३० करोड लागतको अर्को खानेपानी आयोजना उदयपुरमा
रासंसा/उदयपुर, फाल्गुन ७,
मुलुकमा गाईघाट बासीलाई लक्षित गर्दै उदयपुरमा अर्को खानेपानी आयोजना निर्माण सुरु भएको छ। गाईघाट बजार समेटिएको त्रियुगा नगरपालिका ११, १२ र छिमेकी वडा १३ मा बसोबास गर्नेहरूलाई लक्षित गरी ३० करोड बढी लागतको आयोजना निर्माण सुरु भएको हो। आयोजनाको काम आउँदो ०८१ माघ १ गतेभित्र सम्पन्न गर्ने गरी एम/एस सागर मल्टी टेक जेवी बुढानीलकण्ठ काठमाडौँले ठेक्का लिएको छ। अध्यक्ष बस्नेतका अनुसार एउटा ट्रीटमेन्ट प्लान्ट (प्रेसर फिल्टर), ५ वटा फायर हाईड्रान्ट, एउटा कार्यालय भवन, एउटा पम्प हाउस र २ वटा डिप ट्युब वेल निर्माण गर्नुपर्ने इस्टीमेट रहेको छ। बरुवा खोलाको बाबरीमा मुहान थापेर खोला किनारमा बनाइने समपवेलको पानी मुख्य ट्यांकीमा तानेर १ सय ५ किलोमिटर ५७ मिटर पाइपलाइन बतिरणको काम गर्नुपर्ने उनले बताए। प्रस्तावित ‘गाईघाट खानेपानी आयोजना’ उपभोक्ता समितिका अध्यक्ष प्रकाशकुमार बस्नेतका अनुसार ३० करोडभन्दा बढीको प्राविधिक इस्टीमेट भए पनि पहिलो चरणमा मूल्य अभिवृद्धि कर (भ्याट) सहित १७ करोड ९ लाख ८४ हजार १ सय ४६ रुपैँया ३८ पैसाको ठेक्का लागेको छ। गएको पुस १८ गते नै सम्झौता भईसकेको आयोजनाको काम माघ २ गतेदेखि सुरु भएको भए पनि शुक्रबार मात्र औपचारिक सिल्यान्यास गरिएको अध्यक्ष बस्नेतले बताए। समितिका सचिव विष्णु कोईरालाले आयोजना अन्तर्गत ११ नं. वडाको गाईघाट बजार, पिजी चोक, प्रगति टोल, असारी लाइन, संगम टोल, शिवालय टोल, साकेला थान क्षेत्रमा सुद्ध खानेपानी सेवा पुर्याउने लक्ष्य लिइएको बताए। उनका अनुसार त्यसैगरी १२ नं. वडाको प्रतिभा टोल, , १२ नं. को पुरानो गाईघाट, सुम्निमा चोक, फुलचोक, सगरमाथा टोल, शनि मन्दिर क्षेत्र, डिएमगेट, नयाँ बसपार्कलगायत क्षेत्रबासीलाई खानेपानी उपलब्ध गराउने लक्ष्य छ। त्रियुगाकै १३ नं. वडाका हवाई फिल्ड, पूर्वपश्चिम बरुवा बसपार्क, गोजीपोखरी, खैजनपुर, असारी, भुसुने, किरात चोक, दनुवारी चोक, पोर्ताहा, लक्ष्मीपुरलागयत क्षेत्रलाई पानीको व्यवस्था गर्ने प्राविधिक इसटीमेट रहेको पनि सचिव कोईरालाले बताए। सिल्यान्यास कार्यक्रममा बोल्दै मेयर बस्नेतले गाईघाट सदरमुकामको बजार भएकाले दिनदिनै जनघनत्व बढ्दो क्रममा रहेको भन्दै भविष्यमा खानेपानीको समस्या आउन नदिन यो आयोजना महत्त्वपूर्ण हुने बताए। उनले हाल चालु त्रियुगा साना सहरी खानेपानी आयोजनाको पानी सीमित भएकाले १०, ९ र ८ नं. वाडबासीलाई खुवाउँदै ठिक्क हुने हुँदा बजारबासीका लागि अर्को योजनाको सुरुवात गर्न नगरपालिकाले पनि सहयोग गरेको बताए। प्रदेश सरकार, खानेपानी तथा ढल व्यवस्थापन आयोजना बिराटनगरको रेखदेखमा निर्माण हुने आयोजनाले प्रारम्भिक चरणमा ३ हजार ८ सय ४८ घरधुरीका २५ हजार हाराहारी उपभोक्तालाई सुद्ध खानेपानी उपभोग गराउने जनाइएको छ। आयोजनाको शुक्रबार आयोजित एक कार्यक्रमका बिच त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले सिल्यान्यास गरे। सदरमुकामबासीलाई लक्षित गरी ०५३ सालदेखि निर्माण सुरु भएर सञ्चालनमा आएको त्रियुगा साना सहरी खानेपानी योजनाले नगरपालिकाका १०, ९ र ८ नं. वडाबासीलाई खानेपानी उपभोग गराउँदै आएको छ। ११ नं. वडामा पर्ने गाईघाटका सीमित उपभोक्ताले धारा जडान गरेको भए पनि पर्याप्त रुपमा पानी नआउने भएकाले अधिकतर उपभोक्ता कल (भूमिगत) को पानी खाँदै आएका छन्। बरुवा खोलाकै मुहानबाट सञ्चालित साना सहरी खानेपानी योजनाबाट १ हजार २ सयभन्दा बढी उपभोक्ता लाभान्वित भई रहेका छन्। उपमेयर राईले नगरबासीले सुद्ध खानेपानी पाउनु नैसर्गिक अधिकार भएको भन्दै त्यसको व्यवस्था गर्न नगरपालिकाले सक्दो भूमिका खेलिरहेको बत्ताइन्। उनले आयोजना सञ्चालनका लागि सहभागिता शूल्कवापत लाग्ने १ प्रतिशतले हुन आउने ३० लाख रकम नगरपालिकाले बेहोरिदिएको बत्ताइन्। आयोजना समयमै सकेर नगरबासीलाई स्वच्छ खानेपानी उपभोग गराउन निर्माण कम्पनी र उपभोक्ता समितिलाई आग्रह गर्दै उपमेयर राईले नगरपालिकाको तर्फबाट हुने कुनै पनि सहयोगका लागि तत्पर रहेको बत्ताइन्।