न राज्यले हेर्यो, न त पार्टीले ‘एकीकृत जनक्रान्ति’का नाममा मृत्यु भएका परिवारलाई
रासंसा/काठमाण्डौ, मार्ग २३,
मुलुकमा २०७६ जेठ १२ गते बेलुका ४ बजेर १३ मिनेटमा मनिषा शाहीले दाजु प्रज्ज्वल शाहीलाई फोन गरिन् । घर कुनबेला फर्कने भनेर दाजुलाई सोध्नासाथ उताबाट जवाफ आयो– एकछिनमा आउँछु । मनिषाले दाजु कतै व्यस्त भएको ठानेर फोन काटिन् । ओछ्यानमा बसेर मोबाइलबाट फेसबुक चलाइरहँदा उनले दाजुको मृत्यु भएको समाचार देखिन् । त्यतिबेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको थियो । त्यसैको विरोध स्वरूप २०७६ जेठ १३ गते विप्लव नेतृत्न्वको पार्टीले नेपाल बन्द आह्वान गरेको थियो । नेपाल बन्द गराउन ठाउँठाउँमा बम विस्फोट गराउने योजना बनाइएको थियो । त्यसको तयारी स्वरूप घट्टेकुलोमा आफै बम बनाउँदा विस्फोट भई प्रज्वलको निधन भएको थियो । परिवारको पहिलो सन्तान प्रज्वलको निधन भएको तीन वर्ष बित्दा पनि मनिषा र उनको परिवारले त्यो पीडा बिर्सन सकेका छैनन् । ‘बुबालाई असाध्यै पीडा हुन थालेपछि आजभोलि रक्सी खान थाल्नुभएको छ । दाइले छोडेर गएपछि सिङ्गो परिवार असहाय र अभिभावकविहीन छ,’ मनिषा भन्छिन् । विप्लव नेतृत्वको नेकपामाथि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लागेको थियो भने २०७७ साल माघ २१ गते सरकारसँग तीन बुँदे सहमति गरेर मूल धारको राजनीतिमा आयो । नेपाल प्रहरीका अनुसार प्रतिबन्धको झन्डै २ वर्षमा विप्लव नेतृत्वका १८ जना नेताकार्यकर्ताको सुरक्षा कारबाही तथा विभिन्न घटनाका क्रममा मृत्यु भएको छ । त्यसैगरी ४ सर्वसाधारण र ३ प्रहरीको पनि मृत्यु भएको छ । सहिद परिवारका नाममा आफूहरूले विप्लवसँग गुनासोसमेत गर्न नपाएको उनले बताइन् । सामाजिक सञ्जालबाट पीडा पोख्दासमेत उल्टै पार्टीका नेताहरूले क्रान्तिमा सहिद परिवारले भ्रम छर्न खोजेको भन्दै आरोपित गर्ने गरेको उनी बताउँछिन् । ‘हामीले आफ्नो पीडा पोख्दा नेताहरू किन रिसाउनुहुन्छ ? धेरै बोल्यो किन भन्नुहुन्छ ? हामी बोल्दा उहाँको चित्त दुख्छ रे ! उहाँहरूको मन हुने, के हाम्रो मन ढुङ्गा हो ?’ मनिषा प्रश्न गर्छिन् । विप्लव नेतृत्वको नेकपाले पार्टीबाट ज्यान गुमाउने १२ जनाको नाम मात्रै सहिदको सूचीमा राखेको छ । ‘हाम्रा दाइहरूले बगाएको रगत नेताहरूले पानी सम्झिनुभयो, रगतलाई रगत सम्झेको भए यस्तो हुने थिएन,’ मनिषा आक्रोशित हुँदै भन्छिन्, ‘मेरो दाइलाई नेताहरूले मार्न पठाएका हुन्, ती हत्यारा हुन् ।’ आफ्नो दाइ प्रज्ज्वलको मृत्यु प्राविधिक कमजोरीका कारण भनिए पनि सत्यतथ्य आउनेगरी पुनः छानबिन हुनुपर्ने उनले बताइन् । ‘दाइको मृत्युका सम्बन्धमा छानबिन भएन, प्राविधिक गल्ती भनियो । फेरि घटनाको गहिरो छानबिन हुनुपर्छ । त्यसको जवाफ चाहिन्छ । मेरो दाइसँगको साथी बाँच्ने अनि दाइ कसरी बित्नुभयो ?’ मनिषाले भनिन्, ‘विद्यार्थी नेताहरू लुकेर बस्ने अनि कार्यकर्तालाई बम दिने ? विप्लव, प्रकाण्डहरु आफ्ना छोरालाई डाक्टर बनाउने, गरिबका छोराछोरीलाई मर्न पठाउन पाइन्छ ? विप्लवसहित पार्टीका ५ जना नेताले जवाफ दिनुपर्छ ।’ ‘मैले पार्टीसँग गुनासो गरेर अर्थ छैन । हुँदाहुँदा अहिले पार्टी फुटेर दुई टुक्रा भयो । नेताहरू आउँछन्, अनुहार देखाएर जान्छन् । त्यसैले गुनासै गर्न छोडिदिएँ,’ धनकुमारीले भनिन्, ‘सरकार सुन्दै सुन्दैन । सरकार सबैभन्दा ठूलो भइसक्यो हामीजस्ता साना मान्छेको कुरा के सुन्थ्यो ?’ यस्तै २०७६ असार ५ गते सर्लाहीमा प्रहरीसँगको इन्काउन्टरमा कुमार पौडेल मारिए । उनको परिवारले पनि राज्य र विप्लव नेतृत्वको नेकपाबाट आफूहरुले अहिलेसम्म न्याय नपाएको गुनासो गरेका छन् । पौडेलकी पत्नी धनकुमारी खड्का पौडेलले विप्लव समूहको नेता भनेर प्रहरीले नै समाएर हत्या गरे पनि अझै न्याय नपाएको गुनासो गरिन् । आफूहरूले किटानी जाहेरी दिँदासमेत, जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म न्यायको ढोका ढकढक्याउँदासमेत न्याय नमिलेको धनकुमारीले बताइन् । एक छोरा र एक छोरीकी आमा धनकुमारीलाई विप्लव निकट विद्यार्थी सङ्गठनले छोराछोरीलाई निःशुल्क प्लसटु पढ्ने व्यवस्था मिलाए पनि घरबाटै जेनतेन गरेर पढाइरहेको बताइन् । यस्तै तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे युद्धमा गोकुल रानामगर र उनकी श्रीमती ताराकुमारी रानासमेत सहभागी भइन् । दाङ, बबई गाउँपालिका ३ धनुवासका गोकुल माओवादी लडाकुका कम्पनी कमान्डर र तारा प्लाटुन भीसी भएर लडाइँको मोर्चामा सहभागी भए । कुमारका छोराले १२ कक्षा पास गरिसकेका छन् भने छोरी भर्खरै १२ कक्षामा अध्ययनरत छिन् । अदालत र राष्ट्रिय मानव अधिकार आयोगबाट न्याय पाउने पर्खाइमा पौडेल परिवार बसेको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्ड, बाबुरामले क्रान्तिलाई धोका दिएको भन्दै लाडाकुबाट उपदान लिएर उनीहरु विप्लव नेतृत्वको नेकपामा सङ्गठित भए । २०७६ जेठ १२ गते काठमाडौंको सुकेधारामा आफैले बोकेको बम फिस्फोट हुँदा गोकुलसहित विभुराम विश्वकर्मा, कृष्णप्रसाद भण्डारी, रामकुमार श्रेष्ठले ज्यान गुमाए । श्रीमान्को नाममा भएको २ कठ्ठा जमिनमा सानो घर बनाएर जेनतेन जीवन चलाइरहेकी उनले घरखर्च चलाउन गाह्रो भएको बताइन् । तत्कालीन माओवादी युद्धमा ज्यान गुमाएका परिवारका छोराछोरी पढ्ने बिजौरीको सहिद आवसीय विद्यालयमा विप्लव समूहका नेताहरूले छोराछोरी पढ्ने व्यवस्था