पृथ्वीको तापक्रमले सीमा नाघ्दै
एजेन्सी,
मानवीय गतिविधि र एल निनो (प्राकृतिक मौसमी प्रक्रिया)का कारण आउँदो पाँच वर्षमा विश्वव्यापी तापक्रम १.५ डिग्रीभन्दा माथि पुग्ने विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले दाबी गरेको छ। एक प्रतिवेदन सार्वजनिक गर्दै डब्लूएमओले १.५ डिग्रीको थ्रेसहोल्ड पार गर्ने ६६ प्रतिशत सम्भावना रहेको जनाएको हो। हाल विश्वव्यापी तापक्रम १.१ डिग्री पुगिसकेको छ। त्यसैगरी डब्लूएमओले सन् २०२३ देखि २०२७ को एउटा वर्ष कम्तीमा १.५ डिग्रीभन्दा माथि तापक्रम हुने निश्चित प्रायः रहेको जनाएको छ। डब्लूएमओका सेक्रेटरी जेनेरल प्रोफेसर पेटेरी टालास भन्छन्, ‘तापक्रम वृद्धि गराउने एल निनो आउँदो महिनादेखि विकास हुने आकलन गरिएको छ। यसले स्वास्थ्य, खाद्य सुरक्षा, पानी व्यवस्थापन र वातावरणमा दूरमार्गी असर गर्नेछ। त्यसका लागि पूर्वतयारीका साथ बस्नु पर्नेछ।’ तापक्रम वृद्धिको असर समग्र क्षेत्रमा पर्ने जनाउँदै, प्रतिवेदनमा भनिएको छ, ‘महासागरहरू सामान्यभन्दा तातो भएपछि एल निनोको प्रभाव देखिन्छ।’ डब्लूएमओले सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण तापमान बढिरहेको बेला एल निनोले थप तापक्रम बढाउन योगदान गरेको जनाएको छ। तापक्रम वृद्धिसँगै चरम मौसमी घटना झनै बढ्ने छन्। समुद्रको सतह बढ्नेछ। हिमनदी पग्लिनेलगायत विपद्को समाना गर्नु पर्नेछ। सन् १९९१ देखि २०२० को तुलनामा सन् २०२३ देखि २०२७ को मेदेखि सेप्टेम्बरमा कतिपय क्षेत्रमा औसतभन्दा कम वर्षा हुनेछ। समुद्री तापक्रम असमान तरिकाले बढिरहेको पनि उल्लेख गरिएको छ। एल निनो प्राकृतिक प्रक्रिया नै रहेको उनले बताए। ‘एल निनो लगातार एउटै अवस्थामा रहन्छ भन्ने छैन। सन् २०२३ देखि २०२७ को कुनै एउटा वर्ष तापक्रम बढेर, फेरि घट्ने सम्भावना पनि हुन्छ,’ ढकालले भने ‘एल निनो सकिएपछि त्यसको प्रभाव घट्छ। पहिलेको अवस्थामा आउन सक्छ।’ जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय नीतिका विश्लेषक मञ्जित ढकाल तापमान १.५ बढी हुनु भनेको अझ धेरै विपद्को सामना गर्नुपर्ने सन्देश दिएको बताउँछन्। उनका अनुसार समुद्रको सतहको तापमानमा प्रत्येक पाँचदेखि सात वर्षको अन्तरालमा आउने उतारचढावले मौसमी प्रक्रियालाई असर गर्छ। दक्षिणपूर्व र समुद्रमा प्रत्येक पाँचसात वर्षमा समुद्रको तापमान बढ्छ। त्यसले हावा हलुका बनाउँछ। हलुका हावा माथि जान्छ। हलुका हावा माथि गएपछि अर्को हावा आएर त्यहाँ बस्छ। त्यसले हावाहुरी ल्याउँछ। बादलको प्रक्रियालाई फरक पारिदिन्छ। त्यसले कुनै ठाउँमा बढी पानी पर्छ। कुनै ठाउँमा सुक्खा लाग्छ। तर, जुन बेला एल निनो बन्छ त्यो बेला तापमान बढ्छ। जलवायु परिवर्तनका कारणले मात्रै सन् २०३५ सम्ममा विश्वको तापक्रम १.५ डिग्री पुग्ने प्रक्षेपण छँदै थियो । तर, एल निनोको प्रभावले २०२७ सम्ममा १.