वाल्मीकि विद्यापीठमा स्ववियु निर्वाचन स्थगित

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ५,

मुलुकमा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत काठमाडौंस्थित प्रदर्शनीमार्गमा रहेको वाल्मीकि विद्यापीठमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले विद्यापीठ प्रशासन र निर्वाचन समितिले निर्वाचन नगराउन षड्यन्त्र गरेको भन्दै क्याम्पसमा तालाबन्दी गरेसँगै निर्वाचन स्थगित भएको हो । चैत ५ गते हुने भनिएको निर्वाचनमा केही विद्यार्थीको नाम मतदाता नामावलीमा नरहेको‚ निर्वाचन प्रक्रियामा दर्ता भएका विद्यार्थी संगठनहरूबीच छलफल नै नगरी अपारदर्शी रुपमा निर्वाचन प्रक्रिया अगाडि बढाइएको भन्दै नेविसंघले विद्यापीठ प्रशासनमा तालाबन्दी गरेको छ । ‘केही विद्यार्थी संगठनले विभिन्न माग राखेर विद्यापीठ प्रशासनमा तालबन्दी गरेकाले आज भनिएको निर्वाचन रोकिएको छ‚’ निर्वाचन समिति संयोजक शान्तिकृष्ण अधिकारीले कान्तिपुरसित भने‚ ‘निर्वाचन पुनः कहिले गर्ने भन्नेबारे अझै टुंगो लागिसकेको छैन ।’ असन्तुष्ट पक्षलाई वार्ताका लागि बोलाए पनि नआएको उनले बताए । त्रिभुवन विश्वविद्यालयसहित देशभरका आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरू भएको छ । विद्यार्थीको तालाबन्दी र विभिन्न समस्याका कारण भएका केही क्याम्पसहरूमा भने निर्वाचन नहुने भएको छ । काठमाडौंका २२ आंगिक क्याम्पसहरूमध्ये ८ वटामा भने आइतबार निर्वाचन नहुने भएको छ । काठमाडौंका अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, वाल्मीकि‚ मिनभवन, आयुर्वेद कीर्तिपुर, पाटनबाहेक अरुमा मतदान सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति सदस्य सचिव पशुपति अधिकारीले बताए । उनका अनुसार काठमाडौं बाहिर भने अधिकांश स्थानमा स्ववियु निर्वाचन सुरु भएको छ ।

Like