अब माओवादी धारका सबै पार्टी नयाँ ढङ्गबाट एक हुनुपर्छ – बाबुराम भट्टराई

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २१,

मुलुकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले माओवादीका धारका सबै पार्टी नयाँ ढङ्गबाट पुनः एक हुनुपर्ने बताएका छन् । आज काठमाण्डाैमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले भने “हामीले आफना कमीकमजोरीलाई छोडेर राम्रा पक्षसहित एकता कायम गर्नुपर्छ । त्यसका लागि छलफल र समीक्षा गरौँ । माओवादीहरू नयाँ ढङ्गबाट एक हुन हुनुपर्छ । ” उनले मिल्न सक्नेबीच एकता गर्नुअघि मोर्चा बनाएर छलफल गर्नुपर्नेमा जोड दिए । उनले माओवादीबीच एकता हुन नसक्दा यसअघि नै धेरै कुरा गुमाउन परेको गुनासोसमेत गरे । “पहिलो संविधानसभाबाट संविधान बनाएर जान सकेको भए योभन्दा राम्रो संविधान, सेना समायोजन र सहिद तथा बेपत्ता पारिएकासम्बन्धी आयोगको काम समयमै सम्पन्न हुने थियो । तर अभागीलाई खानेबेला रिस उठ्छ भने जस्तै हामीलाई रिस उठ्यो त्यो बेला, हामीबीच एकता हुन सकेन”, उनले भने। नेतृत्व मोहका कारण राजनीतिमा पुस्तान्तरण हुन नसकेको उनको भनाइ थियो । अध्यक्ष भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मुद्दा लगाउनु माओवादीलाई आक्रमण गर्न खोज्नु र गिज्याउनु भएको अभिव्यक्ति दिए । “बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोज्या हैन ?” उनले भने । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदको बलिदानको कदर हुन नसक्नु दुःखद भएको बताए । “देशको अवस्था परिवर्तन हुन नसके, सहिदहरूको बलिदानको सम्मान हुन नसके फेरि अर्को क्रान्ति अगाडि बढ्नेछ ।” उनले भने । नेकपा (माओवादी केन्द्र समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकीले सहिदहरूको सपना कसैले बिर्सन नहुने भन्दै आफूहरू क्रान्तिका बेला क्रान्तिकारी र सत्तामा पुगेपछि सामान्ती भएको टिप्पणी गरे । नेपाल बहुमत पार्टीका संयोजक धमेन्द्र बास्तोला कन्चनले क्रान्तिले राज्य व्यवस्थामा अझै परिवर्तन ल्याउन नसक्नु दुःखद भएको गुनासो गरे । उनले, “अहिले कमीकमजोरी स्वीकार गरिरहनुभएका नेताले त्यसबेला समीक्षा गर्न नसक्दा घटेको घटना अहिले घट्न दिनुहुँदैन ।” माओवादी धारका विभिन्न पार्टीका नेता उपस्थित कार्यक्रममा सहिद तथा बेपत्ताका योद्धा सन्तति फाउन्डेसनका सदस्यहरूले माओवादीहरू एक भएर अघि बढ्न सुझाव दिएका थिए । बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष एकराज भण्डारीले सबै धारका माओवादी एक हुनपर्ने सुझाव दिँदै भने “हामी सहिद तथा बेपत्ता पारिएका व्यक्तिको परिवारको नेतृत्वसँग आशा, अपेक्षासँगै आशङ्का र असन्तुष्टि पनि छन् । माओवादी तपाईंहरू व्यक्तिगत होइन, जनयुद्ध हो र एउटा टिम हो । तपाईंहरू सबै एक ठाँउमा उभिनुस् र एक ठाँउमा बस्नुस् हामी आग्रह गर्छौं ।”

Like