समानुपातिक सांसद सात राष्ट्रिय दलद्वारा छनोट
रासंसा/काठमाण्डौ, मार्ग २५,
मुलुकमा हालै सम्पन्न आमनिर्वाचनबाट राष्ट्रिय दल बन्न सफल सात राजनीतिक दलले समानुपातिक उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाएका छन् । आयोगले गत बिहीबार नै दलहरूलाई समानुपातिक प्रणालीतर्फ प्राप्त सिट संख्या’bout जानकारीसहितको पत्र पठाउँदै तीन दिनभित्र जवाफ दिन भनेको थियो । यसपछि दलहरूले पहिले आयोगमा बुझाएको बन्दसूचीका आधारमा ‘क्ल्स्टर’अनुसार सांसदको नाम टुंगो लगाएका हुन् । प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ १ सय १० सांसद चयन गर्नुपर्नेमा गत ४ मंसिरको निर्वाचनबाट ‘थ्रेसहोल्ड’ अंक कटाएका सात दलले बन्दसूचीबाट उम्मेदवारको नाम बुझाएका हुन् । प्रतिनिधिसभामा सबैभन्दा बढी ३४ सांसद नेकपा एमालेले पाएको छ । नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५, जनता समाजवादी पार्टी नेपालले ५ र जनमत पार्टीले ५ सिट पाएका छन् । प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी प्राप्त सिट संख्याका आधारमा संसद्को ठूलो दल बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाएको छ । समानुपातिकमा ३२ सिट पाएको कांग्रेसमा ‘तीन पुरुष को को पठाउने ?’ भन्ने विवाद थियो । संंघीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले पाएको ३२ सिट मध्यमा २९ महिलाको नाम तय गरेको हो । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक र पदाधिकारी छलफलबाट प्रतिनिधिसभा समानुपातिक सांसद टुंगो लगाइएको हो । पुरुषतर्फ भने सबै ‘क्लस्टर’को पहिलो नम्बर प्रभावशाली नेता थिए । खस–आर्य पुरुषतर्फ प्रवक्ता प्रकाशशरण महत, आदिवासी जनजातितर्फ पूर्वउपसभापति गोपालमान श्रेष्ठ, मधेसी पुरुषतर्फ अर्का उपसभापति विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियारको नाम बन्दसूचीमा पहिलो नम्बरमा थियो । कांग्रेसले महिला समानुपातिकतर्फ प्रधानमन्त्रीपत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणपत्नी मञ्जु खाँणलाई चयन गरेको छ । त्यस्तै, आदिवासी जनजातितर्फबाट सरस्वती बजिमय, लिलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर र मनोरमा सेरचनको नाम तय गरेको छ । त्यस्तै, थारु पुरुषतर्फ योगेन्द्र चौधरी र मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमै सहमहामन्त्री फरमुल्लाह मन्सुर थिए । तर, बढीमा तीन जना मात्र पठाउन पाउने भएपछि प्रवक्ता महत, पूर्वउपसभापति निधि र हालका सहमहामन्त्री परियार छानिएका हुन् । अन्य नेता भने बन्दसूचीमै सीमित भएका छन् । यसैगरी, खस आर्यतर्फ अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला, कान्तिका सेजुवाल, मैना रावल कार्कीको नाम तय भएको छ । यसैगरी, थारुतर्फ कल्पना चौधरी र विनाकुमारी थनेत, मुस्लिमतर्फबाट जावेदा खातुन् जागाको नाम तय गरेको छ । पुरुष दलिततर्फ जीवन परियार, मधेसतर्फबाट विमलेन्द्र निधि खस आर्यतर्फबाट पुरुषतर्फ प्रकाशशरण महतलाई कांग्रेसले प्रतिनिधिसभा सदस्य छानेको छ । मधेसीतर्फ नागिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल, निनुकुमारी कर्ण चयन भएका छन् भने दलिततर्फ शान्ति विक, रुपा विक, सीता