कांग्रेसमा संसदीय दलको नेताका लागि दौडधुप
रासंसा/काठमाण्डौ, मार्ग २१,
मुलुकमा कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार डा. शशांक कोइरालासँग भेट गरे। दलको नेतामा आफूलाई सहयोग गर्न आग्रह गरे। शशांक र अर्का नेता रामचन्द्र पौडेलबीच पनि मंगलबार नै भेटवार्ता भयो। वरिष्ठ नेता पौडेलले संसदीय दलको नेतामा आफूलाई सहयोग गर्न शशांकलाई आग्रह गरे। जसमा वर्तमान प्रधानमन्त्री देउवानै छैटौंपटक प्रधानमन्त्री बन्नका लागि निर्वाचन जितेर बालुवाटार उनलाई भेट्न पुगेका नेतासँग आफूलाई संसदीय दलको चुनावमा सहयोग गर्नुस् भन्न भने छुटाउँदैनन्। यद्यपि देउवाले समानुपातिकको नतिजा टुंगिएपछि बन्ने संसदीय दलको नेतामा औपचारिक रूपमै दाबी गर्ने तयारीमा छन्। सत्तासीन कांग्रेसमा दलको नेता बन्न नेताहरू दौडधुपमा छन्। कांग्रेस संसदीय दलको नेता नै भावी प्रधानमन्त्री हुने भएकाले पनि संसदीय दलको नेता बन्न नेताहरूबीच तँछाडमछाड चलेको छ। पार्टीको महाधिवेशनलाई झल्को दिने गरी नेताहरू गुट निर्माणमा जुटेका छन्। संसदीय दलको नेता बन्न कांग्रेसका आधादर्जन नेता सक्रिय रूपमा जुटेका छन्। पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेल, डा. शशांक कोइराला, डा. शेखर कोइराला, गगन थापा र प्रकाशमान सिंह संसदीय दलको नेता बन्न आन्तरिक तयारीमा जुटेका छन्। उनको एकमात्र उद्देश्य के छ भने अब बन्ने गठबन्धनको सरकारमा उनी पुनः आफू प्रधानमन्त्रीमै बस्न चाहेका छन्। देउवाले संसदीय दलको नेता बन्नका लागि नवनिर्वाचित कांग्रेसका सांसदसँग छलफल र भेटघाट पनि तीव्र बनाएका छन्। देउवा निकटका नेता तथा पार्टीका प्रवक्तासमेत रहेका डा. प्रकाशशरण महतले संसदीय दलको चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा अंकगणितीय बहुमत पनि पुग्ने भएकाले देउवा नै संसदीय दलको नेता हुने अडान लिँदै भने, ‘सरसर्ती अंकगणित पनि हेर्नुस् न उहाँकै पक्षमा बहुमत छ। नयाँ नेतृत्व चाहनेहरूले उहाँलाई सुझाव सल्लाह दिँदै सरकार सञ्चालनमा साथ र सहयोग गर्न सक्नुहुन्छ। यसमा आपत्ति प्रकट गर्नुपर्ने कुरै छैन। बरू मुलुकको हितका लागि पार्टी एक ढिक्का भएर जानुपर्छ।’ कांग्रेससहितको गठबन्धनबाट ९१ सिटमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको कांग्रेसले ५७ सिट जित हासिल गरेको छ। जसअन्तर्गत संस्थापन तर्फबाट ५० जना निर्वाचनको प्रतिस्पर्धामा थिए तीमध्ये २९ जनाले निर्वाचन जितेका छन्। संस्थापन इतरतर्फ भने शेखर–गगनका २२ जना निर्वाचन लडेकामा १८ जना जितेका छन् भने, शशांक र रामचन्द्र निकटका ६ जनाले निर्वाचन जितेका छन्। प्रकाशमान सिंह निकटका ४ जनाले निर्वाचन जितेका छन्। यसरी हेर्दा पनि वर्तमान प्रधानमन्त्री देउवाले नै संसदीय दलको चुनाव जित्ने आकलन गर्न सकिन्छ। खड्काले अगाडि भने, ‘संसदीय दलको नेतामा अन्य नेताहरूको आकांक्षालाई सम्मान गर्दै समर्थन र आकांक्षाकै बीचमा सभापति देउवाकै पक्षमा सर्वसहमतिको वातावरण बनाउन पहल गरिने छ।’ देउवाले मंगलबार बिहान निर्वाचन जितेर राजधानी फर्केका पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग बालुवाटारमा भेट्दै आफूलाई संसदीय दलको निर्वाचनमा सहयोग गर्न आग्रह गरेका थिए। जवाफमा कोइरालाले ‘यस विषयमा केही समय छ। छलफल सरसल्लाह गर्दै जाउँला।’ कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन्। उनले सभापति देउवाको नेतृत्वमा कांग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको र संकटका बेला देशलाई सम्हालेर अगाडि बढाएको बताउँदै भने, ‘देउवाले दलको नेतामा चाहना राख्दा दायाँबायाँ कुरा गरिराख्नु पर्दैन।’ खड्काले संसदीय दलको निर्वाचन सकेसम्म सर्वसम्मत गरिने र सर्वसम्मत गरिँदा कांग्रेसभित्र नै एकताको सूचना प्रवाह हुने बताए। खड्काले भने, ‘कांग्रेसलाई एकताबद्ध बनाउँदै गठबन्धनसहितका दलहरूलाई मिलाएर लैजानुपर्ने जिम्मेवारी छ।’ देउवाले आफू निकटका अति विश्वास गरिएका नेता पूर्णबहादुर खड्कालाई मुख्य संसदीय दलमा आफूलाई सघाउनका लागि दूत बनाएर विभिन्न नेतासँग भेट गर्न पठाउने गरेका छन्। देउवाले खड्कालाई कांग्रेसका अरू शीर्ष नेतासँग पनि अनौपचारिक रूपमा छलफलका लागि पठाउने गरेका छन्। यतिबेला कांग्रेसको आन्तरिक पार्टीभित्रै पुस्तान्तरण चाहने अर्को बहुमतले भने पार्टीका महामन्त्रीसमेत रहेका गगन थापाको नेतृत्वमा कांग्रेस सरकारमा जानुपर्ने भनिरहेको छ। यद्यपि संसदीय चुनावभन्दा बाहिर गगनको नेतृत्वमा सरकारमा जानुपर्छ भन्नेहरूनै संसदीय दलको चुनावमा भोट हाल्दैनन् भन्ने थापालाई सपोर्ट गर्नेहरू बताउँछन्। शेखर कोइराला भने अहिले नै संसदीय दलको नेताका रूपमा प्रतिस्पर्धामा जाने या नजाने भन्ने विषयमा उनले बोलेका छैनन्। कोइराला निकटका नेताअनुसार इत्तर समूहबाट संसदीय दलको नेताका रूपमा कोइरालाको नाम सर्वसम्मत आएको छ। कोइरालाको अर्को पक्ष भने प्रतिनिधि र प्रदेशसभाको टिकट वितरणका बेला देउवासँग सकारात्मक सहमति भएको भन्दै चुनाव प्रचारका बेला गरेको भाषणले पनि उनले संसदीय दलको चुनावमा देउवालाई सहयोग गर्न सक्छन् भन्ने आशंका पनि गरिन्छ। थापा भने अब पार्टीबाट हुने सरकारको नेतृत्वले भने काँध फेर्ने बेला आएको बताउँदै आएका छन्। थापाले मंगलबार विराटनगरमा नेता गुरु घिमिरेको किताब ‘बाटो बिराएको राजनीति’ विमोचनमा बोल्दै कांग्रेसले यसपटक पाएको मौका गुमाउन नहुने बताए। भने, ‘कांग्रेस पार्टीको कस्तो व्यक्तित्वले सरकारको नेतृत्व गरेको छ। त्यसको आकर्षणले पनि पार्टीलाई फाइदा र बेफाइदा पुर्याउने काम गर्छ। त्यो मौका अहिले कांग्रेसले पाएको छ।’ त्यसो त थापालाई संसदीय दलको नेता बन्नका लागि कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माको पूर्ण समर्थन छ। उनले खुलेरै निर्वाचनमा प्रचारका बखत र जितेर काठमाडौं फर्किसकेपछि पनि प्रधानमन्त्रीमा जानका लागि गगनलाई संसदीय दलको नेता बनाउन पार्टीकै शीर्ष नेतृत्व बीचमा सर्वसम्मतिको वातावरण बनाउन पहल गर्ने बताएका थिए। शर्माले भने, ‘राजनीतिक परिवर्तनको एजेन्डा सकिएकाले अब मुलुकलाई रूपान्तरण गरेर अघि बढ्नुपर्छ। राजनीतिक परिवर्तनको एजेन्डा होइन। अब हाम्रो पूरै ध्यान सामाजिक रूपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्छ।’ अहिलेको निर्वाचनमा पार्टीले समानुपातिकमा मात्र नभएर प्रत्यक्षतर्फ अघिल्लो निर्वाचनमा जितेको २३ क्षेत्र पनि गुमाएको छ भन्दै थापाले भने, ‘धेरै मत गुमाउनु परेको छ। अहिले कांग्रेसलाई आएको मत हेरेर पनि अब नयाँ पुस्तालाई नेतृत्वमा जान दिनुपर्छ भन्ने कुरा दाइहरूलाई महसुस हुनुपर्छ।’ थापाले सरकार कस्तो चलाउने काण्ड नगरी कसरी अगाडि बढाउने भन्ने कुराले पनि कांग्रेसको मतलाई प्रभावित पार्ने भन्दै भने, ‘माथिकाले बिगार्दै जाने तल कार्यकर्ताले संगठन बचाउने सम्भव छैन।’ कांग्रेसले नयाँ मतदाता मात्र नभई रूखबाहेक दायाँबायाँ नहेर्ने पुराना मतदाता पनि गुमाएको भन्दै उनले, ‘पार्टीभित्रै पनि नयाँ ढंगले काम गरेर देखाऔं, गुमाएको मत पनि फर्किन्छ। नयाँ मतदाता पनि कांग्रेसतिर आउँछन्। कांग्रेस अब २६,२७ प्रतिशतको नभई ४० प्रतिशतको बनाउनुपर्छ।’ प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाले विकल्प दिनुपर्ने भन्दै शर्माले भने, ‘यसअघि पनि बारम्बार मैले भन्दै आएको कुरा हो पार्टीका अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता र प्रधानमन्त्रीमा प्रस्ताव गर्छु भनेर प्रतिबद्धता जनाइसकेको छु।’ प्रधानमन्त्रीका लागि दाबी गरिरहेका दुवै शीर्ष नेता १४औं महाधिवेशनपछि नेतृत्वमा देखिएका थिएनन्। संस्थापन इत्तरले महाधिवेशनमा पौडेललाई समर्थन नगरेपछि पौडेल करिब निस्क्रियनै थिए। कोइरालाले भने महाधिवेशनमा पार्टी सभापतिका लागि देउवालाई सहयोग गरेका थिए। यस मानेमा पनि महाधिवेशनमा आफूले सहयोग गरेका कारण संसदीय दलको चुनावमा देउवाले आफूलाई समर्थन गर्ने कुरा अगाडि ल्याएका छन्। पौडेल भने अहिलेको परिस्थितिमा आफू मात्र सर्वसम्वत संसदीय दलको नेता बन्न सक्ने बताउँदै आएका छन्।