५ डिग्री काट्ने देखाएको हो। यसले पृथ्वीको तापक्रम बढाउन थप योगदान गरेको छ। तापक्रम बढ्दा नेपाललगायतका मुलुक थप प्रभावित बन्नेछन्। किनकि अन्य क्षेत्रमा १.५ डिग्री तापक्रम बढ्दा हिन्दुकुश हिमालयन क्षेत्रमा २ डिग्री तापक्रम बढ्ने आकलन छ। सन् २०३० देखि २०४० को अवधिमा सामना गर्नुपर्ने भनिएका जलवायुजन्य असर यही दशकमा भोग्नुपर्ने देखिएको ढकालले बताए। जसले चरम मौसमी घटनाहरू पुनरावृत्ति र बारम्बार यस्ता घटना हुने भएका छन् । अर्का वरिष्ठ जलाधारविज्ञ, मधुकर उपाध्यायले १.५ डिग्री एउटा सीमा भएको र १.५ भन्दा धेरै बढ्न पनि सक्ने जनाए। ‘प्वाइन्ट पाँच डिग्री तापक्रम बढ्नु भनेको भयंकर ठूलो कुरा हो’ उपाध्यायले भने ‘अहिलेसम्मे १.१ डिग्री बढिसकेको छ। अब प्वाइन्ट ४ बाँकी छ।’ १.१ डिग्री बढ्दा मात्रै डरलाग्दा विपद्हरू भएका छन्। युरोपको खडेरी, हिटवेभदेखि पाकिस्तानको बाढी १.१ डिग्रीमा भए। त्यसैले १.५ डिग्री बढी तापक्रम पुग्दाको अवस्था झनै भयंकर हुन सक्ने उनले बताए। जलवायु परिवर्तनका कारण १.१ डिग्री तापक्रम बढिसकेको छ। तर, एल निनोको सानो प्रभावले पनि १.५ डिग्री बढी हुने प्रक्षेपण भइसक्नु गम्भीर विषय हो। मानवीय गतिविधिबाट भएको जलवायु परिवर्तनको असर रोक्न कार्बन उत्सर्जन बढी गर्ने धनी राष्ट्रहरू साथै अरब, भारत, चीनले प्रतिबद्धताहरू पूरा गर्नुपर्ने उनले जनाए। उपाध्यायका अनुसार एल निनो तापक्रमको कुरा हो। समुद्रको तापक्रम हो। यो वर्ष एल निनो बढी हुनेवाला छ। यसले वायुमण्डल बढी तताउँछ। समुद्र बढी तातिएपछि माथि पनि तातिन्छ। समुद्रको पानी सेलाउन समय लाग्छ। आउने पाँच वर्षमा कुनै एउटा वर्ष १.५ डिग्रीभन्दा बढी तापक्रम हुने भनिएको छ। सोही तापक्रम कायम रहन्छ वा रहन्न भन्ने विषयमा आकलन मात्र गर्न सकिने उनले बताए। उनले थपे ‘तर बढिसकेको तापक्रम नघट्न पनि सक्छ। खतराको घण्टी बजिसकेको छ।’ त्यसका लागि २०३० सम्ममा ४५ प्रतिशत उत्सर्जन घटाउनुपर्ने भन्दै २०१५ मा सहमति भयो। २०१८ मा आइपुग्दा १.५ डिग्रीमा सीमित हुनुपर्छ भन्नेमा अझ दृढ भए। त्यसपछि दोस्रा राष्ट्रिय निर्धारित योगदान (एनडीसी) बनाइयो। त्यसमा हरेक कोप बैठकहरूमा प्रतिबद्धता बढाउने कुरा आए। हरेक देशले धेरै उत्सर्जन घटाउने एनडीसी बनाए। नेपालले पनि २०२० मा बुझायो। तर, सबैले कार्बन उत्सर्जन घटाउँछु भने पनि उत्सर्जन बढ्दै गयो। सन् २०२२ सबैभन्दा द्रूतगतिमा तापक्रम बढेको वर्ष भयो। उत्सर्जनका कारण भएको तापक्रम वृद्धिमा थप प्रश्रय एल निनोले दिएको छ। उपाध्यायका अनुसार सन् २०१५ मा भएको पेरिस सहमतिमा १.५ डिग्री तापक्रम कायम राख्नुपर्ने सहमति भएको थियो। २ डिग्री पुग्दा अत्यन्त गम्भीर विपद्हरू भोग्नुपर्ने भएकाले त्योभन्दा पहिला नै १.५ डिग्रीमा सीमित गर्ने छलफल भएको हो। १.५ डिग्रीमै व्यवस्थापन गर्न सके अनुकूलनका काम गर्न सकिन्छ। धेरै क्षति गर्दैैन। अहिलेका विकासका टे«न्डलाई पनि निरन्तरता गर्न सकिन्छ भन्ने थियो।