प्रचण्डलाई विश्वासको मत दिने तर प्रतिपक्षीको बेन्चमा बस्ने, नागरिक उन्मुक्तिको निर्णय
रासंसा/काठमाण्डौ, पौष २६,
मुलुकमा नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। मंगलबार बिहान बसेको दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए। गठबन्धनको सरकारले सोमबार ल्याएको न्यूनतम साझा कार्यक्रममार्फत नागरिक उन्मुक्तिको माग सम्बोधन गरेको थियो। त्यसको स्वागत गर्दै विश्वासको मत दिने निर्णयमा पार्टी पुगेको उनको भनाइ छ। विश्वासको मत दिए पनि संसदमा प्रतिपक्षको बेन्चमा बस्ने निर्णय गरेको उनले बताए। रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रमुख सचेतक चौधरीले बताए। तर, सुदूरपश्चिम प्रदेशमा गठबन्धन सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा भोलिमात्र निर्णय हुने छ। भोलि मुख्यमन्त्रीको दाबी पेस गर्ने अन्तिम दिन हो। गठबन्धनले नागरिक उन्मुक्तिलाई उपसभामुख दिने निर्णय गरेको छ तर नागरिक उन्मुक्तिले मुख्यमन्त्री दाबी गर्दै आएको छ। सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको छ। जसअनुसार सुरूमा एमालेले सरकार बनाउनेछ।