जसपामा दुई धार : अशोक ओलीतिर उपेन्द्र माधवतिर
रासंसा/काठमाण्डौ, माघ ६,
मुलुकमा अहिले जनता समाजवादी पार्टी नेपाल (जसपा) मा दुई धार प्रष्ट रुपमा देखिएको छ । वर्ष दिन पहिले मात्र उपेन्द्र यादव र महन्थ ठाकुरबीच आन्तरिक विवाद हुँदा जसपा विभाजन भई लोसपा भएको थियो । त्यसपछि उपेन्द्र यादव र डा.बाबुराम भट्टरार्ईबीच पनि आन्तरिक विवाद भएपछि जसपा पुनः विभाजन भयो । अहिले फेरि जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच मनमुटाव सुरु भएको छ । त्यहींबाट यी दुइको मनमुटाव सुरु भएको थियो । अशोक रार्ई र उपेन्द्र यादव काठमाडौँ फर्के पनि दुबैबीच पहिला जस्तो न्यानो कुराकानी भएन । त्यसको असर संसदीय दलको नेता चयनमा देखियो । पार्टीमा सबैभन्दा सिनियर नेता भएको कारण आफू संसदीय दलको नेता बन्नेमा ढुक्क थिए, अशोक रार्ई । चुनावलगत्तै दुईजनाको बीचमा सुरु भएको मनमुटाव अहिले पार्टीको बैठकहरुमा देखिन थालेको छ । मंसिर १८ गते विराटनगर एयरपोर्टमा अध्यक्ष यादवले सञ्चारकर्मीहरुसँग भनेका थिए, ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं । चुनावसँगै एमालेसँगको सहकार्यको कोर्स सकिएको छ ।’ लगत्तै अध्यक्ष रार्ईले एमालेसँगको गठबन्धन कायम रहेको प्रतिक्रिया दिएका थिए । त्यतिबेला अध्यक्ष रार्ई चुनाव जितेर मतदातालाई धन्यवाद दिँदै आफ्नो क्षेत्रमा घरदैलो गरिरहेका थिए । उनले भनेका थिए, ‘एमालेसँग भएको गठबन्धनको अन्त्य भएको छैन, उपेन्द्रजीको त्यो व्यक्तिगत धारणा हो, पार्टीको धारणा होइन ।’ तर जसपा अध्यक्ष उपेन्द्र यादवले बाराका सांसद रामसहाय यादवलाई संसदीय दलका नेता बनाए । तर त्यो असन्तुष्टि अझै कायम छ । माघ ३ गते बसेको जसपा संसदीय दलको बैठकमा अध्यक्ष यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका थिए । जसपालाई भागबण्डाबाट अलग राख्ने काम अध्यक्ष ओलीले गरेको, जसपाको कुरा समेत गर्न नमान्ने जस्ता कुरा अध्यक्ष यादवले राखेपछि पार्टीका अधिकांश सांसदले सरकारबाट समर्थन फिर्ता लिनुपर्ने सुझाएका थिए । मधेसमा संगठन राम्रो भएको, अधिकांश सांसद मधेसबाटै जितेका कारण बहुमतको मनोभावना बुझेर अध्यक्ष यादवले रामसहाय यादवलाई नेता बनाएको बताए । त्यसपछि दुवैजनाको दुरी झनै बढ्यो । अशोक रार्ई पक्षका नेता तथा कार्यकर्ताहरुले यसको विरोध गर्न थाले । सामाजिक सञ्जालमा पार्टी नेतृत्वको विरुद्धमा जथाभावी लेख्न थाले । त्यसपछि प्रचार विभागका प्रमुख पूर्ण वस्नेतले एउटा प्रेस नोट नै जारी गरे । संसदीय दलको नेता चयनको विषयमा पार्टीको बारेमा भइरहेको टीका टिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई