भीआईपी अभियुक्तहरु ‘हिरासत’मा कोही डीएसपीको कोठामा, कोही इन्सपेक्टरसँगै

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २,

मुलुकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोप लागेका तीन जना पूर्वभीआईपी हाल प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सरकारका वर्तमान सचिव तथा पूर्व गृह सचिव टेकनारायण पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा संलग्न भनिएका अन्य १० जनासमेत अनुसन्धानकै क्रममा हिरासतमा छन् । सामान्यतया प्रहरीले पक्राउ गरेका अभियुक्तलाई थुनामा राख्ने स्थान फरक भए पनि निर्धारित ठाउँ एकै हुने गर्छ । तर, नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका भीआईपी अभियुक्तलाई भने प्रहरीले बसोबासका लागि अन्य अभियुक्त राख्नेभन्दा अलग्गै व्यवस्थापन गरेको छ । रायमाझीलाई आइतबार पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालय रहेको टेकु पुऔयाइएकोमा परिसरले उनलाई राति अबेर सोह्रखुट्टे वृत्तमा बसोबासको प्रबन्ध गरेर उतै राखेको थियो । प्रहरीले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका निलम्बित सचिव रायमाझीलाई प्रहरी वृत्त सोह्रखट्टेमा हिरासतमा राखेको छ । उनी आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठ पासिकोट भन्ने ठाउँबाट पक्राउ परेका थिए । प्रहरी स्रोतका अनुसार रायमाझीलाई वृत्तका प्रहरी निरीक्षक (इन्सपेक्टर) बस्ने कोठामा राखिएको छ । उनलाई खानासमेत त्यही प्रबन्ध गरिएको छ । सोह्रखुट्टेका डीएसपी गणेश बमले पनि लामिछानेलाई अन्य अभियुक्त राख्नेभन्दा अलग्गै राखिएको जानकारी दिए । ‘उहाँलाई अलग्गै राखेका छौं, माथी छुट्टै कस्टडी छ, त्यही राखेका छौं, खाना हाम्रै खानुभएको छ,’ डीएसपी बलले राजधानीसँग भने । ‘खाँणलाई डीएसपी शाहको कार्यकक्षमा खाट राखेर सुत्ने व्यवस्था गरिएको छ, उनी त्यही बस्छन्, कहिले घरबाट ल्याइदिएको खाना खान्छन्, कहिले त्यही खान्छन्, प्रायः घरकै खाना हुन्छ, मोबाइल चलाउन पाउँदैनन्,’ परिसरका एक प्रहरीले खाँणको व्यवस्थापन’bout जानकारी दिँदै भने । यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री खाँणलाई प्रहरी परिसर काठमाडौंमा हिरासतमा राखिँदै आइएको छ । उनलाई डीएसपी भरतबहादुर शाहको कार्यकक्षमा राखिएको छ । खाँणको रेखदेखका लागि कोठाबाहिर प्रहरी जवान बस्ने गरेका छन् । उनीहरू आलोपालो ड्युटीअनुसार फेरबदल हुन्छन् । रेखदेखका लागि खटिएका प्रहरीले बेलाबखत खाँणको अवस्था हेर्छन् । उनीसँग भेट गर्न आउनेहरूले एक्लै भेट्न पाउँदैनन्, भेटमा प्रहरीसमेतसँगै हुन्छन् । खाँणले जुनियर प्रहरी अधिकृतले प्रयोग गर्ने शौचालय नै प्रयोग गर्छन् । ‘पाण्डेलाई तीन जना इन्सपेक्टर बस्ने कोठामा हिरासतमा राखिएको छ, उनले कहिले त्यही खाना खान्छन्, कहिले घरबाटै आउँछ, आफन्तसँग भेट्न समय मिलाएर पाउँछन्,’ प्रहरी स्रोत भन्छ । यसैगरी, सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहसचिव पाण्डे भने सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ । उनलाई सो वृत्तका तीन जना इन्सपेक्टर बस्ने कोठामा हिरासतमा राखिएको हो । पाण्डेको रेखदेखका लागि आलोपालो हुने गरी एक जना प्रहरी जवान खटाइएको छ । पाण्डेलाई भेट्न जाने आफन्तले मोबाइल लिएर जान पाउँदैनन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणाथी बनाउने भूमिकामा रायमाझी, खाँण र पाण्डेबाहेक अन्य १० जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दै आइरहेको छ । सो प्रकरणमा प्रहरीले पक्राउ गरेका अन्य अभियुक्तलाई पनि फरकफरक स्थानमा राखिएको छ । प्रहरीले उनीहरूलाई बयान लिने क्रम जारी राखेकाले अलगअलग राखिएको बताउँदै आइरहेको छ । सो प्रकरणमा पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित पनि प्रहरी हिरासतमा छन् । यसैगरी, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी पनि प्रहरी हिरासतमा छन् भने बिचौलिया भनिएका रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउपछि हिरासतमा नै छन् । यसैगरी, सो प्रकरणका योजनाकार भनिएका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ पनि प्रहरी हिरासतमा छन् । प्रहरीले पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेर खोजी गर्दै आइरहेको छ । यस्तै, पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापा पनि प्रहरीको खोजीमा फरार सूचीमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकाविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । पक्राउ परेका १२ जनालाई जिल्ला अदालत काठमाडौंले आइतबार थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ भने रायमाझीलाई प्रहरीले सोमबार अदालत पुयाएकोमा तीन दिनको म्याद थप भएको छ ।

Like