नेपालको नेदरल्यान्ड्सविरुद्धको पराजयसँगै विश्वकप सपना समाप्त

Share to:

एजेन्सी,

जिम्बाब्वेको हरारेस्थित तकासिङ्घा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले ४४.३ ओभमा अल आउट हुनुअघि एक सय ६७ रनको योगफल तयार गरेको थियो। आईसीसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको छ। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले ७५ बलमा आठ चौका र चार छक्कासहित ९० रनको शानदार इनिङ खेले। यस्तै, विक्रमजित सिंह ४३ बलमा तीन चौका र एक छक्कासहित ३० रन जोडेर पभिलियन फर्किँदा बस दी लिड ३९ बलमा ६ चौकासहित ४१ रन बनाएर अविजित रहे। त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन। नेदरल्यान्ड्सका लागि लोगान भान बिकले सर्वाधिक चार तथा बस दी लिड र विक्रमजित सिंहले दुई–दुई विकेट लिएका थिए। नेपालका लागि सन्दीप लामिछनेले दुई तथा गुल्शन झाले एक विकेटबाहेक अन्य बलर असफल रहे। पहिलो इनिङमा खराब ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३, सन्दीप लामिछाने र कुशल भुर्तेलले २७ तथा भीम सार्कीले २२ रन जोडेका थिए। जितसँगै नेदरल्यान्ड्स एक खेल अगावै छनोटको अर्को चरण तथा सुपर सिक्समा पुगेको छ। पराजित नेपालको भने अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने सपना समाप्त भएको छ। सुपर सिक्सबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्। समूह एबाट वेस्ट इन्डिज, जिम्बाब्वे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन्। समूह बीबाट स्कटल्यान्ड, ओमान र श्रीलंका सुपर सिक्समा पुगेका छन्।

Like