मिलाएपछि केही राहत महसुस भएको उनको भनाइ छ । श्रीमान् गुमाएकी ताराले आफूसहित तीन छोराछोरीसहित ५ जनाको परिवारलाई जेनतेन पालनपोषण गरिरहेको बताइन् । माओवादी लडाकु हुँदा पाएको उपदान दुवै जनाको पैसाले ऋण तिर्न ठिक्क भएकाले केही जोहो गर्न नपाएको उनको भनाइ छ । ‘उहाँ (गोकुल) नहुँदा अभाव खड्किन्छ । छोराछोरी, आमा बिरामी हुँदा कसलाई भन्ने ? उहाँ भइदिएको भए सायद यति दुःख हुने थिएन कि भन्ने हुन्छ ?’ ताराले भनिन्, ‘घर मुली नै गुमाएपछि हामी आत्मादेखि रुने कुरा त भइहाल्यो । उहाँको मृत्युमा देश रोयो । योभन्दा पहिले १६–१७ हजार जनाले रगत बगाए । उनीहरूले पनि मुक्ति पाएको स्थिति छैन । अहिले फेरि १२ जनाले ज्यान गुमाए भनेर चित्त बुझाउँछु ।’ पार्टी फुटेकाले उनलाई सहिदको सपना नेताहरूले भुल्ने पो हुन् कि भन्ने चिन्ता लागेको छ । अहिले श्रीमान् नहुँदा जसोतसो जीवन चलाए पनि बेलाबेला श्रीमान्को अभाव खड्किने गरेको बताउँछिन् उनी । उमेरले भर्खरै ३५ वर्ष टेकेकी तारा अरू सहिद परिवारलाई हेरेर आफ्नो मन बुझाउने गरेको बताउँछिन् । अहिले विप्लव नेतृत्वको नेकपा दुई टुक्रामा विभाजित छ । एउटा समूहको विप्लव आफैले नेतृत्व गरेका छन् । अर्को समूहको धर्मेन्द्र बाँस्तोलाले नेकपा बहुमतको नाममा नेतृत्व गर्दै आएका छन् । दुवै पक्षले सहिदको सपना नभुलेको बताउँछन् । ‘पार्टीको क्षमता र औकातअनुसार सहयोग गर्ने प्रयास गरेको छौँ । सम्पूर्णसहिद परिवार पार्टीमा निर्भर हुन खोज्यो भने पार्टीले सक्ने कुरा भएन,’ बुढामगरले भने, ‘हाम्रो पार्टीबाट सहिद भएका परिवारलाई आपत्विपत्मा खर्चपानीको व्यवस्था गर्ने, सहिद परिवारका छोराछोरीको शिक्षा–दीक्षामा समस्या पर्दा सहयोग गर्ने गरेका छौँ ।’ विप्लव नेतृत्वको नेकपा सचिवालय सदस्य सन्तोष बुढामगरले सहिदले बगाएको रगत र पसिना भुल्न नसक्ने दाबी गरे । सहिद परिवारका लागि पार्टीले सक्दो सहयोग गरिरहेको बुढामगर बताउँछन् । तत्कालीन माओवादी युद्धमा सहिद भएका परिवारलाई कसैले केही गर्न नसकेको अवस्थामा प्रतिबन्धमा परेका बेला सहिद भएका परिवारलाई सबैथोक गर्न नसकिने बुढामगरले बताए । यस्तै विप्लवबाट विभाजन भई बनेको नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोलाले सहिद परिवारलाई सोचेजस्तो सहयोग गर्न नपाएको स्वीकार गरे। ‘हामी जुन उद्देश्यका साथ आन्दोलनमा होमियौँ, त्यसबमोजिम सहिदको सपना साकार पार्न सकेका छैनौँ,’ बाँस्तोलाले भने, ‘हामीले सहिद परिवारलाई बिर्सनु भएन । सकेको सहयोग गर्ने प्रयत्न गरेका छौँ ।’ अझै सहिदको सपना पूरा गर्न जीवनभर लागिपर्ने बाँस्तोलाले बताए । पार्टी विभाजन भएपछि कतिपय सहिद परिवारलाई धर्मेन्द्र, हेमन्तप्रकाश पक्षले भड्काएकाले पार्टीविरुद्ध सहिद परिवार बोल्ने गरेको बताए । तीन बुँदे सहमतिमा प्रतिबन्धको अवधिमा सहिद भएका परिवारलाई राहत दिने र बन्दी रिहासँगै मुद्दा फिर्ता लिने भनिए पनि कार्यान्वयन हुन नसक्नु दुखद् भएको बुढामगरको भनाइ छ । २०७७ फागुन २१ गते विप्लव नेतृत्वको नेकपा र सरकारबीच तीनबुँदे सहमति भए पनि प्रतिबन्धको अवधिमा मृत्यु भएका परिवार र घाइतेको विषयमा कुनै सहमति भएको छैन । शान्तिपूर्ण तरिकाले मूलधारको राजनीतिमा आउने, प्रतिबन्ध फुकुवा गर्ने, बन्दी रिहा गर्ने र मुद्दा फिर्ता लिने सहमति भएको थियो । तर प्रतिबन्धको अवधिमा मृत्यु भएका परिवार र घाइतेका विषयमा केही नभएको मृतकका परिवारले गुनासो गरेका छन् । अहिले विप्लवबाट छुट्टिएको धर्मेन्द्र बाँस्तोलाले नेकपा बहुमत गठन गरेका छन् । त्यसरी नै सहिद परिवारलाई समेत विप्लव समूह र बाँस्तोला समूहले तानातान गर्न थालेका छन् । पार्टी र राज्य दुवैबाट पीडामा परेका सहिद परिवार पार्टी विभाजनपछि तानातानमा मात्रै परेका छन् । अहिले एकीकृत जनक्रान्तिका नाममा मृत्यु भएका परिवारले पार्टीबाट कुनै राहत पाएका छैनन् । उता राज्यबाट समेत कुनै सहुलियत पाएका छैनन् । गत वैशाख ३० गतेको स्थानीय चुनावमा भाग लिने नलिने विवादमा विप्लव नेतृत्वको नेकपा दुई चिरामा विभाजित भयो । गत साउन १६ गते ललितपुर जिल्ला अदालतले विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरूविरुद्ध हातहतियार तथा खरखजानासमेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरुद्धको अपराधसमेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुरको मुद्दामा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । विप्लव समूह र धर्मेन्द्र समूहलाई पक्राउ पुर्जी जारी भएपछि दुवै पक्ष आक्रोशित भएका छन् । सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै विप्लव नेतृत्वको नेकपा र नेकपा बहुमत आन्दोलित छन् । जेलमा बन्दी बनाएका एक सयभन्दा बढी नेता कार्यकर्ता छुटेका छैनन् भने उत्तिकै मात्रामा मुद्दा फिर्ता भएको छैन । धनरूप बटालाको २०७४ असार १२ गते मृत्यु भएको थियो । २०७४ सालको स्थानीय तह निर्वाचन बहिष्कारका क्रममा कालिकोटमा उनको मृत्यु भएको हो । चन्द्रबहादुर सिंह २०७६ जेठ ७ गते कैलालीमा आफैले बोकेको बम विस्फोट हुँदा मारिएका थिए । तीर्थराज घिमिरे २०७५ जेठ १२ गते भोजपुरमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिए । यस्तै सर्लाहीका कुमार पौडेल पार्टीको केन्द्रीय सदस्यसमेत थिए । मृत्यु हुनेमा उनी पार्टीको माथिल्लो तहका नेतामा पर्छन् । पौडेल २०७६ असार ५ गते