तीन क्षेत्रमा हुने उपनिर्वाचनका लागि दलहरू सक्रिय हुँदै
रासंसा/काठमाण्डौ, चैत्र ७,
मुलुकमा निर्वाचन आयोगले यही वैशाख १० गते रिक्त रहेका प्रतिनिधि सभाका ३ वटा क्षेत्रमा उपनिर्वाचन गर्दैछ । यही चैत २० गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ त्यसअघि चैत १६ गते सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यसूची रहेको छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनपछि तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ पनि रिक्त बनेको छ । सो क्षेत्रमा पनि वैशाख १० गते नै निर्वाचन गर्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा उनको सांसद पद गएपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त बनेको थियो । गत माघ २९ गते निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयसँगै राजनीतिक दलहरूले बिस्तारै सक्रिय बन्न थालेका छन् । चितवन क्षेत्र नम्बर २ मा यसअघि पराजित भएकोले एमालेले चुनावका लागि सक्रियता बढाइरहेको छ । उनले भने–‘नेकपा एमाले चितवनमा उम्मेदवारी दिन्छ, चुनाव लड्छ । यहाँ एमालेको जनआधार राम्रो छ । अघिल्लो पटक नयाँलाई दिने भन्ने एउटा परिस्थिति आयो तर वैकल्पिक शक्ति पनि त्यस्तै रहेछ, जता सत्ता त्यतै जाने रहेछ भनेर जनताले बुझेका छन् । सम्भावित उम्मेदवारको कुरा गर्दा मैले लगातार ३ पटक उम्मेदवारी दिएँ, २ पटक त चुनाव नै जितेँ । लगातार ३ पटक भन्दा कति पटक चुनाव लड्ने ? म उम्मेदवारको लागि मरिहत्ते गर्दिन । पार्टीले जे फैसला गर्छ त्यही मान्छु ।’ चितवन क्षेत्र नम्बर २ मा रहेका २८ वटा वडामा नै छलफल भेलाको काम सम्पन्न भएको र ती क्षेत्रमा पुन कार्यक्रम लिएर जाने एमालेले तयारी गरेको एमालेका पूर्व सांसद एवं कृष्णभक्त पोखरेलले बताए । उनले एमालेबाट चितवन क्षेत्र नम्बर २ मा हालका पार्टी अध्यक्ष रामप्रसाद न्यौपाने पनि उम्मेदवारको लागि सक्षम रहेको उनले बताए । यस्तै पूर्व मेयर गोपी श्रेष्ठ पनि सम्भावित उम्मेदवार रहेको बताउँदै पार्टीले जसलाई अघि बढाउने निर्णय गर्छ त्यसलाई पालना गरेर जाने पोखरेलले बताए । उनले चुनावको तयारी स्वरूप एमाले वडा–वडामा गइसकेको उनले बताए । प्रत्येक वडामा, टोल टोलमा चार पाँचवटा भेला सम्पन्न भइसकेको उनले बताए । एमालेले थालेको ग्रास रुट अभियान अन्तर्गत टोल टोलमा गएर कार्यक्रम गरिरहेको उनले बताए । अन्य पार्टीहरू जनस्तरसम्म नगएको बेला जनताका घर घरमा एमाले पुगिसकेको उनको भनाई छ । चितवन क्षेत्र नम्बर २ अन्तर्गत रहेका २८ वटा सबै वडामा पुगेर छलफल भेला कार्यक्रम गरिसकेको उनले बताए । यसअघिको निर्वाचनमा पराजित भएका उमेश श्रेष्ठले पुन टिकट नपाउने निश्चित जस्तै भएको छ । अव उम्मेदवार बनाउँदा जिल्ला स्तरीय नेताहरूलाई उम्मेदवार बनाउने योजना रहेको र २ जना उम्मेदवारको चर्चामा रहेका छन् । यता चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले नै उम्मेदवारी दिने भएको छ । केही दिनभित्रै काठमाडौँ आएर पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर उम्मेदवारबारे टुङ्गो लगाउने चितवन कांग्रेसको तयारी छ । नौ–दश जनाले उम्मेदवार हुन इच्छा राखे पनि चितवन जिल्ला कांग्रेस सभापति राजेश्वर खनाल र निवर्तमान सभापति जीतनारण श्रेष्ठ उम्मेदवारका बढी सम्भावना रहेको चितवन कांग्रेसले जनाएको