अन्तर्राष्ट्रिय अपराध अदालतद्वारा रुसी राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

Share to:

एजेन्सी,

विश्वमा अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) ले युद्ध अपराध गरेको ठहर गर्दै रुसी राष्ट्रपति भ्लादीमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युक्रेन युद्धका क्रममा बालबालिकाहरुलाई गैरकानुनी रुपमा रुसको सीमामा निर्वासन गराएको भन्दै यसमा पुटिनलाई दोषी ठहर्‍याएको हो । पुटिनसँगै राष्ट्रपति कार्यालयमा कार्यरत बालबालिका अधिकार हेर्ने आयुक्त मारिया अल्केस्येभ्ना एल्भोभा बेलोभालाई पनि दोषी ठहर गर्दै आईसीसीले पक्राउ पुर्जी जारी गरेको छ । यस्तो अपराध उनीहरुले २०२२ फेब्रुअरी २४ बाट थालेको जनाइएको छ । पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले टेलिफोन कुराकानीमा आईसीसीले उठाएको प्रश्न अपमानजनक र अस्वीकार्य रहेको बताएको बीबीसीले उल्लेख गरेको छ । रुसले भने यस्तो पक्राउ पुर्जीको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । रुसका पूर्वराष्ट्रपतिसमेत रहेका दिमित्री मेड्भेडेबले पुटिनविरुद्ध जारी भएको पक्राउ पुर्जीलाई ‘ट्वाइलेट पेपर’ को संज्ञा दिएका छन् । राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसलगायत केही मुलुकले रोम विधानलाई मान्यता नदिएकाले कानुनी दृष्टिकोणबाट उक्त पुर्जीको कुनै अर्थ नभएको दाबी गरेका छन् । सन् १९९८ मा रोम विधानअन्तर्गत रहेर नेदरल्यान्ड्सको हेगमा आईसीसीको स्थापना भएको हो। यसले गम्भीर युद्ध अपराधहरूमा मुद्दा चलाउँछ। रुस, अमेरिका, चीन, भारतजस्ता प्रभावशाली मुलुक यसका सदस्य होइनन् । युक्रेन पनि यसको सदस्य मुलुक होइन तर उसले केही अपराधका आरोपमा अनुसन्धान गर्न सक्ने प्रावधानलाई भने स्वीकार गरेको छ । आईसीसीको आफ्नै प्रहरी छैन, उसले सदस्य मुलुकको प्रहरीको सहयोग लिएर आरोपीहरुलाई पक्राउ गर्ने गर्छ । रुस आईसीसीको सदस्य मुलुक हैन । त्यसैले उसले यसको अर्थ नरहेको प्रतिक्रिया दिए पनि सदस्य बनेका मुलुकहरु भ्रमणमा भने पुटिनका लागि अवरोध हुनसक्छ ।

Like