स्ववियु निर्वाचन १४ वर्षपछि प्रक्रिया सुरु
रासंसा/काठमाण्डौ, फाल्गुण २८,
मुलुकमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया सुरु भएको छ। चैत ५ गतेका लागि तोकिएका निर्वाचनअन्तर्गत शनिबार मनोनयन दर्ता भएको छ। २०६५ सालपछि पहिलोपटक त्रिविअन्तर्गत देशैभरि ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो। प्राध्यापक अधिकारीका अनुसार आंगिकमध्ये दुईवटा क्याम्पसमा निर्विरोध कमिटी चयन भएको छ। धनकुटा बहुमुखी क्याम्पसमा अनेरास्ववियु र गोरखा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्वमा निर्विरोध स्ववियु निर्वाचित भएको उनले जानकारी दिए। यसअघि २०७३ सालमा स्ववियु निर्वाचनको घोषणा गरिए पनि केहीकेही क्याम्पसमा मात्रै निर्वाचन भएको थियो। यसपटक अधिकांश क्याम्पसहरूमा मनोनयन दर्ता भएको केन्द्रीय स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समितिका सदस्य सचिव एवं त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले बताए। यस्तै धादिङ, रुकुम पश्चिम, डोल्पा, हुम्ला, सिन्धुपाल्चोक लगायत जिल्लामा रहेका सम्बन्धनप्राप्त केही क्याम्पसमा पनि निर्विरोध निर्वाचित भएको प्राध्यापक अधिकारीले जानकारी दिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनमा रहेका दलनिकट विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनमा काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका क्याम्पसहरूमा तालमेल गरेका छन्। एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि आंशिक ठाउँमा अन्य विद्यार्थी संगठनसँग तालमेल गरेर उम्मेदवारी दिएको छ। उपत्यकाका मुख्य क्याम्पसहरूमा कांग्रेसको नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी र नेकपा एसको अनेरास्ववियुले भागबन्डासहित तालमेल गरेका छन्। यसै बीचमा मनोनयनका क्रममा राजधानीका रत्नराज्यलक्ष्मी, ग्रामीण आदर्श, बानेश्वर, कोटेश्वरसहितका क्याम्पसहरूमा विद्यार्थी संगठनहरूबीच विवाद भएको छ।