१७२ औं पटक रक्तदान गर्ने कर्माचार्य युवा परिषदद्वारा अभिनन्दित
रासंसा/भक्तपुर, मार्ग १९,
मुलुकमा १७२औं पटक रक्तदान गरिसकेका प्रेमसागर कर्माचार्यलाई राष्ट्रिय युवा परिषदले अभिनन्दन गरेको छ । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको सन्दर्भमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले कर्माचार्यलाई अभिनन्दन गरेका हुन् । नेपाल रेडक्रस सोसाइटीको रकर्ड अनुसार कर्माचार्य अहिलेसम्म नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गरेका व्यक्ति हुन् । संयुक्त राष्ट्रसंघको महासभाको निर्णय अनुसार डिसेम्बर ५ लाई सन् १९८५ देखि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइदै आइएको छ । सोही अवसरमा राष्ट्रिय युवा परिषदले रक्तदान कार्यक्रम राखेको प्रशासकीय प्रमुख रमाकान्त शर्माले जानकारी दिए । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्यले रक्तदान जस्तो उच्च मानवीय कार्यमा निरन्तर समर्पित भइ युवाहरुलाई उत्प्रेरणा जगाएकाले अभिनन्दन गरिएको बस्नेतले बताए । कर्माचार्यले यस सम्मानबाट आम रक्तदाता युवाहरु नै सम्मानित भएको बताउनुभयो ।