उनले सचेत गराएका थिए । तर, त्यसलाई तत्काल रोक्ने काम अध्यक्ष रार्ईले गरे । उनी एमालेसँगको गठबन्धन तोड्न नहुने पक्षमा छन् । उनले एमालेसँग गठबन्धन गरेर जसपालाई कुनै घाटा नलागेको धारणा पार्टीमा राख्दै आएका छन् । उनकै दबाबका कारण जसपा सरकारबाट समर्थन फिर्ता लिन सकेन । तर त्यो कुरामा अध्यक्ष यादवको चित्त बुझेको छैन । उनले माओवादी–एमाले गठबन्धन छाडेर काँग्रेससँग नयाँ गठबन्धन बनाउनु पर्ने पक्षमा जोड दिएका छन् । त्यसका लागि उनले गृहकार्य पनि थालेको पार्टी स्रोतले जनाएको छ । उनले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई साथमा राखेर काँग्रेस सभापति शेरबहादुर देउवासँग पटक पटक छलफल गरेका छन् । अध्यक्ष ओली र अध्यक्ष रार्ईबीच हिमचिम अगाडि बढिरहेको छ । अध्यक्ष ओलीले अशोक रार्ईलाई त्यतिकै आफ्नो पार्टीको उपाध्यक्ष भनेका होइनन् । अशोक रार्ईले एमाले छाडेको १० वर्ष भइसक्यो तर ओलीले अझै पनि उनी आफ्नै पार्टीको उपाध्यक्ष रहेको भन्दै आएका छन् । कात्तिक २५ गते धरानमा चुनाव प्रचारका लागि गएका एमाले अध्यक्ष ओलीले अशोक रार्ई आफ्नो उपाध्यक्ष रहेको धारणा राखेका थिए । उनले राईलाई देखाउँदै भनेका थिए, ‘उहाँ मेरो उपाध्यक्ष नौ हो ।’ त्यो बेलादेखि दुईजनाको बीचमा राम्रो सम्बन्ध बनेको हो । अध्यक्ष यादवले एकीकृत समाजवादीसँग एकता प्रक्रिया पनि अगाडि बढाएका छन्, जुन कुरा अर्का अध्यक्ष रार्ईलाई फिटिक्कै मन परेको छैन । त्यस्तै, यो एकताको विषयलाई एमाले अध्यक्ष ओलीले पनि मन पराएका छैनन् । एस र जसपाको एकता प्रक्रिया सुरु भएपछि एमाले अध्यक्ष ओली जसपा अध्यक्ष यादवबाट बिच्किएका थिए । र, त्यसमा साथ दिइरहे, जसपा संघीय परिषद्का अध्यक्ष अशोक रार्ईले । अशोक राईका प्रिय नेता रहेका हेमराज राई गत भदौमा जसपा छाडे । आफूसँग अशोक राईका साथमा रहेका केही नेताहरु लिएर हेमराज एमाले प्रवेश गरे । त्यसपछि एमालेका अध्यक्ष ओलीले अशोक राईलाई पनि पटक पटक पार्टीमा फर्किन आग्रह गरे । तर त्यसमा अध्यक्ष रार्ईले ओलीलाई कुनै वचन दिएका छैनन् । अशोक राई पार्टीको संसदीय दलका नेता नबनेपछि उपप्रधानमन्त्रीसहित मन्त्री बन्ने सोचमा थिए । तर उपप्रधानमन्त्री नदिएपछि उनी आफ्नो श्रीमतीलाई मन्त्री बनाउने दाउमा थिए । अहिले उनले जुनसुकै मन्त्रालय दिए, त्यो लिएर जसपा सरकारमा जानुपर्छ भन्ने लाइनमा छन् । र, पार्टीमा पनि त्यही अनुसारको विचार व्यक्त गरिरहेका छन् । जसपाका एकजना कार्यकारिणी सदस्यले भने, ‘अशोकजीको अनुसार भएको भए अहिले जसपा सरकारमा हुन्थ्यो तर उपेन्द्रजीले रोकिरहनुभएको छ ।’
