उम्मेदवारसँग तनहुँ–१ का युवाको अपेक्षा : फेरि कसैले ‘आत्मदाह’ गर्नुपर्ने अवस्था नआओस् (भिडियो)

Share to:

रासंसा/तनहुँ, बैशाख २,

मुलुकमा वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारहरू घरदैलो गर्न व्यस्त छन् । यहाँ विभिन्न राजनीतिक दलबाट ९ जना उम्मेदवार प्रतिस्पर्धामा रहे पनि कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू मुख्य प्रतिस्पर्धीका रूपमा छन् । साना दलका उम्मेदवारको तुलनामा ठुला दलका उम्मेदवारले आक्रामक रूपमा चुनाव प्रचार गरिरहेका छन् । तनहुँको बन्दीपुरमा रहेका दीपक दाहाल अहिले स्नातक तहमा अध्ययन गरिरहेका छन् । चुनाव जितेर जाने नेताहरूले युवाका लागि रोजगारी सिर्जना गरिदिउन्, फेरि नेपालमा कसैले पनि आत्मदाह गर्नु नपरोस् भन्ने उनको अपेक्षा छ ।
कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले लगायतका उम्मेदवारहरू भोट माग्न घरघर पुगिरहेका छन् । मतदातालाई विभिन्न योजना तथा सपना देखाएर उम्मेदवारहरू आफ्नो पक्षमा भोट तान्न प्रतिस्पर्धा गरिरहेका बेला हामीले तनहुँका विभिन्न क्षेत्रमा रहेका युवासँग उनीहरूले उम्मेदवारसँग कस्तो अपेक्षा गरेका छन् भन्ने बारेमा बुझ्ने प्रयास गरेका छौँ । उनले भने, ‘पहिलेदेखि नै चुनावका बेला भोट माग्न आउने अनि त्यसपछि नेताहरू हराउने गरिरहेका छन् । तर अहिले युवाहरू पनि देशको नेतृत्वमा पुग्न थालेका छन् । जसले जिते पनि उनीहरूले युवाहरू विदेशिनु परिरहेको अवस्था बुझ्नुपर्‍यो । यहीँ रोजगारीको व्यवस्था गर्नुपर्‍यो । गरिबी उन्मुलनका लागि लागिपर्नु पर्‍यो । नेपालमै केही गर्न खोज्दा नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था नआओस् ।’ दमौलीकी भावना अधिकारी नेताहरू चुनावको बेलामा आउने तर पछि फर्केर नआउने अवस्था रहेको बताउँछिन् । उनले भनिन्, ‘नेताहरू चुनावको बेलामा आउनुहुन्छ, खासै देखिनुहुन्न । अरू बेला देखिए पनि बोल्नुहुन्न । चुनावका बेला भने भोट माग्नमात्र आउनुहुन्छ ।’ युवाहरूले नेपालमै केही गर्न सक्ने अवस्था सुनिश्चित गर्न तथा रोजगारीको अवस्था सिर्जना गर्नेतिर निर्वाचित हुने जनप्रतिनिधि लाग्नुपर्नेमा उनले जोड दिए । पहिले पहिलेका धेरै चुनावमा जिताएर पठाए पनि जनताका लागि केही नगरेको उनले बताइन् । उनले भनिन्, ‘जितेर जानुअघि केही गर्छौँ भनेर जनतालाई धेरै आस पनि देखाउनुभयो तर चुनाव जितेर माथि जानुहुन्छ अनि जनताका लागि केही गर्नुहुन्न । नेताहरूले केही काम गर्नुहुन्छ भन्ने कुरामा आश मरिसक्यो ।’ नेताहरूले काम गर्ने हो भने शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा धेरै काम रहेको तर उनीहरूले जनसरोकारका सवालमा काम नै नगर्ने अधिकारीले बताइन् । ब्यास नगरपालिका–१ की बासिन्दा मनिषा गुरुङ विद्यार्थी हुन् । तनहुँको भानुभक्त क्याम्पसमा अध्ययन गरिरहेकी गुरुङले चुनाव आएपछि धेरै नेताहरू आफ्नो घरमा भोट माग्न आएको बताइन् । उनले भनिन्, ‘जसले हाम्रो ठाउँमा विकास गर्नुहुन्छ, उसैलाई नै चुन्नेछौँ । हाम्रो यो ठाउँमा रोजगारीको समस्या छ । बाटोमा धुलोधुवाँ बढी छ । त्यसको समाधान होस् ।’ उनले युवाहरूलाई काम गर्ने वातावरण नै नभएको बताए । युवाका लागि रोजगारीको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने अपेक्षा उनले गरे । होटल व्यवसाय जेनतेन चलिरहेको बताउँदै उनले आर्थिक मन्दीको असर होटल व्यवसायमा पनि परेको बताए । दमौलीमा होटल व्यवसाय गरिरहेका युवा दीपक अधिकारी भने जसले चुनाव जितेर गए पनि जनताका लागि राम्रो काम गर्नुपर्ने बताउँछन् । रातोपाटीसँग उनले भने, ‘जसले जिते पनि राम्रो काम गरिदिउन् भन्ने हो तर यहाँ त्यस्तो देख्न भने पाइएको छैन । बाहिरबाट ‘वाग्ले सर’ (स्वर्णिम वाग्ले) आउनुभएको रहेछ, उहाँमा पनि धेरैले अपेक्षा गरेका रहेछन् । यहाँको अर्को उम्मेदवार भट्टराई (गोविन्द भट्टराई) पनि हुनुहुन्छ । उहाँले पनि यहाँ राम्रो गर्नुभएको छ भन्ने सुनिएको छ । युवालाई रोजगारी दिने कुरालाई नेताहरूले पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।’ व्यास नगरपालिका छाब्दी बराही मार्ग, रत्यौली टोलका विपिन अधिकारी जुन पार्टीको उम्मेदवारले चुनाव जिते पनि देशको काम गरोस् भन्ने चाहना व्यक्त गर्दछन् । उनले भने, ‘भिजन भएको युवाले जिते, पढेर गएको युवाले जितेर गए भने जनता बढी खुसी हुन्छन्, काम गर्न सहज हुन्छ । यस्तो मान्छेले जितोस् कि जसले समाजलाई बुझोस्, यो ठाउँलाई बुझोस्, जनताको गन्तव्यलाई आफ्नो दिमागले पढोस् र कामलाई फिल्डमा उतारोस् । त्यति भएपछि काम गर्न पनि सक्रिय हुन्छ ।’

Like