किन हुन सकिरहेको छैन, सहमति प्रचण्ड र ओलीबीच २३ पटक वार्ता

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन ७,

मुलुकमा पुस ११ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भए यता प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पटक–पटक वार्ता भएका छन् । तर सबैभन्दा पेचिलो बनेको राष्ट्रपतिको निर्वाचनको विषयमा हालसम्म दुई जनाको बीचमा निर्णायक वार्ता भएको छैन । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार दुवै पक्ष आआफ्नो अडानमा रहेको कारण सहमति नबनेको हो । दुवै जनाको बीचमा सहमति भएपछि मात्र निर्णायक छलफलका लागि बस्ने उनले बताए । उनले भने, ‘कुनै विषयमा कुरा फरक भएपछि यसरी नै दुई पक्षमा पटक पटक छलफल हुन्छ र अन्त्यमा गएर निर्णायक वार्ता हुने गरेको छ । दुवै जनाको बीचमा विभिन्न कोणबाट छलफल चलिरहेको छ, कुरा मिलेपछि निर्णायक वार्ता गरेर त्यसलाई टुङ्ग्याइने छ ।’ पुस १० देखि फागुन ५ गतेसम्म प्रचण्ड र ओलीबीच वान टु वान २३ पटक भेटघाट भएका छन् तर ती वार्ताले कुनै निष्कर्ष निकाल्न सकेको छैन । राष्ट्रपतिको विषयलाई लिएर गठबन्धनमा विवाद उत्पन्न भएपछि उनीहरूको बीचमा एक दुई दिन बिराएर छलफल हुने गरेको छ । कहिले बालुवाटार त कहिले बालकोट त कहिले खुमलटारमा उनीहरूको बीचमा वार्ता र छलफल भएका छन् तर सहमति भने भइरहेको छैन । पुस १० गते माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने सहमति भएपछि राष्ट्रपति एमालेको भागमा परेको सो पार्टीका नेताहरूको दाबी छ । प्रधानमन्त्री र सभामुख आधा आधा कार्यकाल दुवै पार्टीले लिने र राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्र तथा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति भएको एमालेका नेताहरूले दाबी गरिरहेका छन् तर माओवादी केन्द्रका नेताहरूले भने राष्ट्रपतिको विषयमा त्यस्तो कुनै सहमति नभएको भन्दै आएका छन् । राष्ट्रपति कांग्रेसलाई दिने माओवादी र कांग्रेसबीच लगभग सहमति भइसकेको कांग्रेस नेताहरु दाबी गर्छन् । राष्ट्रपति पाउनेमा लगभग कांग्रेस ढुक्क देखिन्छ । राष्ट्रपतिका लागि कांग्रेसले तयारी गरिरहेको देख्दा एमाले सशङ्कित बनेको छ । त्यही भएर पार्टी अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई विश्वासमा लिनका लागि पटक–पटक बालुवाटार गएर छलफल गरेका छन् । तर प्रधानमन्त्री प्रचण्ड पनि एमालेलाई राष्ट्रपतिमा ‘राष्ट्रिय सहमति’ को आफ्नो अडानमा सहमत गराउन चाहन्छन् । तर अध्यक्ष ओली टसमस भइरहेका छैनन् । एमालेका अध्यक्ष ओलीले पुस १० को सहमति सम्झाइरहेका छन् भने प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाऔँ भन्दै प्रस्ताव गरेका छन् । दुवै जना आ–आफ्नो अडानमा भएपछि विवाद बढ्दै गएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा कांग्रेसबाट पनि विश्वासको मत लिएपछि सत्ता गठबन्धनमा समस्या देखिन सुरु भएको हो । हिजो भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रपतिका लागि दलहरूसँग छलफल गर्न लागेकाले त्यसमा सहयोग गर्न ओलीसँग आग्रह गरेका थिए तर अध्यक्ष ओलीले एमाले पुस १० गतेको सहमतिमा कायम रहेको भन्ने जवाफ दिएका थिए । ‘एमाले राष्ट्रिय सहमति (प्रमुख दलहरू)बाट डराउनु हुँदैन । हुनसक्छ राष्ट्रिय सहमति गर्दा राष्ट्रपति सोही दलले पाउँछ कि ? तर एमालेलाई आफैँमाथि विश्वास नरहेको देखियो,’ उनले भने । सचिव पोखरेलले राष्ट्रिय सहमतिका लागि बैठक बस्दा अन्य दलहरूले एमालेलाई समर्थन नगर्न सक्छ भन्ने सो पार्टीमा आशङ्का रहेको कारण माओवादी केन्द्रसँग मात्र बार्गेनिङ गरिरहेको बताए । माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले निर्णायक वार्ता नहुनुमा दलहरूको आ–आफ्नो अडानमा कायम रहनु नै भएको बताए । ‘सहमतिका लागि दुईजना अध्यक्षको बीचमा प्रयास हुँदैछ, सहमति भएपछि निर्णायक वार्ता हुन्छ । सहमति नै नभएपछि निर्णायक वार्ता सम्भव छैन,’ भन्दै उनले माओवादी केन्द्र राष्ट्रपतिको लागि राष्ट्रिय सहमतिको पक्षमा रहेको तर एमालेले आफूले नै पाउनुपर्ने अडानमा रहेको कारण कुरा नमिलेको जिकिर गरे । तर एमालेका सचिव योगेश भट्टराईले भने राष्ट्रिय सहमतिका लागि एमाले नडराएको बताए । ‘एमाले पनि राष्ट्रिय सहमति गर्न तयार छ । तर सत्ता गठबन्धनभित्रै खोज्नुपर्छ । त्यसमा काँग्रेसलाई ल्याएर हुँदैन । सहमतिको कुरा गर्ने अनि त्यसमा कांग्रेसलाई पनि छिराउने काम प्रचण्डजीले गरिरहनुभएको छ । कुरा त्यहाँ नै बिग्रेको हो ।’ अहिलेको सत्ता गठबन्धनभित्रबाट नै राष्ट्रपति बन्नुपर्छ र त्यसमा अध्यक्ष प्रचण्डले काँग्रेसको पनि समर्थन लिनुभयो भने झन् राम्रो भन्दै उनले गठबन्धन बाहिरका दल काँग्रेस वा अन्य कुनै दललाई राष्ट्रपति दिन नहुने उनले बताए । सत्ता गठबन्धनका मुख्य दुई दलका अध्यक्षबीच प्रारम्भिक छलफल भइरहेको र उनीहरू सहमतिको नजिक पुगिसकेको पनि उनको भनाई छ । उनले १२–१३ गते निर्णायक वार्ता हुने र त्यसअघि नै दुवै दलको बीचमा सहमति पनि हुने दाबी गरे । राष्ट्रपतिको विषयमा माओवादी र एमालेबीच सहमति भइसकेको बताउँदै उनले एमालेले राष्ट्रपति पाउने भनेर माओवादीसँग सहमति नै भइसकेको दाबी गरे । उनले भने– ‘उहाँ (प्रचण्ड) आफैँले राष्ट्रपति लिनुस् भनेर दिन आएकाले अहिले पनि राष्ट्रपति एमालेकै हुन्छ ।’

Like