नियन्त्रणका लागि ईडीसीडीबाट बल्ल वार्षिक कार्ययोजना, डेंगी फैलिएको १९ वर्ष

Share to:

रासंसा/काठमाण्डौ, श्रावण ६,

मुलुकमा विगतका सबै वर्षहरुमा देखिएझैँ यस वर्ष पनि असारदेखि डेंगी संक्रमण बढ्दै गएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अब क्रमशः भदौ र असोजमा संक्रमितको संख्या उच्च रहनेछ । हालसम्म देशभर २ हजार ९ सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ भने डेंगी संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यस वर्ष ६५ भन्दा धेरै जिल्लामा डेंगुका बिरामी पुष्टि भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । यस्तै, विज्ञहरूका अनुसार डेंगी संक्रमितको आँकडा अस्पताल भर्ना भएकाहरुको मात्रै हो । सङ्क्रमित भई घरमै बसेर लक्षण अनुसारको उपचार गर्ने धेरै हुन सक्ने उनीहरूको अनुमान छ । जिल्ला तहबाट डेंगी संक्रमण पुष्टिको रिपोर्टिङ हुने क्रम जारी रहेकाले बढ्न सक्ने ईडीसीडीले जनाएको छ । नेपालमा १९ वर्षको अवधिमा सन् २००४ देखि हालसम्म ८३ हजार ६८१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यस वर्ष पनि नेपालमा डेंगी संक्रमितको दर बढ्दै गएपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखा (ईडीसीडी) ले संक्रमण बढ्न नदिन डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना लागु गरेको छ । डेंगी रोगको निगरानी प्रणालीलाई चुस्त बनाउनका लागि देखिएको क्षेत्रमा तत्काल लामखुट्टे नियन्त्रण कार्यलाई सक्रिय बनाइएको उनले बताए । डेंगी फैलिएको १९ वर्षसम्म वार्षिक कार्यक्रम मात्रै गर्दै आएको ईडीसीडीले वार्षिक कार्ययोजना निर्माण गरी ७७ जिल्लामा कार्यान्वयनका लागि निर्देशन दिएको किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए । स्थानीय तथा जनजनसम्म डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउन अति आवश्यक रहेको उनको भनाइ छ । उता, विभागबाट अस्पतालहरुका चिकित्सकहरुलाई डेंगी रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरी हब अस्पताल सञ्जालसँग छलफल तथा प्राविधिक सल्लाह प्रदान गरी तयारी हालतमा राखिएको छ । यस्तै, डेंगी रोगको निदानका लागि डेंगी रोग निदान किट समयमै व्यवस्थापन गर्न प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । कीटजन्य रोग सार्ने बाहक (लामखुट्टे) को वर्षभरि एकीकृत सर्भिलेन्सपश्चात डेंगी रोगको वार्षिक प्रक्षेपणको लागि तयारी गरिएको छ । लामखुट्टेको नियन्त्रणका लागि अन्य सरोकारवाला निकायहरु (भौतिक पूर्वाधार, खानेपानी तथा ढल व्यवस्थापन, सहरी विकास, शिक्षा, सञ्चार) सँग अब वर्षायाम सुरु हुनु भन्दा अगावै तिनै तहमा सहकार्य तथा समन्वय गरिने उनले बताए । नेपालमा पहिलो पटक २०६१ सालदेखि डेंगी रोग देखिन सुरु भएको हो । त्यसपछि प्रत्येक वर्ष डेंगी रोग कहिले महामारीको रुपमा त कहिले छिटफुट रुपमा देखा पर्ने गरेको छ । जसमा काठमाडौँ उपत्यकासहित १० भन्दा बढी जिल्लाहरुमा डेंगी प्रकोपको रुपमा देखा परेको थियो । २०७९ साल पुस मसान्त सम्ममा ५५ हजार धेरै मानिस संक्रमित भएका थिए भने ८८ जनाको मृत्यु भएको थियो । २०७९ सालमा वैशाख महिनादेखि डेंगी रोगका बिरामीहरुको संख्यामा वृद्धि भई भदौ, असोज र कार्तिक महिनामा देशका ७७ वटै जिल्लाहरु संक्रमण पुष्टि भएको थियो । डेंगुले प्रकोपको रुप लिदा बागमती र लुम्बिनी प्रदेशमा बढी संक्रमण देखिएको थियो । संक्रमितहरुको ८३ % भन्दा बढी केशभार भने १० जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, दाङ, धादिङ, रुपन्देही, काभ्रे र सुर्खेतले ओगटेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । नेपालमा डेंगु देखिएको १९ वर्षपछि रोकथाम र नियन्त्रणका लागि कार्ययोजना बनाइए पनि चुनौती कायम रहेको ईडीसीडीले जनाएको छ । किनकि अहिले नै ६५ जिल्लाभन्दा धेरै जिल्लामा डेंगी रोगी रहेको पुष्टि भएको छ । निजी, सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट संक्रमित सबै डेंगी रोगीहरुको तथ्याङ्क पूर्ण रुपमा रुपमा प्राप्त हुन सकेको छैन । बर्षायाम सँगै डेंगी रोग सार्ने लामखुट्टेको वृद्धि विकास हुने स्थानहरु प्रचुर मात्रामा हुने भएकाले बहुपक्षीय समन्वय बिना लामखुट्टेको नियन्त्रण गर्न कठिन रहेको डा. दाहालले बताए । डेंगी रोगको चाप अत्याधिक भएका कारण डेंगी पहिचानका लागि आवश्यक डेंगी किटको माग सम्बोधन गर्न सकिएको छैन । लामखुट्टे रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाहेक अन्य सरोकारवाला मन्त्रालयको भूमिका पैरवी हुन सकेको छैन । वर्षभरि निरन्तर लामखुट्टेको निगरानी गर्न इन्टोमोलोजिष्ट तथा आर्थिक श्रोतको अभाव रहेको छ । सामान्यतया डेंगीको केशहरु वैशाखबाटै देखा पर्ने हुँदा रोकथाम र नियन्त्रणका लागि आर्थिक श्रोतको अभाव हुने भएकाले डेंगी रोकथाम र नियन्त्रणका लागि समस्या भएको विभागले जनाएको छ । निजी स्वास्थ्य संस्थाहरुबाट डेंगी रोगको निदानका लागि प्रयोग भएका डेंगी किटको गुणस्तर र मूल्यमा एकरूपता हुन सकेको छैन ।

Like