सत्तामा नै बस्ने की राजीनामा दिने, बागमती प्रदेशमा एमालेको अलमल

Share to:

रासंसा/मकवानपुर, फाल्गुण २७,

मुलुकमा देशले नयाँ राष्ट्रपति प्राप्त गरिसकेको छ । बिहीबार मात्र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भइसकेका छन् । पौडेल राष्ट्रपति भए लगत्तै बागमती प्रदेशको सत्ता समीकरण बारेमा पनि चर्चा सुरु भएको छ । गत बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङ पराजित भएसँगै बागमती सरकारबाट पनि अलग बस्ने तरखरमा पार्टी रहेको छ । केन्द्रमा बनेको सत्ता गठबन्धनले सरकार पुनर्गठनको प्रक्रिया थाल्नु अघि नै मार्ग प्रशस्त गर्ने तयारीमा एमाले देखिएको छ । राष्ट्रपति निर्वाचनका लागि गत फागुन १० मा केन्द्रीय तहमा बनेको सत्ता समीकरणको आंशिक असर बागमती प्रदेशमा देखिए पनि सत्ता फेरबदल भने भएको थिएन । सत्ता समीकरण परिवर्तन भए लगत्तै केन्द्रमा एमालेले सरकार छाडेको थियो । जस अनुसार बागमतीमा पनि एमाले सत्ताबाट बाहिरिने चर्चा थियो । तर, एमालेले तत्काल प्रदेश सरकार छाड्ने अवस्था नरहेको भन्दै राष्ट्रपति निर्वाचनको नतिजा कुर्ने निर्णय गरेको थियो । सरकारबाट अलग हुने विषयमा एमाले वृत्तमा आन्तरिक छलफल जारी रहेको र केन्द्रीय तहको निर्देशनको पर्खाइमा सांसदहरू रहेका छन् । एमालेले केन्द्रको निर्देशन अनुसार नै मन्त्रीहरूले राजीनामा दिने तयारी भइरहेको छ । राष्ट्रपति निर्वाचनको मत परिणाम नै सार्वजनिक भइसकेको अवस्थामा नैतिकताको आधारमा पनि सरकारबाट अलग बस्नु पर्ने एमालेका सांसदहरू बताउँछन् । तत्कालीन समयमा सरकार गठनमा निर्णायक मानिएको राप्रपालाई ३ मन्त्री दिएर सरकार गठन गरिएको भए पनि फागुन १० गते राप्रपाका ३ मन्त्री सरकारबाट बाहिरिएका थिए । राप्रपा सरकारबाट बाहिरिए लगत्तै सरकारबाट अलग हुने एमालेको तयारी गरे पनि केन्द्रको निर्देशन पनि रोकिएको थियो । राष्ट्रपतिमा आफ्नो उम्मेदवार पराजित भएपछि एमालेले प्रदेश सरकारबाट पनि अलग हुने र प्रतिपक्षमा बस्ने रणनीति निर्माण गरेको छ । एमाले सरकारबाट बाहिरिने उपयुक्त परिस्थितिको खोजीमा रहेको छ । गत माघ २५ गते माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वमा प्रदेश सरकारमा ४ जना मन्त्री सहित एमाले सहभागी भएको थियो । एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री नियुक्त भएका थिए । राष्ट्रपतिमा आफ्नो उम्मेदवार पराजित भएपछि एमालेले प्रदेश सरकारबाट पनि अलग हुने र प्रतिपक्षमा बस्ने रणनीति निर्माण गरेको छ । एमाले सरकारबाट बाहिरिने उपयुक्त परिस्थितिको खोजीमा रहेको छ । ‘सम्भवतः हामी छिट्टै नै सरकार छाड्छौ । पार्टीको माथिल्लो तहमा छलफल जारी छ । पार्टीको अन्तिम निर्णय कुरिरहेका छौ ।’ उनले भने, ‘पार्टी नेतृत्वसँग छलफल हुँदैछ । केन्द्रमा सरकार छाडिसकेका छौ । त्यसैले प्रदेशमा पनि हामी सरकारबाट अलग हुने परिस्थिति रहेको छ । हामी सशक्त प्रतिपक्षमा बस्छौ ।’ एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसूदन पौडेलले फागुन मसान्तसम्ममा एमाले सरकारबाट बाहिरिने बताए । सरकारबाट अलग हुने विषयमा पार्टीको केन्द्रीय तहसँग छलफल भइरहेको र सोको निर्णय आए लगत्तै सरकारबाट अलग हुने उनले बताए । एमाले सरकारबाट अलग भएर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाई छ । बागमती प्रदेश सदस्य एवम् एमाले नेता प्रकाश श्रेष्ठका अनुसार सत्ता गठबन्धनलाई सरकार पुनर्गठनका लागि एमालेले छिट्टै नै मार्ग प्रशस्त गर्नेछ । उनले नयाँ राजनीतिक कोर्सको विकास भएको खण्डमा मात्र एमाले सरकारमा रहने अन्यथा वर्तमान गठबन्धन नै अघि बढ्ने बताए । एमाले प्रदेश सरकारमा रहेको अवस्थामा माओवादी केन्द्र र कांग्रेसको व्यवहारले पनि सरकारबाट अलग हुने विषय निर्धारण हुने उनको भनाई छ । सरकार गठनका विषयमा पार्टी केन्द्रको पनि आधिकारिक धारणा नआएकाले पनि केही समय पर्खिएको उनले बताए । एमाले आगामी दिनमा सशक्त प्रतिपक्षको भूमिकामा बस्नु पर्ने उनको भनाइ छ । ‘हामीलाई अहिलेको गठबन्धनले कस्तो व्यवहार गर्छ भन्ने कुरामा पनि सरकारबाट अलग हुने वा नहुने भन्ने कुरा भर पर्छ । पार्टीको आधिकारिक निर्णय आएको छैन । एमाले सशक्त प्रतिपक्षको भूमिकामा बस्नु पर्छ ।’ ‘अहिलेको सत्ता साझेदार दलको स्पष्ट बहुमत छ । एमाले दोस्रो पोजिसन कै पार्टी हो । अर्को नयाँ कोर्स सुरु भयो भने छुट्टै नयाँ कुरा हो । नयाँ कोर्स नभएको खण्डमा वर्तमान गठबन्धन नै अघि बढ्छ ।’ उनले भने, ‘४ वटा प्रदेश सरकारको नेतृत्व एमालेले गरेको अवस्था थियो । हाल बागमती प्रदेशसहित केही प्रदेशमा एमालेको सरकार कायम छ । त्यसका केही विषयहरू रहेका छन् । त्यसैले होल्ड भएको हो ।’ ‘हामीलाई अहिलेको गठबन्धनले कस्तो व्यवहार गर्छ भन्ने कुरामा पनि सरकारबाट अलग हुने वा नहुने भन्ने कुरा भर पर्छ । पार्टीको आधिकारिक निर्णय आएको छैन । एमाले सशक्त प्रतिपक्षको भूमिकामा बस्नु पर्छ ।’ ‘भोलि नयाँ राजनीतिक कोर्सको विकास भएर एमाले कांग्रेस मिलेर सरकार बन्न सक्यो भने दिगो विकास र स्थायी राजनीति निर्माणमा फरक शैलीका जान सकिएला । अहिलेको परिस्थितिमा वर्तमान गठबन्धनले प्रदेशमा छिट्टै नै सरकार गठन सुरु गर्छ । एमालेको पनि आधिकारिक निर्णय पनि आउँछ । कांग्रेस र माओवादी केन्द्र मिल्दा पनि सरकार बन्न सक्छ । अझ अरू दलहरू पनि गठबन्धनमा हुनुहुन्छ । सरकार गठनमा हामीबाट मार्ग प्रशस्त हुन्छ । आगामी ५ गते सम्ममा नयाँ क्याबिनेटले पूर्णता पाउन सक्छ ।’ नयाँ राजनीतिक कोर्सको विकास भएको खण्डामा राजनीतिक स्थायित्व र दिगो विकासका लागि एमाले फरक शैलीका जान सक्ने उनको भनाई छ । उनले सरकार गठनमा मार्ग प्रशस्त गर्न आफूहरू तयार रहेको बताए । उनका अनुसार सत्ता गठबन्धनले छिट्टै नै सरकार पुनर्गठनको विषय अघि बढाउने भएकाले एमाले मार्ग प्रशस्त गर्न तयारी अवस्थामा रहेको छ । ११० सदस्यीय बागमती प्रदेश सभामा एमालेको २७ जना सांसद रहेका छन् भने माओवादी केन्द्रका २१, कांग्रेसका ३७, राप्रपा १३, एकीकृत समाजवादीका ७, नेमकीपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

Like