सभामुखको मार्गप्रशस्त त्यसपछि सदन सञ्चालन, तीन दलको बैठकमा एमालेको बटमलाइन
रासंसा/काठमाण्डौ, माघ २३,
मुलुकमा नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनलाई बटमलाइन बनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखको बहिर्गमनलाई मुख्य एजेण्डा बनाएको हो । ‘हामी फेरि पनि सत्ता पक्षलाई आग्रह गर्न चाहन्छौँ । हाम्रो मुद्दाहरूलाई सम्बोधन गरोस् । १४ जना गैरसांसदलाई प्रतिनिधिसभामा नराख्न हामीले बैठकमा भनेका छौँ’, बैठकपछि एमाले महासचिव शंकर पोखरेलले संवाददाताहरुलाई भने, ‘सांसदहरु बाट मात्रै प्रतिनिधि चल्न सक्छ । दलले कारबाही गरेको कुरालाई सभामुखले मान्नुपर्छ हैन भने मार्ग प्रशस्त गर्नुपर्छ भनेर हामीले राखेका छौँ ।’ बैठकमा सभामुखको भूमिकाका कारण प्रतिनिधिसभामा उपस्थित हुन असमर्थ भएको एमालेले बताएको थियो । आफूहरुको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नसक्ने पनि एमालेले स्पष्ट गरेको छ । प्रतिपक्षीको माग र चासोको सन्दर्भमा प्रधानमन्त्रीसहितले छलफलबाट समाधानको पहल थाल्नु भने सकारात्मक भएको एमालेले जनाएको छ ।