चन्द्र भण्डारी खतरामुक्त, स्वास्थ्य अवस्था सामान्य बन्दै
रासंसा/काठमाण्डौ, फाल्गुन ७,
मुलुकमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी खतरामुक्त रहेका छन्। भण्डारीका सहयोगी योगराज शर्मा कँडेलले भण्डारीलाई धरै नै सुधार देखिएकोले सोमबार भेन्टिलेटरबाट हटाउने योजना रहेको बताए। उनले सामाजिक संजालमार्फत् भनेका छन्, ‘मुख र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएकोले हाललाई तुरून्तै अर्को सर्जरी गर्न नपर्ने भएको छ।’ भण्डारीको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो। नेता डा भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत मुम्बइमा थप उपचारका लागि लगिएको थियो। बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घट्नालगत्तै दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो।