आखिर के हो सांसद कोइरीमाथिको अभियोग ?
रासंसा/धनुषा, माघ ११,
मुलुकमा एमाले सांसद लक्ष्मी महतो कोइरीप्रति सरकारमात्र होइन, अदालत पनि उदार बनेको छ । आन्दोलनकारीको कुटपिटबाट घाइते प्रहरी असई थमन विकलाई एम्बुलेन्सबाट निकालेर खेतमा लखेटी–लखेटी मारेको अभियोग लागेका महतोको मुद्दाको पेसी २३ पटक सरेको छ । यहीबीचमा फरार सूचीमा रहेका उनी चुनाव जितेर संसद् आइपुगेका छन् । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा दरबन्दी भएका ३८ वर्षीय असई थमन जलेश्वरमा कार्यरत थिए । मधेसमा आन्दोलन जारी रहेकाले वस्तुस्थिति बुझ्न आदेश भएअनुसार उनी भदौ २५ बिहान ८ः३० जलेश्वर बजारतर्फ गएका थिए । तर, बजारमा जम्मा भएको भीड थमनमाथि जाई लागेको थियो । ०७२ मा जारी हुन लागेको संविधानका विषयवस्तुमा असहमत हुँदै मधेसमा आन्दोलन भइरहेको थियो । आन्दोलन नियन्त्रण गर्न प्रशासनले जिल्ला–जिल्लामा कर्फ्यु पनि लगाएको थियो । यहीबीच भदौ २५ मा जलेश्वर चोकमा भीडको घेराउमा परेका थमनलाई कुटपिट गरिएको थियो । उनलाई उपचारका लागि जनकपुर लग्दै गर्दा झन् ठूलो समूहले घेरेर खेतमै हत्या गरेको थियो । स्थानीय रमेशप्रसाद साहको ‘आदेश’ मा १५ जनाको समूहले जलेश्वर चोकमा असई थमनमाथि आक्रमण गरेको थियो । यो समूहमा सञ्जयकुमार साह, प्रदीप साह माझी, नरेश साह, सतिनन्द चौधरी, चन्देश्वर साह मेहतरी, राजा चौधरी, देवेन्द्र चौधरी, बिकी साह, रामराजा साह, गोलु साह, हरिओम कुमार भगत, रवीन्द्र राम चमार, रजित साह, शम्भु साह, अनिल ठाकुरसमेत रहेको भन्दै अदालतमा मुद्दा परेको छ । थमनको थप उपचारका लागि यूएन–६६१–१२३५ नम्बरको एम्बुलेन्समा राखी हिँडाइएको थियो । एम्बुलेन्समा चालक सुशील मिश्र, अस्पतालका कर्मचारी सियाराम पासवान, चिया पसले पप्पुकुमार साह र प्रहरी जवान राजकुमार झा थिए । जिल्ला अदालतमा प्रस्तुत झाको बयानमा भनिएको छ, ‘त्यो दिन म ड्युटीमा जान तयार हुँदै थिएँ, त्यत्तिकैमा असई थमन विकलाई जलेश्वर चोकमा भीडले कुटपिट गरी गम्भीर घाइते बनाएकामा जलेश्वरमा उपचार नहुने भयो, जनकपुर लग्नुपर्ने भएकाले कुरुवा बस्न तिमी सीमित कपडा लगाएर जाऊ भनेर हवल्दार मेजर कुलबहादुर मेचेले आदेश दिनुभयो,’ राजकुमारले बयानमा भनेका छन्, ‘म सिभिल कपडामा तयार भएँ, बिहान अन्दाजी ११ः०० बजेतिर हामी जनकपुरतर्फ हिँडेका हौं ।’ भीडको घेराउमा परेका थमनमाथि लाठी, भाटा प्रहार हुँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो, बजार सुरक्षामा खटिएको प्रहरी टोलीले उनलाई बचाएर तुरुन्तै जिल्ला अस्पताल पुर्याएको थियो । टाउकामा १८ टाँका लगाएपछि डाक्टरले स्थिति गम्भीर रहेकाले यथाशीघ्र जनकपुर ‘रिफर’ गरेका थिए । घाइते बोकेको एम्बुलेन्स दिउँसो १:०० बजे जलेश्वरबाट जनकपुरतर्फ लागेको थियो । तर तीनवटा मोटरसाइकलमा उनीहरूलाई पिछा गरिएको प्रहरीको भनाइ छ । एम्बुलेन्स सनोखडाको कल्भर्टसम्म पुगेको थियो । ‘ह्युमपाइपको बाटो खोलाले बगाएकाले एम्बुलेन्स काठको पुलबाट अगाडि जान सकेन । त्यहीबेला मोटरसाइकलमा पिछा गरिरहेको