बेचेको पैसामध्येबाट केही रकम सहकारीमा राख्यौं। भएको पैसा राखियो सुरुमा त ब्याजबापतको आम्दानीबाट घरव्यवहार भरथेक हुन्थ्यो। निरन्तर आम्दानीको स्रोत छैन। कहिलेकाहीँं किताबहरू सम्पादन गर्छु। यसबाट जति आम्दानी हुन्छ त्यसले दैनिक गुजारा चलाउँदै आएको छु। अझ छोराछोरीलाई आफन्तहरूले हेर्दिएका छन्। छोरीले कमाएको पैसाबाट थोरैथोरै गरेर आमालाई बुढेसकालमा खर्च गर्न सजिलो हुन्छ भनेर बसुन्धराको उत्तम फाइनान्समा पैसा जम्मा गर्दिएकी थिइन्। हामी सबै परिवारको बचत गरेको पैसा फस्यो। सहकारीले ठगेर भाग्दा हामी फन्दामा पर्यौं। हामीलाई यस्तो धोखा भयो। अहिले खल्तीमा बचेको पैसा एक रुपैयाँ छैन। दैनिक गुजारा चलाउन नुन, तेल, खाद्यान्न, तरकारी सबै किनेर खानुपर्छ। भएको पैसा चलाउँछु भन्ने बेला यता न उता भैयो। दिनको दिन आन्दोलनमा आउँछौं। एकपटक र्यालीमा आयो भने २–४ दिन उठ्नै सकिन्न। श्रीमान् छोराछोरी सानै हुँदा बित्नु भयो। दुःख गरेर गाउँघरमा हुर्काएँ। यो ठाउँमा आएर छोराछोरीले दिएको पनि सहकारीले ठग्दा खान पाइन्। दुःख गरेर कमाएको पैसा नपाउँदा साह्रै चिन्तामा छौं। मेरो नाममा खाता खोलिदिएर राखेको थाहा थिएन। पछि छोरीले आमा तपाईंको नाममा सहकारीमा खाता खोलेर पैसा जम्मा गर्दिएको छु पछि बुढी भएपछि खानुपर्छ भनिन्। त्यतिबेला हामी कता हुन्छौं तपाईंलाई झिकेर खान सजिलो हुन्छ भन्थिन्। उसले मेरो नाममा जम्मा गर्दै जाँदा ४ लाख पुगेको रहेछ। छोरीको नामको १० लाख रुपैयाँ जम्मा भाको छ। कान्छी बुहारीले पनि थोरैथोरै गरेर १ लाख रुपैयाँ जम्मा गरेकी छन्।