एकद्वार प्रणालीबाट सरकारी विज्ञापन व्यवस्थापन गर्ने तयारीमा छौँ : संचार मंत्री
रासंसा/काठमाण्डौ, चैत्र २५,
मुलुकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छिन्। ‘सरकारले फजुल खर्च कटौती गर्न लागेको छ’, मन्त्री शर्माले भनिन्। विज्ञापनको व्यवस्थापनले न्यूनतम पारिश्रमिक नपाउने समस्या हल हुने उनले विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘जाजरकोटमा विज्ञापन खोल्नु छ, त्यहाँको बाटो बनाउने विज्ञापन काठमाडौंको पत्रिकामा छापिन्छ। त्यो पत्रिका लिएर विज्ञापनको पैसा लिने तरिका बेठिक छ, यसरी हुँदैन। यसलाई रोक्न आवश्यक परे नियमावलीमा संशोधन गरौं।’ नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोक कल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत एकद्वार प्रणालीअनुसार लैजान नीति बनाउन लागेको उल्लेख गरिन्। त्यसका लागि मन्त्रालयले आवश्यक प्रक्रिया थालेको उनको भनाइ छ। पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै मन्त्री शर्माले सामूहिक छलफल र निष्कर्षबाट सञ्चारजगत्का समस्या समाधान खोज्न आग्रह गरिन्। उनले भनिन्, ‘पत्रकारिता क्षेत्रमा रहरले प्रवेश गर्ने र कालान्तरमा पछुताउनु पर्ने अवस्था राम्रो हैन। यो लोकतन्त्रका लागि नराम्रो हो।’ नेपाल पत्रकार महासंघको काठमाडौं शाखाको भवन निर्माणका लागि जग्गाका विषयमा सहजीकरण गर्न सो अवसरमा उनले प्रतिबद्धता व्यक्त गरिन्।