इटालीको रोम प्रधानमन्त्री दाहाल शनिबार जाँदै

Share to:

रासंसा/काठमाण्डौ, श्रावण ६,

मुलुकमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहा शनिबार इटाली प्रस्थान गर्ने भएका छन्। संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदै छ। नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेका उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। प्रधानमन्त्री दाहालले यही साउन ८ गते सो कार्यक्रमको उद्घाटन शत्रमा सहभागी हुनेछन्। यस्तै, अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ। खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। सोही दिन नै प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन्। यसैगरी उहाँ साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनेछन्। नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेसमेतमा त्यस अवसरमा महत्त्वपूर्ण छलफल हुने कार्यक्रम छ। यस्तै, रोममा गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री सहभागी हुनेछन्। प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा उनको स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता रहने छ। भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ।

Like