आचारसंहिता उल्लङ्घनमा विशेष निगरानीमा प्रेस काउन्सिलले बनायो विज्ञ समूह
रासंसा/काठमाण्डौ, आषाढ २८,
मुलुकमा प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लङ्घनका घट्नाको प्रवृत्तिगत समस्या केलाउन विज्ञ समूह गठन गरी काम सुरु गरेको छ । छापा र प्रसारणसँगै डिजिटल सञ्चारमाध्यमबाट सार्वजनिक समाचारका विषयवस्तु, त्यसबारे जनगुनासो, उजुरी, आचारसंहिताको वर्तमान प्रावधान, काउन्सिलको नियमन, आगामी दिनमा चाल्नुपर्ने कदम समेतबारे विज्ञ समूहले अध्ययन गर्नेछ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारजगतलाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन विज्ञ समूहबाट आउने सुझाव महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । ‘सञ्चार माध्यमका आकार, प्रवृत्ति र प्रस्तुतिमा आएका फरकपन, प्रविधिको विकासले अवसरसँगै चुनौती पनि थपेको छ । जनमानसमा गुनासा पनि बढेका छन् । यसलाई सही ढङ्गले सम्बोधन गर्न र काउन्सिलको कामलाई थप व्यवस्थित गर्न यो नौलो अभ्यास थालनी गरिएको हो । र, यो एक श्रृङ्खला मात्र हो’, विज्ञ समूहको मङ्गलबारको बैठकमा अध्यक्ष बस्नेतले भन्नुभयो । एक साताअघि बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले १० दिनमा कार्य सम्पादन गर्ने गरी विज्ञ समूह गठन गर्ने निर्णय गरेको थियो । अध्यक्ष बस्नेतको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष एवं काउन्सिलका बोर्ड सदस्य विपुल पोखरेल, नेपाल बार एशोसिएसनका महासचिव अन्जिता खनाल, उपसमितिमा सदस्य रहनुभएका काउन्सिलका बोर्ड सदस्यद्धय दिपक पाण्डे र ठाकुर प्रसाद बेलबासे तथा बोर्ड सदस्यहरु दुर्गा भण्डारी पौडेल र लालबाबु शेख सहभागी बैठकले विज्ञ समूह गठन गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।