प्रधानमन्त्री पुष्प कमल दाहालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाईआग्रह

Share to:

रासंसा/मध्यप्रदेश भारत, ज्येष्ठ २०,

मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन्। भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रधानमन्त्रीले टाटा कम्पनीजस्तै सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन्। उनले भने, “टाटा कम्पनीजस्तै नेपालमा सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यस क्षेत्रमा काम गर्न सकिन्छ। लगानी गर्नुस् त्यसका लागि हामी (नेपाल सरकार) सहजीकरण गर्छौँ।” प्रधानमन्त्री प्रचण्डले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको बिरुवासमेत रोपेका थिए। भारतको प्रसिद्ध टाटा कम्पनीले संसारका ४८ भन्दाबढी मुलुकमा काम गर्दै आएको छ। उक्त कम्पनीमा छ लाख बढी कर्मचारी आबद्ध छन्। इन्डौरको विशेष आर्थिक क्षेत्रमा रहेको टाटा कम्पनीको अवलोकनका लागि प्रधानमन्त्री, मन्त्रीहरुसहित नेपाली प्रतिनिधिमण्डल त्यस क्षेत्रमा गएको हो। सोही क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको सूचना प्रविधिका क्षेत्रमा पर्याप्त जनशक्ति रहेकाले लगानीका लागि आग्रह गरे। ‘नेपालको ‘आइटी सेक्टर’मा पर्याप्त जनशक्ति छन् लगानी गर्न आउनुस् हामी स्वागतका लागि आतुर छौँ’, उनले भने। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बुधबार भारत आएका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशस्थित इन्दोर आइपुगेका हुन्। आज साँझ प्रधानमन्त्री काठमाडौँ फर्कंने कार्यसूची छ।

Like