प्रधानमन्त्री देउवाको भनाइ, दुई वटा रनवेको भए पनि निजगढ विमानस्थल बन्छ :

Share to:

रासंसा/बारा, आषाढ १८,

मुलुकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको विकल्प नरहेको बताएका छन्। सर्वोच्चको पूर्णपाठले विमानस्थल निर्माणको लागि बाटो खुलेसँगै निरिक्षणका लागि आएका प्रधानमन्त्री देउवाले विमानस्थल निर्माण गरिने बताएका हुन्। गठबन्धदल दलका शिर्ष नेतासहित आएका प्रधानमन्त्री देउवाले निजगढस्थित विकास निर्माण कार्यदलमा आयोजित ब्रिफिङ् कार्यक्रममा दुई वटा रनवे बनाएर भए पनि विमानस्थल बनाईने बताएका छन्। ब्रिफिङ्‍का क्रममा प्रधानमन्त्री देउवा विमानस्थलको विषयमा सकारात्मक देखिएको बताइएको छ। प्रधानमन्त्री देउवासँगै आएका पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्रका लागि निजगढ विमानस्थल ‘गेम चेन्जर’ प्रोजेक्ट रहेको भन्दै विमानस्थल निर्माणका लागि कुनै दुविधा राख्न नहुने बताए। द्रुतमार्ग बनाउनुको औचित्य विमानस्थलसँग जोडिएको र समयमै विमानस्थल नबने राज्यको अर्बौ लगानी खेर जाने भन्दै प्रचण्डले विमानस्थल निर्माणमा ढिलाई गर्न नहुने बताएका छन्। प्रचण्डले मुलुकका लागि पनि अतिआवश्यक आयोजना रहेकाले निजगढमै बनाउनका लागि दृढतापूर्वक अघि बढ्नुपर्ने बताए। ब्रिफिङ्‍पछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले तराईमधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना रहेको भन्दै दुवै आयोजना सरकारको प्राथमिकतामा रहने बताए। ‘विमानस्थलकै कारण द्रुतमार्गको परिकल्पना गरिएको हो। त्यसैले दुवै आयोजना बनाउनुपर्छ।’ देउवाले भने, ‘गठबन्धन सरकारको प्राथमिकता भनेको द्रुतमार्ग बनाएर प्लेन ल्याण्ड गराउने हो। दुई वटा रनवेको भएपनि विमानस्थल बन्छ।’ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशभरी गरिएको सर्वेक्षणले निजगढ उपयुक्त देखिएकाले यसको विकल्पका विषयमा सोच्न नहुने बताए। देशमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको अति आवश्यक रहेको भन्दै यादवले विमानस्थल निर्माणको कामलाई अघि बढाउन आफू सकारात्मक रहेको बताएका छन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि विमानस्थल निर्माण रोकिन नहुने बताए। नेता नेपालले विमानस्थल निर्माणका लागि बाटो खुलेको र अब यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए। ‘विमानस्थल निर्माणका लागि बाटो खुलेको छ। अब यसमा अवरोध कसैले गर्नुहुन्न’ नेपालले भने ‘जायज माग राखेर विमानस्थल निर्माणका लागि सबैले सहयोग गर्नुपर्छ। नत्र फेरि अन्तै लैजाने डर हुन्छ।’ टोलीले जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिकाकाका नगर प्रमुखसँग छलफलसमेत गरेका थिए। छलफलका क्रममा जनप्रतिनिधिले विमानस्थल निर्माणको कामलाई रोक्न नहुने भन्दै अघि बढाउनका लागि प्रधानमन्त्रीसहित नेताको ध्यानाकर्षण गराएका थिए। गठबन्धन दलकै अर्की नेतृ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले कम भन्दा कम क्षतिमा विमानस्थल बनाउनुपर्ने बताईन्। प्रधानमन्त्रीको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरण मन्त्री रामसहाय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनराम श्रेष्ठ, खानेपानी मन्त्री उमाकान्त चौधरी, बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, नागरिक उड्यान प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत सहभागी थिए। प्रधानमन्त्रीको नेतृत्वमा आएको टोलीलाई निजगढ विमानस्थल आयोजनाका निमित्त प्रमुख बिजय यादवले विमानस्थलका विषयमा हालम्म भएका प्रगतीका विषयमा जानकारी गराएका थिए। टोलीले सेनाको हेलिकप्टरबाट टांगियाबस्ती क्षेत्रको हवाई निरिक्षण गरेको थियो।

Like