एसइईको फलामे ढोका पार गर्न चाहन्छन् आमाहरू

Share to:

रासंसा/म्याग्दी, चैत्र १७,

मुलुकमा म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलाकी ५७ बर्षिया राधादेवी पुनले शुक्रबारदेखि सुरु हुने माध्यमिक परीक्षा (एसइई) को तयारीमा व्यस्त छिन्। राधादेवीजस्तै ५० वर्ष डिलकुमारी पुर्जाले पनि एसइईको पर्खाल पार गरी उच्च शिक्षासम्मको पढाई पूरा गर्ने लक्ष्य सहित परीक्षाको तयारीमा कुनै कमी छैन। अक्षर, अंक लेख्न, पढ्न र चिन्न नसकेका कारण धेरै ठक्कर पाएपछि उज्यालो वैकल्पिक विद्यालयमा कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय जान सुरु गरेकी राधादेवीले एसइईका लागि दिनरात मेहनत गरेकी छन्। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा चैत १७ देखि सुरु गर्ने गरी तालिका सार्वजनिक गरेसँगै राधाकुमारी र दिलकुमारी जस्तै विद्यालयमा अध्ययनरत ९ जना आमाहरूको दैनिकी नै परिवर्तन भएको छ। ३७ बर्षिया इन्द्रामती फगामी, ३५ बर्षकी संगिता छिनाल, ५४ बर्षकी तुलकमारी मल्ल केसी, ३९ वर्ष धनकुमारी विक, ४० बर्षकी रामदेवी पुन, ४९ बर्षकी विष्णुकुमारी गुरुङ र २८ बर्षकी पूजा छन्त्यालले नियमित तथा अतिरिक्त कक्षा नै लिएर परीक्षामा सफल हुन जुटेका छन्। बुधबार एक समारोहकाबिच विद्यालय संचालक समितिले एसइईमा सहभागी हुने ९ जना आमाहरूलाई परीक्षाको सफलता शुभकामना दिँदै बिदाइ कार्यक्रम गरेको थियो। एसइई परीक्षाका बारेमा रहेको डर र अन्योल हटाएर विद्यार्थीमा आत्मबल बढाउन नियमित अभ्यास, अनुभव आदानप्रदान र विगतमा एसइई उत्तीर्ण भएका आमाहरूले समेत थप सल्लाह सुझाव दिएपछि परीक्षार्थीमा उत्साह थपिएको छ। कार्यक्रममा बोल्दै संचालक समितिका कार्यवाहक अध्यक्ष राजेश शाक्यले निरन्तर मेहनत, शिक्षकले दिएको समय र परीक्षार्थीको सक्रियताले एसइई परीक्षा राम्रो नतिजा ल्याउनेमा आशाबादी रहेको बताए। सीमित स्रोत र साधनका बाबजुद शिक्षकको सक्रियताले समेत विद्यार्थीमा ऊर्जा थपिएको बताए। ‘पढाई जस्तो ठूलो कुरा केही रहेनछ, त्यही भएर एसइईसम्म आइपुगेका छौ, यो परीक्षामा उत्तीर्ण हुने गरी मेहनत गरिरहेका छौ’ गुरुङले भनिन्। बिदाइ कार्यक्रममा विद्यालयमा अक्षर चिन्नेदेखि एसइईसम्मको तयारीमा धेरै सहयोग मिलेको परीक्षार्थी विष्णु गुरुङले बताईन्। बेनी सामुदायिक विद्यालय अन्तरगत बि.स २०७३ सालमा स्थापना भएको उज्यालो वैकल्पिक विद्यालय मंगलघाटस्थित सामाजिक विकास कार्यालय रहेको भवनको भुइँतलाबाट पठनपाठन संचालन गरिँदै आएको छ। औपचारिक शिक्षाबाट वञ्चित आमाहरूले नेपाली विषयसहित अंग्रेजी, गणित विषय पढ्दै, लेख्दै र कम्प्युटर पनि चलाउन सिकिरहेका छन्। विद्यालय सञ्चालन गर्न गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईले आर्थिक रुपमा सहयोग उपलब्ध गराएको विद्यालय संचालक समितिका कोषाध्यक्ष विनय श्रेष्ठले बताए। पढ्ने धोकालाई उमेर छेक्दैन भन्ने उदाहरण एसइई परीक्षामा सहभागी भएका आमाहरूले पुष्टि गरेका छन्।

Like