‘भैंसी’ प्रवेशले संसद्मा सत्तारूढ–प्रतिपक्षबीच चर्काचर्की

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २३,

मुलुकमा भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार प्रतिनिधिसभामा बोल्दै गर्दा एकाएक ‘भैसी’को प्रसंगले प्रवेश पाएपछि सत्ता र प्रतिपक्षबीच चर्काचर्की भएको छ। दाहालले सार्वजनिक महŒवका विषयमा वक्तव्य दिँदै भारत भ्रमणबारे चर्चा गरेका थिए। आफूले उपलब्धिपूर्ण भ्रमण गरे पनि ‘भैंसी चढाइएको’ र ‘सबैले स्वागत र बधाई दिनेछन्’ भन्ने सोच्दै आए पनि ‘पीडित भएको’ गुनासो गरेका थिए। उनको वक्तव्यपछि बोल्ने राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले प्रधानमन्त्री ‘भैंसी चढेर आएको’ प्रसंग उठाएपछि सदनमा हंगामा भएको थियो। भारत सरकारले नेपाललाई १५ वटा मुर्रा राँगा नश्ल सुधार प्रयोजनका निम्ति प्रदान गरेको हो। दुई देशबीच सीमालगायत गम्भीर समस्या भए पनि राँगा लिएर आएपछि ‘भैंसी चढेर आएको’ भन्ने प्रसंगले नेपाली सामाजिक सञ्जाल तातेको हो। यही विषय सदनमा समेत प्रवेश गरेपछि बैठक अवरुद्ध हुन पुगेको हो। प्रधानमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सांसदले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आएको’भन्ने अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका थिए। उक्त वाक्यांश प्रधानमन्त्रीकै वक्तव्यमा समेत रहेको भनी रास्वपा सभापति एवम् सांसद् रवि लामिछाने बताए। त्यसपछि सभामुख घिमिरेले रुलिङ गरे, ‘भैंसी चढेर आएको भन्ने शब्द रेकर्डबाट हटाउन अनुमति दिन्छु।’ ‘भैंसी चढेर आएको’ विषय संसद्को अभिलेखबाट हटाउने रुलिङपछि सांसदहरूले प्रधानमन्त्री दाहाललाई भारत भ्रमण जानुभन्दा केही घण्टा अगाडि नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराउनुको उद्देश्यबारे प्रश्न गरेका थिए। त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनीलाई राखेको विषयमा कुराकानी भएनभएको विषयमा समेत जिज्ञासा राखेका थिए। प्रधानमन्त्रीले नागरिकता विधेयक दुईदुईपटक पठाउँदा राष्ट्रपतिले रोक्ने कहाँ छ भन्ने कुरा उठाउँदा एमाले सांसदहरूले उठेर आपत्ति जनाए। प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिले प्रक्रिया पुर्याएर पठाएको विधेयक प्रमाणीकरण नगरे विधेयक के हुन्छ भनेर संविधानले नबोल्दा समस्या भएको बताए। सरकार र सदन अविच्छिन्न उत्तराधिकारवाला संस्था भएको मान्यताअनुसार नागरिकता विधेयक प्रमाणीकरण गरेको तर्क उनले गरे। ‘राष्ट्रपतिले प्रक्रिया पूरा गरेर पठाएको विधेयक प्रमाणीकरण नगरे त्यसको हैसियत के हुने भनेर संविधानले नबोल्दा समस्या भयो,’ उनले भने, ‘त्यो अवस्थामा मैले प्रधानमन्त्रीको हैसियतले संविधानविद्सँग एकदुई दिन होइन, धेरैपटक कुराकानी गरेको छु। कतिपयले सिधै पारित गरेर संविधानलाई ट्र्याकमा ल्याउनुपर्छ भन्नुभयो। कतिपयले फेरि संसद्मा पठाउनुपर्छ भन्नुभयो। त्यसपछि हामीले विधेयक उत्पत्ति भएको ठाउँ खोज्दै जाँदा दुईपटक संसद्ले पारित गरेकाले पुनः संसद्मा लैजाँदा संसद्कै अपमान हुने हुँदा सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका हौं।’ उनले थपे, ‘संसद्का दुवै सदनले पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले दराजमा थन्क्याएर राखिदिए भने हाम्रो हालत के हुन्छ? संवैधानिक परिषद्ले गरेका सिफारिसलाई भोलि बिहान राष्ट्रपति मान्छे मन परेन भनेर मान्नुभएन भने के होला? संसद्ले पारित गरेका विधेयकलाई भोलि फेरि राष्ट्रपतिले प्रमाणीकरण नगरी राखिदिए भने के हुन्छ?’