बाबुराम भट्टराई भनाई उपनिर्वाचनलाई हेर्नुस् ! जनताको असन्तुष्टिलाई गम्भीरतापूर्वक लिनुपर्छ
रासंसा/काठमाण्डौ, बैशाख १३,
मुलुकमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले जनताको असन्तुष्टिलाई सम्बोधन गर्न नसके देश डरलाग्दो अराजकतामा फस्ने बताएका छन्। “देशमा चरम असन्तुष्टि छ। केही समययताका परिघटना हेर्नुस् वा उपनिर्वाचनलाई हेर्नुस्। जुन प्रकारका असन्तुष्टिहरु व्यक्त भईराखेका छन्। यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।” उनले भने। उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर छिटोभन्दा छिटो जनतालाई सुशासन र समृद्धिको जनताको चाहना पूरा गर्नेतर्फ लाग्नुपर्ने विचार व्यक्त गरे। तत्कालीन दस वर्षे जनुयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका विद्यार्थी नेता पूर्ण पौडेलको स्मरण तथा प्रतिष्ठान घोषणा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन्। अध्यक्ष डा भट्टराईले बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने बताए। हालसालै मात्र प्रमुख दलहरुबीच सो सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष भट्टराईले भने, “विधेयक विशेष समितिमार्फत छिटो अघि बढाउने र आयोगबाट टुङ्गो लगाउने भन्ने भएको छ। अब आरोप प्रत्यारोप नगरिकन संवेदनशील विषयलाई छिटोभन्दा छिटो टुङ्गाउनुपर्दछ।” उनले भने, “शान्ति प्रक्रिया सुरु भएको र संविधान निर्माणको लामो समय व्यतीत हुँदासमेत शान्ति प्रक्रियामा व्यवस्था भएका बेपत्ता भएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा भएको छैन।” डा भट्टराईले सहिद, बेपत्ता तथा घाइतेको विषय माओवादीको मात्र विषय नभएको बताए। जनुयद्धले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीतालगायत विषय सबै पार्टी र जनताको भएकाले त्यसका लागि लड्नेको समस्या पनि सबैको भएको उनको भनाइ छ।