समूह नजिक आएको देखेपछि एम्बुलेन्स चालक र उनका सहयोगी सियाराम पासवान अगाडितर्फ भागे,’ प्रहरी जवान झाले बयान दिएका छन् । झा र साह मिलेर थमनलाई एम्बुलेन्सबाट निकाली पूर्वउत्तरतर्फ धान खेतको आली हुँदै भगाउन खोजेका थिए । तर, दगुर्न नसकेपछि थमन भीडको घेराभित्र परेको उनको भनाइ छ, ‘पुलिस भाग्यो, समात्, मार भनी होहल्ला भएपछि सबैतिरबाट मानिसहरू पनि जम्मा भए । उनीहरूले खुर्पी, लाठी, भाटा, बोतल प्रहार गरिरहेका थिए ।’ यता, हातहातमा बियरका बोतल बोकी मोरटसाइलकमा आएको समूहले होहल्ला गर्दै मान्छे जम्मा गरेको चिया पसले पप्पु साहको भनाइ छ । ‘आन्दोलनकारीलाई गोली हानी मारेर प्रहरी भाग्दै छ, समात्–समात् भनेपछि खेतमा काम गरिरहेका मान्छेहरू पनि दौडदै आए,’ पप्पुले विवरण दिएका छन् । गुहार माग्दै आफूले एक जनालाई समोतेको र संयोगले उनी पूर्वअसई रहेकाले आफ्नो संरक्षण गरेको झाको भनाइ छ । ‘कसैले पनि कुटपिट नगर, नमार भन्दै उहाँले मलाई आफ्नो घर लग्नुभयो । मलाई एउटा सर्ट लगाइदिएर घर पछाडिको बाटोबाट भगाउनुभयो, अर्को घरमा करिब दुई घण्टा बसी अन्दाजी ४ बजेतिर धान खेत हुँदै बाटोमा निस्किएँ,’ उनले भनेका छन् । एम्बुलेन्स चालक सुशील मिश्रको बयान पनि अदालतमा दर्ज भएको छ । ‘प्रकौली चोकमा पुग्दा त्यहाँ सय/डेढ सय मानिस जम्मा भएको देखेपछि मैले एम्बुलेन्सलाई स्पिडमा अगाडि लगें । त्यहाँबाट ३ वटा मोटरसाइकलमा मानिसहरूले हाम्रो पिछा गर्न थाले । कल्भर्टमा एम्बुलेन्स पास हुन्छ/हुन्न भनी सडकमा रोकी हेर्दा ३ वटा मोटरसाइकलमा पिछा गर्दै आएका मानिसहरूले हल्ला गर्दै पूरा खेतमा काम गर्ने मानिसहरू जम्मा गर्न लागे, त्यसले म भागेको हुँ,’ उनले बयान दिएका छन् । थप बयानमा प्रहरी जवान झाले भनेका छन्, ‘एक जना महिलालाई मैले जलेश्वर जाने बाटो सोधेको थिएँ, उनले घटना विवरण थाहा पाएपछि बाटोमा खतरा छ भन्दै आफ्नो घरमा लगिन्, फुसको घरमा लगेर मलाई खाना दिइन्, उनका दुई भाइ छोराले आफ्नो मोबाइलबाट मलाई मेरो बुबासँग कुरा गर्न दिए, बुबाले पथलैया बाहिनीका डीआईजी साबलाई फोन गरिदिनुभयो ।’ ती महिलाका छोराहरूले नै स्थानीय स्कुलसम्म पुर्याइदिएको र त्यहाँ पुगेको प्रहरी टोलीले आफ्नो उद्धार गरेको झाको भनाइ छ । जिल्ला अस्पताल जलेश्वरमा १० वर्षदेखि कार्यालय सहयोगी पदमा अस्थायी जागिर गर्दै आएका सियाराम पासवानले पनि एम्बुलेन्समा घेराबन्दी भएपछि ज्यान जोगाउन आफू भागेको बताएका छन् । राति घर पुग्दा घाइते असई थमन विकलाई कुटेर मारिएको थाहा पाएको बयान उनले दिएका छन् । उनले पनि यो भीडमा लक्ष्मी महतोसमेत भएको बताएका छन् । भाग्न सकेकाले झा, पासवान र मिश्रको उद्धार सम्भव भयो । तर, घाइते थमन भने भाग्न सकेनन् । ‘उनलाई खुर्पी, लाठी, भाटा, बोतलले हानेर मारिएको हो, एम्बुलेन्समा पनि आगो लगाइएको हो,’ झाको भनाइ छ । यस्तो कसुर गर्नेमा अन्य अभियुक्तसहित लक्ष्मी महतो कोइरीसमेत रहेको झाले बयान दिएका छन् । थमनको शव नजिकै खेतमा प्रहरीले जुत्ता, चप्पल, पैतालाको डाम र संघर्षका चिह्न भेटेको थियो । हूलको नेतृत्व गर्दै आएका लक्ष्मी महतो, कौशलकुमार यादव, अभिराम शर्मा, सञ्जयकुमार साह, प्रदीप साह माझीलाई प्रहरीले पहिचान गरेको छ । त्यस्तै उनीहरूलाई नरेश साह, रमेशप्रसाद साह, सतिनन्द चौधरी, चन्देश्वर साह मेहतरी, राजा चौधरी, देवेन्द्र चौधरी, बिकी साह, हरिओम कुमार भगत, रवीन्द्र राम चमार, फुले यादव, पवन कापड, रोहितकुमार शर्माले साथ दिएको अनुसन्धानमा देखिएको छ । घटनाको दिन बिहान जलेश्वर चोकमा असई थमनमाथि आक्रमणको नेतृत्व गर्ने सञ्जयकुमार साहले प्रहरीमा दिएको बयानमा प्रहरी कारबाहीको बदला लिन हत्याको योजना बनाएको बताएका छन् । ‘आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ढुंगामुढा गर्दा सुरक्षा फौजले गोली चलाउँदा ४ जनाको मृत्यु भएको हो, अब प्रहरीलाई एक्लैदुक्लै भेट्टाएमा कुटपिट गरी मार्ने सोच बनाएका थियौं । त्यही क्रममा थमन विकलाई हामीले आक्रमण गरेका हौं,’ उनले बयान दिएका छन् । यही घटनामा प्रत्यक्ष संलग्न लालवा बिन भन्ने लालबाबु बिन, शम्भु साह, अनिल ठाकुर, देवेन्द्र यादव, मोहन ठाकुर, धर्मेन्द्र राय, शंकर साही भन्ने रामशंकर मिश्र, सुरेश पाण्डेविरुद्ध अदालतमा मुद्दा छ । ‘आन्दोलनकारी मारी प्रहरी भागिरहेको छ भन्दै सर्वसाधारणलाई उत्तेजित बनाई भीड जम्मा गरी एम्बुलेन्स घेरा हालिएको हो, एम्बुलेन्समा भएका अरू भाग्न सफल भए पनि घाइते असई थमन भाग्न नसकेकाले धानको खेतमा लखेटी–लखेटी लाठी, भाटा, बोतललगायतका धारिलो हतियारसमेतले प्रहार गरेर मारेको वारदात पुष्टि भएको छ,’ अभियोजनमा भनिएको छ । १९/२० जनाको समूहले आक्रमण गर्दा पनि तत्कालै आएको प्रहरी समूहले बचाएर लगेको तर त्यसपछि पनि आफूहरूले लगातार पिछा गरेको बयान उनले दिएका छन् । ‘जसरी पनि प्रहरीसँग बदला लिनुपर्छ भन्दै हामी अस्पताल वरिपरि बसेका थियौं, तर एम्बुलेन्समा राखी जनकपुर लग्न लागेको थाहा पाएपछि मोबाइलबाट खबर गरी अरू मान्छेलाई जम्मा गरेका हौं,’ उनले भनेका छन्, ‘पिछा गर्दै जाँदा कल्भर्टबाट एम्बुलेन्स अगाडि जान नसकेपछि चालक भाग्न थाल्यो । थमन विकलाई पनि धानखेत हुँदै भाग्दै गरेको अवस्थामा घेराउ गरेका हौं । यो समूहमा लक्ष्मी महतोसहित २० जना प्रत्यक्ष संलग्न थियौं ।’ असई थमनका दाजु प्रेमबहादुर विकको उजुरीका आधारमा अनुसन्धान गरी प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय महोत्तरीले २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का, शव परीक्षण प्रतिवेदन, प्रहरी जवान राजकुमार झा, एम्बुलेन्स चालक सुशील मिश्र, अस्पतालका सहयोगी सियाराम पासवान, चिया पसले पप्पुकुमार साहको बयान पनि अदालतमा प्रस्तुत गरेको छ । त्यस्तै अभियुक्त प्रदीप साह माझी र मोहन ठाकुरले थमन विकलाई जलेश्वरबाट पिछा गर्दा नै लक्ष्मी महतो पनि रहेको बयान दिएका छन् । ‘एकले अर्कालाई खबर गर्दै हामी जम्मा भएर योजना बनाएका हौं, हामीले बजारमै एम्बुलेन्स रोक्ने प्रयास गर्दा चालकले अवरोधको साइडबाट एम्बुलेन्स कटाई भगायो, त्यसैले पिछा गर्दै गयौं, तर कल्भर्टमा एम्बुलेन्स फसेपछि हामीले बदला लियौं, एम्बुलेन्समा पनि आगो लगायौं ।’ असई विकको हत्यामा महतोसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा दर्ता भएको मुद्दाको पहिलो पेसी २०७५ वैशाख ३ तोकिएको थियो । तर, गत माघ २ सम्म यो मुद्दा २३ औं पटक पेसी तोकिए पनि सुनुवाइ भएको छैन । महोत्तरीको गौशाला नगरपालिका–२ निवासी ६० वर्षीय लक्ष्मी महतो अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी–४ मा उम्मेदवार बनेका थिए । यसपालि भने मनोनयनकै घडीमा एमाले प्रवेश गरेर उनी महोत्तरी–१ बाट उम्मेदवार मात्र बनेनन्, जसपासँगको तालमेलबाट निर्वाचित भएर संसद् पनि पुगेका छन् । प्रहरीको फरार सूचीमा रहेका उनले उम्मेदवारी पनि वारेसबाट भरेका थिए भने जितको प्रमाणपत्र पनि वारेसबाटै लिएका थिए । तर, पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन भने उनी संसद्समेत पुगेका थिए । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको सांसद भएकाले उनलाई प्रक्राउ नगरिएको भनेर आलोचना भइरहेको छ । उच्च अदालत जनकपुरले महतोलाई थुनामै राखेर मुद्दा चलाउन आदेश दिए पनि उनी ‘फरार’ छन् । यसअघि जिल्ला अदालत महोत्तरीका न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले महतोलाई एक लाख रुपैयाँ नगद धरौटीमा छोड्न आदेश दिएको थियो । तर, यो आदेश बदर गर्दै उच्च अदालत जनकपुरका न्यायाधीश पुष्पराज कोइराला र प्रभा बस्नेतको संयुक्त इजलासले महतोलाई मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम थुनामै राख्न ०७७ मंसिर १९ मा आदेश दिएको थियो । तर, न प्रहरीले उनलाई पक्राउ गरेको छ, न अदालतले सुनुवाइ गरेको छ । हत्यामा संलग्न रहेको अभियोगमा जलेश्वरका प्रदीप माझी, सञ्जय साह, पवन कापर गरी तीन जना जलेश्वर कारागारमा थुनामा छन् । जिल्ला अदालत महोत्तरीमा रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय तारेखमा छन् । अदालतमा हाजिरी नभएका अभियुक्तको नाममा पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत महोत्तरीले जनाएको छ । एमाले सचिवसमेत रहेका सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरी दोषी भए पक्राउ गर्न, तर पक्राउ नगरेको विषयलाई एमालेसँग नजोड्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै महासेठले लक्ष्मी महतोलाई अपराधीकै रूपमा अदालतले किटान नगरेकाले अहिले उनीबारे धारणा नबनाउन आग्रह गरे । ‘मन परेन कि अपराधी भन्ने ?’ महासेठले भने, ‘३ वर्षयता कुनै सरकारले उहाँलाई किन समातेन ? पूर्ववर्ती सरकारबाट त उहाँलाई सम्मान गर्ने काम भएको थियो । लक्ष्मी महतोलाई प्रहरीले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुपर्यो । होइन भने एमालेमाथि लगाएको आरोपमा सत्यता छैन । गृह मन्त्रालयलाई मेरो अनुरोध छ, कानुनअनुसार काम गर्नुहोस् उहाँलाई समाउनु नै पर्नेछ भने समाउनुहोस्, एमाले नेताबाट बाधा आउँदैन ।’ उनले यसो भनिरहँदा कोइरी लोकप्रिय नेता रहेको र उनको मुद्दा पुनरावेदनका क्रममा रहेकाले अहिले नै अपराधी भन्न नमिल्ने बताए ।