कोशी प्रदेशमा जसपाकी मन्त्री लिम्बुले दिइन् राजीनामा

Share to:

रासंसा/मोरङ, ज्येष्ठ १७,

मुलुकमा जनता समाजवादी पार्टी (जसपा)ले कोसी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेसँगै स्वास्थ्यमन्त्री निर्मला लिम्बुले पदबाट राजीनामा दिएकी छन्। ९३ सदस्यीय प्रदेशसभामा लिम्बु जसपाकी एक्ली सांसद (प्रदेशसभा सदस्य) हुन्। उनी गत पुस २५ गते प्रदेशको स्वास्थ्यमन्त्री नियुक्त भएकी थिइन्। जसपाबाट सरकारमा प्रतिनिधित्व गरेकी उनले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन्। जसपा प्रदेश समितिको बैठकले सरकारबाट बाहिरिने र आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि लिम्बुले प्रदेश राजधानी विराटनगरमा पत्रकार सम्मेलन गर्दै पार्टीको निर्देशन मानेर पदबाट राजीनामा दिएको बताइन्। पहिचानवादीले पनि आफ्नो चरित्रहत्या गरेको गुनासो उनको छ। सरकारमा बसेर पहिचानको मुद्दा उठाउँदा आफूमाथि पहिचान पक्षधरले आक्रमणको प्रयास गरेको लिम्बुले बताइन्। विराटनगरमा प्रदर्शनका क्रममा पहिचान पक्षधरले गत आइतबार स्वास्थ्य मन्त्रालयमा तोडफोड गरेका थिए। आन्दोलनकारीको ढुंगामुडाबाट मन्त्रालयमा ३० लाखभन्दा बढीको क्षति भएको बताइएको छ। कोसी प्रदेशको नाम खारेजीको माग राख्दै पहिचान पक्षधरले गरिरहेको आन्दोलनलाई सम्बोधन गर्न पटक-पटक आग्रह गर्दा सरकारले नमानेका कारण पदमा बसिरहन नैतिकताले नदिएको उनको भनाइ छ। पहिचानको मुद्दा सम्बोधन नभएका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिन बाध्य हुनुपरेको जसपाका प्रदेश अध्यक्ष दीपक याक्खाले बताए। ‘सरकारमा बसेर पार्टी तर्फबाट मन्त्रीले पहिचानको एजेण्डा राख्दा सम्बोधन हुन सकेन,’ उनले भने, ‘उल्टै सरकारले आन्दोलनकारीलाई दमन गर्‍यो।’ पहिचानको माग सम्बोधन नगरिकन आन्दोलनकारीमाथि दमनको नीति लिएका कारण सरकारबाट पार्टी बाहिरिएको याक्खाको भनाइ छ।

Like