बससँग ठोक्किएको ट्रक सप्तकोसीमा खस्यो, ३ जनाको उद्धार
रासंसा/काठमाण्डौ, आषाढ २९,
मुलुकमा सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा आज (शुक्रबार) बिहान ट्रक र बस ठोक्किएर दुर्घटना भएको छ। प्रहरीका अनुसार पुलबाट खसेको ट्रकलाई सप्तकोसीले बगाएको अनुमान गरिएको छ। ‘पुलबाट नदीमा खसेपछि ट्रकलाई बगाएर केही तलसम्म पुर्याएको देखियो,’ घटनास्थलमा रहेका एक जना प्रहरीले भने, ‘अहिले ट्रक देखिन छाडेको छ।’ उनका अनुसार ट्रकलाई बाढीसहितको पानीले छोपेको मात्रै हो कि नदीले बगाइसक्यो भन्ने यकिन हुन बाँकी छ। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोसी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको हो। यात्रु लिएर काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बससँग ठोक्किएर ट्रक सप्तकोसी नदीमा खसेको छ। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोसी ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको छ। बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको जानकारी उनले दिए। सप्तकोसीमा खसेको ट्रकमा सवार रहेका ३ जनाको सकुशल उद्धार गरिएको राईले बताए। उनका अनुसार बसका सवार रहेकाहरु भने सकुशल छन्। दुर्घटनामा परेको बसलाई कोसी ब्यारेजको पुलबाट बाहिर निकालिएको छ। दुर्घटनामा परेर सामान्य क्षति पुगेको बसलाई नजिकै रहेको प्रहरी कार्यालयमा ल्याइएको छ। ट्रक सप्तकोसीमा खस्नसाथ पुगेको प्रहरी टोलीले डोरी टाँगेर ट्रकमा सवार रहेकाहरुको उद्धार गरेको हो। उद्धार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि पठाइएको छ। अन्य २ जनाको अवस्था सामान्य रहेको डीएसपी राईले बताए। कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले नदीमा खसेको ट्रकको खोजीमा सक्रिय हुन प्रहरीलाई निर्देशन दिएका छन्। घटनास्थलमा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ। संयुक्त टोलीले ट्रकको खोजी जारी राखेको डीआईजी बास्तोलाले बताए।