पार्टीबाट जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित
रासंसा/काठमाण्डौ, आषाढ ९,
मुलुकमा जनता समाजवादी पार्टी (जसपा) का पाँच केन्द्रीय सदस्यलाई पार्टीले निष्कासन गरेको छ। प्रचार विभाग प्रमुख बस्नेतका अनुसार निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको हो। शनिबार बसेको केन्द्रीय समितिको बैठकबाट पाँच सदस्यलाई निष्कासन गर्ने निर्णय गरिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। छानबिन समितिको प्रतिवेदनको सिफारिस अनुसार पार्टीका केही केन्द्रीय नेताहरुलाई नसिहत दिने निर्णय भएको छ। कारबाहीको निर्णय उपर चित्त नुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्ने छन्। सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेस जनविद्रोह जस्ता राजनीतिक संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षार्थ गठीत पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ। जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको आजको बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको छ। उक्त अनुमोदित विधानको मस्यौदा भोलिदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने छ। केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समितिका बैठकले गरेका यस अघिका निर्णयहरुलाई आजको बैठकले अनुमोदन गरेको छ।