गठबन्धन बैठकमा सिट भागबन्डाको ड्राफ्ट बन्यो, तर सहमति बनेन
रासंसा/काठमाण्डौ, भाद्र १७,
मुलुकमा आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट भागबन्डा विषयमा सत्तारूढ पाँच दलबीच सकस कायमै छ । निरन्तरको बैठकमा आआफ्ना अडान राख्दै आएका शीर्षनेता दलगत रूपमै एक कदम ‘ब्याक’ हुन तयार भएपछि भागबन्डाको प्रारम्भिक खाका बनेको बताइएको थियो । तर, सो खाकामा पनि जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अन्तिम सहमत नदिएपछि बैठक बिनानिष्कर्ष सकिएको हो । बिहीबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन आबद्ध पाँचै दलका शीर्षतहका नेताको पटकपटकको बैठकले चुनावी सिट बाँडफाँटका लागि प्रारम्भिक खाका बनाए पनि सहमतिबिनै टुंगिएको हो । बालुवाटारमा तयार प्रारम्भिक भागबन्डाको खाकाअनुसार नेकपा माओवादी केन्द्रले ४५ सिट, नेकपा एकीकृत समाजवादीलाई १८ सिट, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिनेगरी प्राम्भिक खाका तयार गरिएको थियो । बालुवाटार उच्चस्रोतका अनुसार शीर्षतहमा बनेको सिट बाँडफाँट खाकामा कांग्रेस सय सिट दाबीबाट ‘ब्याक’ भएको छ । जसअनुसार कांग्रेसले ८५ सिट लिएर गठबन्धनका अन्य दलले ८० सिटभित्र बाँडफाँट गर्नेगरी खाका बनाइएको थियो । ‘अझै पनि केही विषयमा छलफल जारी छन्, कांग्रेस एक कदम ब्याक हुँदा अरू पनि एक कदम पछि हट्नेगरी वातावरण बनेको छ, सिट नै तय भइसके को छैन तर मोटामोटी ८५÷८० को आँकडा आउने अवस्था हुन सक्छ, उपेन्द्रजी र माधवजीलाई मनाउने प्रयास भइरहेको छ,’ कार्यदलका एक सदस्यले बिहीबार राति राजधानीसँग भने । खाका बन्दै गर्दा कार्यदल सदस्यसमेत शीर्षतहको निर्णय कुरेरै बालुवाटारमा बसेका थिए । शीर्षतहबाट सिट बाँडफाँट विषयलाई अन्तिम रूप दिएर गठबन्धनले बनाएको कार्यदलबाट अन्तिम प्रतिवेदन फेरि शीर्षतहमै बुझाएपछि खाका सार्वजनिक गर्ने तयारी भइरहेको अवस्थामा बैठक बिनानिष्कर्ष टुंगिएको कार्यदलका एक सदस्यले जानकारी दिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओ वादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवले सिट संख्यालाई अन्तिम रूप दिएपछि कार्यदलले जिम्मेवारीअनुसार प्रतिवेदन तयार गर्ने र शीर्ष ने तृत्वबाट हस्ताक्षरसहित सहमतिपत्र सार्वजनिक गरिने बताइएको छ । सरकार का प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई दिन थप छलफल गर्नेगरी आगामी बैठकबाट ठोस निर्णय गर्ने सहमति बैठकमा भएको जानकारी दिए । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ सिट हुने संवैधानिक व्यवस्था छ । समानुपातिकतर्फ १ सय १० सिट हुन्छ । समानुपातिक रूपमा भने गठबन्धनआबद्ध सबै दल आआफ्नै चुनाव चिह्नबाट चुनाव लड्दै छन् ।