बर्खास्त भए सदस्य सचिव वाग्ले

Share to:

रासंसा/मोरङ, ज्येष्ठ ४,

मुलुकमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएको छ। बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो। गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रुपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै उनलाई मन्त्रालयले दुईपटक स्पष्टीकरण सोधेको थियो। मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रबक्ता भक्ति सिटौलाले समाजिक विकास मन्त्रालयसँग समन्वय नगरी काम गरेको दुई पटक स्प्रस्टिकरण सोधे पनि चित्त बुझ्दो जवाफ नदिएका कारण सामाजिक विकास मन्त्रालयको सिफारिसमा वाग्लेलाई वर्खास्त गर्ने निर्णय गरिएको जानकारी दिए। यस्तै मन्त्रिपरिषद्ले एसिड आक्रमणमा परी घाइते भएकी ओखलढुंगा चम्पादेवी गाउँपालिका–६ की बालिका पवित्रा कार्कीको उपचारका लागि एक लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। यस्तै आर्थिक रुपले विपन्नलाई कडा रोगको उपचारका लागि प्रदान गरिने सहायताका लागि स्वास्थ्य मन्त्रालयलाई एक करोड ५० लाख बजेट उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको सरकारका प्रबक्ता सिटौलाले जानकारी दिए।

Like