संक्रमणकालीन न्याय टुंग्याउन माओवादी नै बाधक: केपी ओली

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २२,

मुलुकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानून टुङ्ग्याउन माओवादी बाधक बनेको आरोप लगाएका छन्। बेपत्ता छानविन तथा सत्य निरुपण सम्बन्धी आयोगलाई काम गर्न पनि माओवादीकै मान्छेले व्यवधान खडा गरेको ओलीको भनाइ छ। एमाले अध्यक्ष ओलीले शान्तिप्रक्रियालाई अविलम्व टुङ्गाउनुपर्ने एमालेको धारणा रहेको बताउँदै उनले यस विषलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए। राष्ट्रपति पदको निर्वाचनका विषयमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा ओलीले आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी कानून टुङ्ग्याउन बारम्बार भन्दा पनि ऐन कानून बनाउन नदिएको आरोप लगाए। प्रशिक्षण कार्यक्रममा ओलीले पुस १० गते भएको सहमति तोड्दै राष्ट्रिय छलफलको कुरा गरेर प्रचण्डले छल गरेको आरोप लगाए। राष्ट्रिय राजनीतिलाई सहि ट्रयाकमा ल्याउन एमालेबाट बनेका राष्ट्रपतिका उम्मेदवारका नाममा राष्ट्रिय सहमति गर्न आह्वान पनि गरेका छन्। ओलीले अहिले सरकारमा भएका दल र नेता सत्तास्वार्थका लागि राष्ट्रिय हित विपरीत काम गरिरहेको भन्दै यसलाई एमालेले रोक्ने बताए। नेकपा एमाले देश र जनताका साथै संविधानप्रति प्रतिवद्ध रहेकाले कुनै पनि भ्रममा नपर्न सांसदलाई ओलीको सुझाव छ। ओलीले अहिले पाइला पाइलामा संविधान मिच्नेले नै संविधानमाथि खतरा भयो भन्दै वक्तव्यवाजी गरिरहेको पनि टिप्पणी गरेका छन्। राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल सभामुख हुँदा सांसदको अधिकार खोसेको भन्दै ओलीले व्यक्तिगत रुपमा सम्मान गरेपनि सभामुखका रुपमा कामै नलाग्ने र राष्ट्रपतिका रुपमा सोच्नै नसकिने पात्र भएको तर्क गरे।

Like