सांस्कृतिक एवं सम्पदालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न माग, तराई मधेसको धार्मिक अभियान

Share to:

रासंसा/रौतहट, फाल्गुन, ७,

मुलुकमा आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले तराई मधेसको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न सरकारसंग माग गरेका छन् । मौलापुर स्थित महादेव मन्दिर, बाराको गढीमाई मन्दिर, जनकपुरधामको जानकी मन्दिर लगायतका धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न उनले सरकारसंग माग गरे । रौतहटको मौलापुर नगरपालिका–५, पतौरास्थित पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा मौलापुर नगरपालिकाद्धारा आयोजित मधानी महायज्ञलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका आजपा अध्यक्ष साहले यस्तो माग गरेका हुन् । विगतको सरकारले मधेसका यि ऐतिहासि सम्पदालाई विश्वसम्पदा सूचीमा सूचिकृत नगरेकोमा उनले आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसंग उनले यि सम्पदाको विकासका साथै विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह समेत गरेका छन् । बर्षौ पुरानो मधेसका धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक धार्मिक केन्द्रको विकासका लागि सरकारले ध्यान दिनुपर्ने भए पनि त्यस्तो नदेखिएको गुनासो उनले गरे । आउँने दिनमा नेपाली जनताको साथ र सहयोगमा यि सम्पदालाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्नका लागि आफू लाग्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । ‘मधेससंग विभेद किन ? किन सरकारले पतौराको महादेव मन्दिर, वाराको गढीमाई मन्दिर, जनकपुरधामको जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्दैन् ?’ आजपा अध्यक्ष साहले भने, ‘यो ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक सम्पदालाई यथासिघ्र विश्वसम्पदा सूचीमा सूचिकृत गर्न म सरकारसंग हार्दिक अनुरोध गर्दछु ।’ मधानी महायज्ञको शुक्रबार उदघाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले मौलापुर स्थित पुरातात्विक महादेव मंदिर, गढीमाई मन्दिर, जानकी मन्दिर लगायतका धार्मिक सम्पदालाई विश्वसम्पदा सुचीमा सुचीकृत गराउन सिफारिसका साथ पूर्ण प्रयास गर्ने बताए । मधानी महोत्सवको उदघाटन पछि आयोजीत समारोहमा नेपालमा धार्मिक प्राकृतिक पर्यटन गन्तव्य को रूपमा विकास गर्नुपर्ने सुझाव समेत उनले दिए । कार्यक्रममा मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र, सभामुख रामचन्द्र मण्डल, उद्योग, पर्यटन तथा बन मन्त्री सुनिता यादव लगायतको मधानी महायज्ञमा विशेष उपस्थिति रहेको थियो । त्यसको लागि संघ, प्रदेश, स्थानीय सरकार र पर्यटन व्यवसायी बीच हातेमालो जरुरी छ । मौलापुर पतौरा स्थित पुरातात्विक महादेव मन्दिर देशको १०० गन्तव्य मध्ये एक रहेको बताउँदै उपराष्ट्रपति पुनले विश्वसम्पदा सुचीमा स्वीकृत गराउन भूमिका खेल्ने बताए । धार्मिक पर्यटन विकासको निमित मौलापुर नगरपालिकाको सराहना गर्दै महादेव मन्दीर लाई विश्वसम्पदा सुचीमा राख्न आफूले कुटनीतिक पहल र व्यक्तिगत प्रयास गर्ने प्रतिवद्धता जनाएका छन । कार्यक्रममा नेपाल र भारतका बिभिन्न कलाकारको सहभागिता रहेको छ । भोजपुरी कलाकार पवन सिंह, कालज राघवानी, इन्दु सोनाली, आश्विनी शाही, नेपाली कलाकार भुवन केसी संतोषराज सहनी लगायतको विशेष प्रस्तुती रहेको थियो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा प्रत्येक बर्ष मधानी महायज्ञको आयोजना गर्दै आएको छ । मधानी महायज्ञ यस वर्ष पनि फागुन ५ गतेदेखि ७ गतेसम्म आयोजना हुने भएको छ । फागुन ७ गते भने नेपालको चर्चित कुस्ती खेलाडी देवा थापासहित नेपाल र भारतका चर्चित पहलमानहरुको सहभागितामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुदैछ । यसका साथै फागुन ५ देखि लगातार तीन दिन बेलुका शिवलिला प्रदर्शन समेत जारीछ । सरकारले घोषणा गरेको देशमा थप नयाँ सय पर्यटकीय गन्तव्यमा उक्त मन्दिर छनोटमा परेको छ । २०७६ साल देखि मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको छ । २०७६ सालमा राष्ट्रपति विद्यादेवी भण्डारी, २०७७ सालमा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल, २०७८ सालमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा मधानी महायज्ञ आयोजना गरिएको थियो । मौलापुर नगरपालिकाकी मेयर रिना साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै यस क्षेत्रको विशेष अनुष्ठान मधानीले विश्वस्तरमा चर्चा पाएको बताइन् । उनले पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचिकृत गर्नका लागि आफु निरन्तर प्रयत्नरत रहेको बताईन ।

Like