यसकारण अहिले विधेयक प्रमाणीकरण गरेर पूर्वराष्ट्रपतिले संविधान उल्लंघन गरेको विषयलाई ट्र्याकमा ल्याएको उनले बताए। संविधानको धारा १११ (१०) को प्रतिबन्धात्मक वाक्यांश देखाउँदै एमाले सांसद सूर्य थापाले निष्क्रिय भएको विधेयक प्रमाणीकरण गर्न नमिल्ने भन्दै नियमापत्ति गरे। प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा रास्वपाका सांसद शिशिर खनालले बोलेको ‘भैंसी चढेर आएको’भन्ने शब्द प्रयोग गरेपछि सत्तापक्षले आपत्ति जनाएसँगै प्रमुख प्रतिपक्ष एमाले र रास्वपाका सांसदले पनि उठेर विरोध गरे। सत्तापक्षबाट माओवादी केन्द्रका सांसद उठेर विरोध गरे। प्रमुख सचेतक हितराज पाण्डेले भैंसी चढेको भनाइ असंसदीय भएको बताउँदै रेकर्डबाट हटाउन माग गर्दै थिए तर प्रमुख प्रतिपक्ष एमाले र प्रतिपक्षी रास्वपाका सांसद उठेर विरोध गर्दै केही समय सत्तापक्ष र प्रतिपक्षका सांसदबीच भनाभनसमेत भयो। सभामुखले नियन्त्रण गर्न सकेनन्। प्रधानमन्त्री दाहाल ‘रोस्ट्रम’मा उभिएर ‘तपार्इं बोलेको मैले धैर्यपूर्वक सुने अब मेरो सुन्नुहोस्’भन्दै गर्दा एमाले र रास्वपाका सांसद उठेर विरोध गरेका थिए। त्यसपछि एमाले सांसद रघुजी पन्तले नियमापत्ति गरे। उनले अदालतले अल्पकालीन आदेश दिएको विषयमा सदनमा बोल्न नपाइने, चुप लाग्नुपर्ने बताए। माओवादी केन्द्रका सांसदहरूले पनि उठेर प्रधानमन्त्रीलाई भनाइ राख्न अवरोध नगर्न भन्दै आक्रामक रूपमा एमालेतर्फ आंैला ठड्याएका थिए। कांग्रेसका विश्वप्रकाश शर्माले राष्ट्रपतिसमक्ष पठाइएको विधेयक प्रमाणीकरण नभए के हुन्छ भन्ने कुनै ठाउँमा नलेखिएको र संविधानको धारा १११ को १० को प्रतिबन्धात्मक वाक्यांशमा राष्ट्रियसभा र प्रतिनिधिसभामा विचाराधीन रहेको विधेयक मात्र निष्क्रिय हुन्छ राष्ट्रपतिकोमा रहेको विधेयक के हुन्छ भन्ने कतै नबोलेको बताए। उनले प्रतिनिधिसभाको नियमावलीको नियम २० (झ) तर्फ आकर्षित गरेका थिए। त्यसमा कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने उल्लेख छ। त्यसपछि भने सांसदहरू शान्त भएका थिए। उनले पुनः सत्तापक्ष माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। उनले भंैसी चढेको भन्ने वाक्यांश रेकर्डबाट हटाउन माग गरे। सत्तापक्षको भनाइपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। तर उक्त शब्द हटाउन निर्देशन दिएकामा एमाले र रास्वपाका सांसदहरूले फेरि विरोध जनाए। एमाले सांसद रघुजी पन्तले भैंसी चढेर आएको भन्ने शब्द पहिले प्रधानमन्त्रीले नै प्रयोग गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि उक्त शब्द हटाउनुपर्ने माग गरे। रास्वपाका सांसद रवि लामिछानेले पनि प्रधानमन्त्रीले प्रयोग गरेपछि आफ्नो पार्टीका सांसदले व्यंग्यस्वरूप उक्त शब्द प्रयोग गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि भैंसी चढेर आएको भन्ने वाक्यांश मेटाउन माग गरे। लामिछानेले सत्तापक्षले यति सामान्य व्यंग्य पनि सहन नसकेर सत्तापक्षले संसद्मा दादागिरी देखाएको टिप्पणी गरे। सभामुख घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द जसले बोलेको भए पनि रेकर्डबाट मेटाइने जवाफ दिए। तर प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि मेटाउन स्पष्ट निर्देशन दिनुपर्ने माग गरे। तर सभामुख घिमिरेले देशको प्रधानमन्त्री भारतबाट आउँदा भैंसी चढेर आएको भन्ने शब्द प्रयोग नगरेको भैंसी चढाएका थिए भन्ने शब्द प्रयोग गरेको बताए। त्यसैले उनले भैंसी चढेर आएको भन्ने शब्द मात्र रेकर्डबाट हटाउने बताए प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी (राँगा) दिएको उल्लेख गरेको थियो। उक्त विषयलाई लिएर प्रधानमन्त्री दाहाल ट्रोलको सिकार पनि भएका थिए।

Like