सर्लाहीमा प्रहरीसँगको इन्काउन्टरमा मारिएका थिए । तर पौडेलको परिवारले भने दोहोरो भिडन्तमा नभई प्रहरीले नियन्त्रणमा लिएर गोली हानेर हत्या गरेको आरोप लगाएको छ । यस्तै गोकुल रानामगर, विभुराम विश्वकर्मा, कृष्णप्रसाद भण्डारी, रामकुमार श्रेष्ठको २०७६ जेठ १२ गते आफैले बोकेको बम विस्फोट हुँदा काठमाडौँको सुकेधारामा मृत्यु भएको थियो । प्रज्वल शाहीको अनामनगरमा आफैले बोकेको बम विस्फोट हुँदा मृत्यु भएको हो । यस्तै निरकुमार राई २०७६ आसर २५ गते भोजपुरमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका थिए । रामबहादुर सिंह २०७६ साउन २ गते आफैले बोकेको बम विस्फोट हुँदा मृत्यु भएको थियो । यस्तै जगेन्द्रबहादुर पुनको २०७७ मङ्सिर २९ गते पर्वत जेलमा हुँदा उपचारका क्रममा मृत्यु भएको थियो । तर विप्लव नेतृत्वको नेकपाले जेलमा यातना दिएकाले मृत्यु भएको आरोप लगाएको छ । विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको तीनबुँदे सहमतिमा मृतकका परिवारका विषयमा राहत र क्षतिपूर्तिको व्यवस्था उल्लेख छैन । विप्लव नेतृत्वका नेकपाका नेता कार्यकर्ता प्रतिबन्धको अवधिमा मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने व्यवस्था नभएको गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । ‘हामीले विद्रोही शक्ति र सरकारसँग कागजमा कस्तो सहमति भयो, केके दिने व्यवस्था उल्लेख छ, त्यसलाई कार्यान्वयन गर्ने हो,’ पोखरेलले भने, ‘प्रतिबन्धको अवधिमा मृत्यु भएका विप्लव नेतृत्वको नेकपा नेता कार्यकर्तालाई राहत र क्षतिपूर्ति दिन सक्ने अवस्था छैन । हामीले व्यवस्था गरेर राहत र क्षतिपूर्ति हुने भन्ने हुँदैन ।’ कुमार पौडेलको घटनामा गम्भीर मानव अधिकारको उल्लङ्घन भएको भन्दै मानव अधिकार आयोगले कारबाही गर्न सिफारिस गरेको हो । अरू प्रतिबन्धको अवधिमा मृत्यु भएका विप्लव नेतृत्वको नेकपा नेता कार्यकर्ताको विषयमा खासै मसिनो गरी केलाउन नपाएको पोखरेलको भनाइ छ । राष्ट्रिय मानव अधिकार आयोगले विप्लव नेतृत्वको नेकपा प्रतिबन्धको अवधिमा मृत्यु भएका नेता कार्यकर्ताको विषयमा एकमुष्ट तथ्याङ्कसमेत राखेको छैन । हामीले विप्लव नेतृत्वको नेकपा प्रतिबन्धको अवधिमा कति नेता कार्यकर्ताको मृत्यु भयो ? अरू कति सर्वसाधारण र प्रहरीको मृत्यु भयो ? ती सबै एकमुष्ट तथ्याङ्क राखेका छैनौँ,’ राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले भने, ‘तर कुमार पौडेलका विषयमा भने तत्कालीन गृहमन्त्री रामबहादुर थापा र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितले घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न सिफारिस गरेका थियौँ ।’