छ । उम्मेदवारको सम्भावित सूचीमा आफू १ नम्बरमा रहेको र दोस्रो नम्बरमा पूर्व सभापति श्रेष्ठ रहेको र केही दिनमा काठमाडौँ आएर पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर उम्मेदवारी टुङ्गो लगाउने खनालको भनाई छ । उम्मेदवारको सम्भावित सूचीमा आफू १ नम्बरमा रहेको र दोस्रो नम्बरमा पूर्व सभापति श्रेष्ठ रहेको र केही दिनमा काठमाडौँ आएर पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर उम्मेदवारी टुङ्गो लगाउने खनालको भनाई छ । २ जना बीचमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा पार्टी केन्द्रले निर्णय गर्ने जिल्ला सभापति खनालले रातोपाटीलाई बताए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टी सभापति रवि लामिछाने फेरी चुनावी मैदानमा उत्रिँदै छन् । महान्यायाधिवक्ताको कार्यालयले उनी विरुद्ध राहदानी कसुरमा मुद्दा चलाउने आधार नदेखिएको भन्दै सो बारेको मुद्दा नचलाउने निर्णय गरेपछि उनले चुनावको मुखमा राहत पाएका छन् । लामिछाने पनि चुनाव केन्द्रित कार्यक्रम लिएर चितवन पुगिरहेका छन् । यता बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादीका पार्टी अध्यक्ष उपेन्द्र यादव चुनावमा उठ्ने तयारीमा छन् । यद्यपि पार्टीको बारा जिल्ला समितिले यसबारे निर्णय गरिनसकेको बारा जसपा नेता रमेश यादवले बताए । यता तनहुँ क्षेत्र नम्बर २ मा पनि सत्ता गठबन्धनको तर्फबाट कांग्रेसले नै उम्मेदवार उठाउने भएको छ । यो क्षेत्रमा उम्मेदवार बन्न ७ जना जतिले रुचि राखेको कांग्रेस तनहुँ जिल्ला सभापति जितप्रसाद आलेले बताए । यस्तै बाराका कांग्रेस सभापति राजेशराय यादवले नेपाली कांग्रेसबाट कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा कुनै चर्चा नरहेको बताए । जबसम्म पार्टी केन्द्रले उम्मेदवारको सिफारिस माग्दैन तबसम्म यसबारे छलफल नहुने उनले बताए । पहिले नै यो यो व्यक्ति उम्मेदवारको आकाङ्क्षी रहेको बताउँदा पार्टीभित्र विवाद बढ्ने भएकोले अहिलेसम्म चुनावमा को उम्मेदवार हुने भन्ने विषयमा कुनै विषय अघि नबढेको तर बिस्तारै छलफल हुन सक्ने उनले बताए । उनले भने–‘पार्टीले हामीलाई सर्कुलर गरेको छैन, निर्णय गरेको छ रे भन्ने सुनेको छु तर हाम्रो पार्टीको प्रक्रिया छ । सुरुमा क्षेत्रीय समितिले सिफारिस गर्ने, त्यसपछि जिल्ला समितिले त्यसको राय सहित प्रदेश समितिमा पठाउने, प्रदेशले केन्द्रमा पठाउँछ । औपचारिक रूपमा यो प्रक्रिया सुरु भइसकेको छैन । केन्द्रले हामीलाई सर्कुलर गरेपछि हामी प्रक्रिया आरम्भ गर्छौँ ।’ १६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, चैत २० गते उम्मेदवारी दर्ता गर्ने लगायत वैशाख १० गते नै निर्वाचन गर्ने तदनुसार नै हाम्रो आन्तरिक तयारी भइरहेको छ ।’ निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा निर्वाचनमा भाग लिने दलहरूलाई दल दर्ताका लागि आह्वान समेत गरिसकेको छ । पार्टीले कसलाई उम्मेदवार बनाउन लागेको भन्नेबारेमा भने उनले केही खुलाउन चाहेनन् । तर उम्मेदवारका लागि ७ जनासम्मले रुचि देखाएको उनले बताए ।सभापति आलेले भने–‘पाँच सात जना साथीहरू चुनावमा उठ्न रुचि राख्नुभएको छ भन्ने कुरा आएको छ । उम्मेदवारी दिन इच्छुक साथीहरूलाई दरखास्त दिन हामी आह्वान गर्छौँ । दरखास्त दिएका साथीहरूबाट एक जनालाई छनौट गरेर सिफारिस गर्छौँ ।’