अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

राष्ट्रपतिमा माधव कुमार नेपाललाई ओलीको प्रस्ताव

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन ८,

मुलुकमा राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका बेला सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उक्त भेटमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा करिब डेढ घण्टा संवाद चलेको हो। एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गरेका छन्। ती पदाधिकारीका अनुसार यसो गर्दा पार्टी एकता पनि हुन्छ र कांग्रेससँग संसदमा हैसियत बराबर हुन्छ। संविधानको धारा ७६ (३) मा जान सजिलो गराउँछ। प्रतिनिधिसभामा एमालेका ७९ र कांग्रेसका ८९ सांसद छन्। एकीकृत समाजवादीका १० जना एमालेमा थपिँदा कांग्रेससँग बराबर हुन्छ। कांग्रेसलाई राष्ट्रपति दिनुभन्दा नेपाललाई बनाउनु उपयुक्त हुने निष्कर्षसहित ओलीले यो प्रस्ताव राखेको स्रोतको दाबी छ। ‘रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाभन्दा माधवकुमार नेपाल नै राम्रो नि !’, एमालेका एक पदाधिकारीले भने। पार्टी एकतासहित ओलीले गरेको प्रस्तावमा नेपाल सकारात्मक रहेको स्रोतको भनाइ छ। ती स्रोतका अनुसार नेपाल राष्ट्रिय सहमतिमा आफू राष्ट्रपति बन्न तयार छन्। जसका लागि एमाले र माओवादीको प्रस्ताव र कांग्रेसको समर्थन हुनुपर्ने उनको अडान छ। एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको पुष्टि गरे। एमालेबाट पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव आएको कुरा भने नभएको खतिवडाले भने बताए। उनका अनुसार दुई नेताबीच समसामयिक विषयमा छलफल भएको हो। ‘पार्टी एकता यत्तिकै हुने कुरा पनि होइन। पार्टी एकताजस्तो विषय दुई नेताबाट टुंगिने कुरा होइन। आम कार्यकर्ताको भावनाअनुसार मात्रै हुन्छ’, उनले भने। ‘प्रचण्ड (माओवादी अध्यक्ष एवं प्रधानमन्त्री) कांग्रेसलाई राष्ट्रपति बनाउने जोडमा हुनुहुन्छ’, उनले भने, ‘दुई नेता (ओली र नेपाल)को भेटमा यस्तो कुराकानी भएको छैन। विचार आदानप्रदान भएको छ।’ नेपालले २०७८ भदौ २ मा एमाले फुटाएर एकीकृत समाजवादी बनाएका थिए। ओली र नेपालबीच लामो समयदेखि कटुता रहँदै आएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल पुस १० को सहमतिबाट टाढिँदै कांग्रेससँग नजिक हुन थालेपछि ओली र नेपालबीच भेटवार्ता भएको हो। उनीहरूबीच वाम गठबन्धनबाट राष्ट्रपति बाहिर जान दिन नहुने विषयमा छलफल भएको छ। माओवादीले पदाधिकारी बैठक नै बसाएर स्वार्थ मिल्नेसँग राष्ट्रपति निर्वाचन सहकार्य हुने निर्णय गरेको छ। राष्ट्रपति निर्वाचनको विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ। उसले कांग्रेस वा एमाले कसको प्रस्तावको पक्षमा लाग्ने भन्ने निर्णय भने गरेको छैन। नेपाल र दाहालबीच पनि सोमबार नै भेट भएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवासहित नेतासँग आइतबार साँझ दाहालको भेट भएको थियो। उनले कांग्रेस नेतासँग पनि एमालेले नेपालको नाम प्रस्ताव गर्न सक्ने संकेत गरेका थिए। एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले ओली र नेपालबीचको भेट अर्थपूर्ण रहेको बताए। यद्यपि उक्त भेटघाटबारे उनले अनभिज्ञता जनाए। दुई वामपन्थी नेताबीच भेटघाट हुनु सकारात्मक भएको गुरुङले बताए। ‘जे जति खेल भए पनि १० गतेको सहमति आजसम्म भत्किएको छैन’, उनले भने, ‘त्यो सहमतिअनुसार एमालेकै प्रस्तावित उम्मेदवार राष्ट्रपति हुन्छन्।’ नेपाल सोमबार साँझ ७ः४१ बजे उडानबाट भैरहवा पुगेको स्रोतले जनाएको छ। नेपाल राति ८ः१२ बजे भैरहवा अवतरण गरेर वार्तास्थलमा पुगेका छन्। ती स्रोतका अनुसार दुवै पक्षबीच वार्ता भएको छ। छिट्टै पार्टी एकताको घोषणा हुने र राष्ट्रपतिमा एमालेका तर्फबाट नेपाल उम्मेदवार बन्ने उनको दाबी छ। एस पार्टीका नेता मेटमणि चौधरीसहित भैरहवा पुगेका छन्। सभामुख देवराज घिमिरे, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि भैरहवा नै पुगेका छन्।

Like