मिजार र आशा विकको नाम कांग्रेसले तय गरेको हो । समानुपातिकतर्फ संसद्मा पहिलो दल बनेको नेकपा एमालेले ३४ सांसद चयन गरेको छ । एमालेले आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बालाई सांसद चयन गरेको हो । त्यस्तै, खसआर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराललाई एमालेले प्रतिनिधिसभा सदस्य छानेको छ । यसैगरी, थारु क्लस्टरबाट आश्माकुमारी चौधरी र शान्ति चौधरी तथा दलिततर्फबाट ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मिणी राणा बराइली र हर्कमाया विश्वकर्माको नाम एमालेले तय गरेको हो । मधेसीतर्फबाट एमालेले गंगाप्रसाद यादव, अमृतराज लालवंशी, वीना देवी, अमृतादेवी अग्रहरी, प्रतीक्षा तिवारी मुखिया र मुस्लिमतर्फ सराज अहमद फारुखीलाई छानेको छ । माओवादी केन्द्रले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि १४ सांसदको नाम तय गर्दै निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रबाट १४ सांसदमध्ये १२ महिला र दुई पुरुष सांसद चयन भएका हुन् । त्यस्तै, आदिवासी महिलातर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्हामु लामा तामाङलाई प्रतिनिधिसभा सदस्य बनाइएको छ । यसैगरी, खस आर्य पुरुषतर्फ हितराज पाण्डे, खस आर्य महिलातर्फ ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नारायणी शर्मालाई सांसद बनाएको छ । थारु महिलातर्फबाट माओवादी केन्द्रले रुपा सोसी चौधरी दलित पुरुषतर्फबाट रणेन्द्र बराइली, दलित महिलातर्फ सुशीला श्रीपाली ठकुरी, मधेसी महिलातर्फ मीना यादव, उमरावती देवी यादव, मुस्लिम महिलातर्फ कल्पना मियाँलाई सांसद बनाइएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ पाएको १३ सिटमा सांसदको नाम तय गरेको छ । आयोगमा बुझाएको बन्दसूचीमा रहेका नाममध्येबाट क्लस्टर मिलाएर पाएको सिटमा सांसद छानेको हो । सो दलबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर, सुमना श्रेष्ठ, डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी र विनिता कठायत सांसद बन्ने भएका हुन् । यसैगरी, शिव नेपाली, सन्तोष परियार, लक्ष्मी तिवारी, मनिष झा, अशोक चौधरी र असिम शाह समानुपातिकतर्फबाट चयन भएका हुन् । राप्रपाले समानुपातिकतर्फ उम्मेदवार तय गर्दा पार्टीभित्र विवाद बढेपछि नाम सार्वजनिक नै नगरी निर्वाचन आयोगमा पत्र पठाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सूची गोप्य राख्दै आयोगमा नामावली पठाएको स्रोतले जनाएको छ । राप्रपाले समानुपातिकतर्फ प्रतिनिधिसभामा ७ सिट पाएको छ । पूर्वअध्यक्ष पशुपतिशमशेर राणा पनि समानुपातिकबाटै सांसद बन्दै छन् । शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पहिलो पुरुषमा राणाको नाम टुंगो लागेको हो । राप्रपामा पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र बुद्धिमान तामाङमध्ये प्रतिनिधिसभा समानुपातिकमा ‘कसलाई चयन गर्ने ?’ भन्ने विवाद थियो । सो विषयमा अध्यक्ष आफैंले निर्णय गरेका छन् । लिङ्देनले तामाङको नाम पठाएको स्रोतको दाबी छ । राप्रपाबाट प्रतिनिधिसभातर्फ समानुपातिकमा अन्य पाँच महिला सांसदमा रोशन कार्की, बिना लामा, बिना जयशवाल, अनिसा नेपाली र गीता बस्नेत छानिएका छन् ।