३ जनाको उम्मेदवारी महासंघमा फिर्ता

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २८,

मुलुकमा उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि ६४ मध्ये ४ सदस्य निर्विरोध निर्वाचित भएका छन् । अब बाँकी ६० पदमा बुधबार १ सय १५ जनाबीच प्रतिस्पर्धा हुँदै छ । सोमबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने अन्तिम समयमा ३ जनाले उम्मेदवारी फिर्ता गरेपछि थप २ पदमा निर्विरोध भएको हो । उम्मेदवारी फिर्ताको अन्तिम समयमा सुदूरपश्चिमबाट सदस्यमा उम्मेदवारी दिएका रामबहादुर भण्डारी, संस्थापक समूहबाट टीका ढकाल तथा एसोसिएटबाट विजयसिंङ वैद्यले उम्मेदारी फिर्ता लिएका छन् । लुम्बिनी र सुदुरपश्चिम प्रदेश, द्विराष्ट्रिय तथा संस्थापन सदस्य निर्विरोध भएका छन् । लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ, सुदूरपश्चिम प्रदेशका प्रदेश सदस्यमा जंगबहादुर मल्ल, संस्थापन सदस्यमा भीष्मप्रसाद न्यौपाने र द्विराष्ट्रिय सदस्यका लागि नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि सुनील केसीको मात्र उम्मेदवारी कायम भएपछि उनीहरू निर्विरोध भएका हुन् । बाँकी पदमा बुधबार मतदान हुने निर्वाचन निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए । महासंघको जिल्ला/नगर उद्योग वाणिज्यसंघतर्फ १२१ जना, वस्तुगततर्फ १२३ र एसोसिएटतर्फ १७६२ जना मतदाता छन् । ढकालले वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेपछि सर्वसम्मत गराउने प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन । वरिष्ठ उपाध्यक्षका लागि ३, जिल्ला/नगरतर्फका उपाध्यक्षका लागि ३, वस्तुगततर्फका उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फका उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष महासंघको विधानअनुसार स्वतः अध्यक्ष हुने भएकाले उक्त पदमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघईले प्रतिस्पर्धा गर्दै छन् । हाल वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल आगामी वार्षिक साधरणसभाबाट तीन वर्षका लागि अध्यक्ष बन्दै छन् ।

Like