प्रधानमन्त्री प्रचण्डको अनिश्चित भारत भ्रमण

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १२,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण अनिश्चित बनेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणका लागि ग्रिन सिग्नल नदिँदा तत्काल भारत भ्रमण नहुने भएको छ । प्रचण्डले प्रधानमन्त्री बने लगतै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने बताएका थिए । बोआओ सम्मेलन एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य बढाउने, विश्वमा एसियाली मुलुकको प्रभुत्व बढाउनेलगायतका उद्देश्य राखी सन् २००१ देखि बोआओ फोरम सुरु भएको हो । फोरमको बैठकमा आर्थिक, सामाजिक र सरकारका विविध पक्षमा छलफल हुने गरेको छ । त्यस्तै फागुनको मध्यमामा कतारमा भएको अतिकम विकसित मुलुक (एलडीसी)को सम्मेलनमा पनि सहभागी भएनन् । योसँगै प्रचण्डले दुईवटा विदेश भ्रमण स्थगन गराए । आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै गर्न उनले यसअघि चीनको हेनान प्रान्तमा गत चैत्रमा भएको बोआओ फोरममा भाग लिन गएनन् । नेपालस्थित चिनियाँ दूतावासले बोआओ फोरममा सहभागी हुन ८ फागुन २०७९ मा प्रधानमन्त्री दाहाललाई भ्रमणको औपचारिक निमन्त्रणा दिएको थियो । तर, प्रचण्डले अन्तिम समयमा आएर चीन भ्रममा नजाने सन्देश पठाए । दाहाल प्रधानमन्त्री भएको चार महिना बितिसकेको छ । तर, भारत भ्रमणको औपचारिक निम्तो उनले अझै पाउन सकेका छैनन् । यसअघि वैशाखको अन्तिम साता प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुने भनिए पनि हाल भारतीय विदेशमन्त्री एस जयशंकर विदेश भ्रमणमा छन् । यो साताको तेस्रो साता मात्रै उनी भारत भ्रमण फर्कने कार्यतालिका छ । यता प्रचण्डले पनि भारत भ्रमणको टुंगो छिटो लगाउनकै लागि नेपालमा परराष्ट्रमन्त्री एनपी साउदलाई दिइसकेका छन् । नेपालबाट प्रधानमन्त्री दाहालको भ्रमणका लागि सबै तयारी भइसके पनि भारतले ‘ग्रिन सिग्नल’ नदिँदा भ्रमण अनिश्चित बनेको हो । भ्रमणको सबै तयारी मिलाउने जिम्मा पाएका जयशंकर भएका कारण पनि उनी स्वदेश फिर्ता नभएसम्म त्यो सम्भव देखिँदैन । साथै भारतको कर्नाटकमा हुन लागेको चुनावमा प्रधानमन्त्री मोदी व्यस्त भएका कारण पनि तत्काल प्रचण्डलाई भारत भ्रमणका लागि निमन्त्रणा गर्ने सम्भावना छैन । वैशाख महिनामा दाहालको भारत भ्रमण नहुने भएको छ । त्यसपछि पनि भारतीय प्रधानमन्त्रीले आफू अनुकूल अवस्था हेरेर मात्रै भारत भ्रमणको निम्तो दिन सक्नेछन् । त्यसो त एमालेको गठबन्धनमा प्रधानमन्त्री भएका प्रचण्ड पछिल्लो समय समीकरण बदलिएसँगै कांग्रेससँगको गठबन्धनमा छन् । एमालेसँगको गठबन्धन तोडिएपछि पुरानो गठबन्धन ब्युँतिएसँगै प्रचण्डले प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिनुपर्ने अवस्था आयो । साथै मन्त्रिपरिषद् विस्तारले पूर्णता अझै पाउन सकेको छैन । नेपालको प्रधानमन्त्री भएपछि पहिलोपटक भारत भ्रमण नै जानुपर्छ भन्ने परम्परा तोडेको भन्दै उनले त्यति बेला जति चर्चा पाए त्योभन्दा बढी भारत असन्तुष्ट बनेपछि प्रचण्डले आफ्नो औपचारिक भ्रमण भारतबाटै हुने अभिव्यक्ति दिनुप¥यो । त्यसैले पनि अहिले उनी दुईवटा विदेश भ्रमण रोकेर आफ्नो पहिलो भ्रमण भारतबाटै गर्न चाहन्छन् । दाहालले सन् २०१६ मा दोस्रोपटक प्रधानमन्त्री हुँदा आफ्नो औपचारिक विदेश भ्रमण भारतबाटै गरेका थिए । प्रचण्ड राष्ट्रपति निर्वाचनलगत्तै भारत भ्रमण हुनेमा विश्वस्त थिए । तर, लगतै उपराष्ट्रपति निर्वाचन र वैशाख १० को उपनिर्वाचनले त्यो सम्भावना टर्याे । यो महिनाकै अन्तिम सातामा भारत भ्रमणका लागि प्रधानमन्त्री दाहाल भ्रमणको तयारीमा रहे पनि भारत अझै पर्ख र हेरको अवस्थामा छ । यसअघि दाहाल प्रधानमन्त्रीका रूपमा दुईपटक भारत भ्रमणमा गएका थिए । दाहाल सन् २००८ मा पहिलोपटक प्रधानमन्त्री भएका बेला भारतको भ्रमण नगरी बेइजिङ ओलम्पिक समापन समारोहमा गएपछि चर्चाको विषय बनेको थियो । प्रचण्डको भारत भ्रमणका क्रममा दुई मुलुकबीच हुन सक्ने साझेदारी र हुने छलफलका विषयमा गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रले भ्रमणका सम्बन्धमा अन्य मन्त्रालयसँग पनि सहकार्य गरिरहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट दुईतर्फी बनाउने प्रस्ताव, १३६ किलोमिटर लामो काठमाडौं–रक्सौल रेलमार्ग, ऊर्जा सम्झौता (विद्युत् व्यापार र हाइड्रो कम्पनी), डिजिटल पैसा तिर्ने ई–वालेटलगायत विषयमा छलफल गर्ने तयारी छ । भारतले नेपाललाई महेन्द्रनगरबाट प्रवेश गर्ने गरी हवाई रुट दिने सम्भावना छ । साथै नेपाल र भारत सीमा समस्याको विषयमा पनि प्रचण्डले आफ्नो कुरा समकक्षी मोदीसँग राख्ने कार्यसूची तयार गर्दै छन् । तर, भारतले सो विषयलाई पटक–पटक पन्छाउँदै आइरहेको छ ।

Like