११औँ वर्षमा प्रवेश रातोपाटी, प्रगतिको हार्दिक मंगलमय शुभकामना
रासंसा/काठमाण्डौ,
१० वर्षअघि आजैको दिन (२०७० जेठ २७ गते) हामीले रातोपाटी डटकम (www.ratopati.com) न्युज पोर्टल पाठकमाझ ल्याएका थियौँ । डिस्कवरी न्युज नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकम १० वर्ष पूरा गरी ११औँ वर्षमा प्रवेश गरेको अवसरमा हामीलाई साथ दिने पाठक वर्ग, श्रोता–दर्शक, समाचार स्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुक एवं संस्थाका यात्रामा जोडिनु भएका सबै सबैप्रति हार्दिक आभार प्रकट गर्दछौँ । देशमा पहिलो ऐतिहासिक संविधानसभाको निर्वाचनबाट संविधान बन्न नसकिरहेको अवस्थामा गहन जिम्मेवारीबोधसहित हामीले उपस्थिति जनाएका थियौँ । सस्तो वा मिथ्या समाचार, ‘भिडियो क्लिप’ले चर्चा पाउने, विचार र सिद्धान्तविहीन राजनीतिले ढ्याङ्ग्रो ठोक्ने आजको अवस्थामा व्यावसायिक पत्रकारिताका चुनौती चानचुने छैनन् । प्रतिगमनको आवाज अचेल संसद्तिर पनि कर्कश रूपमा गुन्जन थालेका छन्, प्रतिगमनविरुद्ध हामी हिमालझैँ अटल उभिँदै आएको जगजाहेरै छ । नेपाली जनताले दसकौंको बलिदानीपूर्ण संघर्षबाट समावेशी, संघीय, लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका थिए । हामी त्यतिबेला पाठकमाझ आएका थियौँ, जतिबेला न्यायप्रेमी नागरिकमा सङ्घर्षबाट प्राप्त यी उपलब्धि संस्थागत गराउने चासो थियो र कतै संस्थागत नहुने पो हो कि भन्ने चिन्ता पनि । परिवर्तन संस्थागत हुनका लागि समाजवाद उन्मुख र सामाजिक न्यायमा आधारित संविधान लेखिनुपर्नेमा हामी प्रतिबद्ध रह्यौँ । संविधान जारी भएपछि हाम्रो जिम्मेवारी संविधानको रक्षामा केन्द्रित रह्यो, रहिरहेकै छ । लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक निर्वाचन प्रणाली, धर्मनिरपेक्षता, सुशासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति हामी कटिबद्ध रहँदै आएका छौँ । हामी कसैसँग प्रतिस्पर्धामा छैनौँ । हाम्रो प्रतिस्पर्धा संंविधानवाद, सुशासन र सामाजिक न्यायका लागि हो । यही हाम्रो सर्त र स्वार्थ हो । राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षामा प्रतिबद्ध रहँदै सार्वभौमसत्ताले सम्पन्न जनताको अधिकारको आवाज बन्ने रखवारेको नाम नै रातोपाटी हो । यात्राको थालनी गर्दा हामीसँग केवल अठोट र आँट थियो, आज हामीसँग एक दशकको अनुभव पनि थपिएको छ । त्योभन्दा पनि ठुलो कुरा, दिनहुँ लाखौँ लाख पाठक र दर्शकको अपार माया हामीलाई छ । शुभचिन्तकहरूको निरन्तरको साथ र सहयोगले हर्षित छौँ । भ्रष्टाचार नियन्त्रणमा हामीले शून्य सहनशीलताको नीति लिएका छौँ । भ्रष्टाचार गर्ने अधिकारी, जनप्रतिनिधि र भ्रष्टाचार गराउने बिचौलिया सबैप्रति निरन्तर खबरदारी नै हाम्रो धर्म हो । समाजका बेथिति, विकृति र विसंगतिविरुद्ध जनताको आवाज बन्दै सामाजिक न्यायसहितको समृद्धि हाम्रो सङ्कल्प हो । सत्य तथ्यमा आधारित निष्पक्ष खबर नै हाम्रो निष्ठा हो । रातोपाटी डटकमलाई ‘सबैको, सबैभन्दा राम्रो’ बनाउने हाम्रो सङ्कल्प छ । हाम्रो यो चुनौतीपूर्ण सङ्कल्प यहाँहरू सबैको पूर्ववत साथ, सहयोग र स्नेहले सम्भव छ । अहिले हामीले नेपाली र अङ्ग्रेजी भाषाका माध्यमबाट अक्षर, अडियो–भिडियोमार्फत नागरिकलाई सुसूचित गरिरहेका छौँ । देशका सातै प्रदेशका जनताका खबर, विचार र आवाज समेट्न सात वटा प्रदेश संस्करण निर्माण गरेका छौँ । यस्तै, प्रवासमा रहेका नेपालीका लागि ग्लोबल संस्करणको व्यवस्था गरिएको छ ।