फर्काउलान् त संसद्‌मा कोइराला दाजुभाइ विरासत ?

Share to:

रासंसा/मोरंग, मार्ग १७,

मुलुकमा नेपाली कांग्रेस र राष्ट्रिय राजनीतिमा समेत लामो समय नेतृत्व गरेको कोइराला परिवारबाट यसपटक तीन उम्मेदवारमध्ये दुई जनाले चुनाव जिते । पछिल्लो पुस्तामा कोइराला परिवारको विरासतमा अघि उभिएका तीनमध्ये शशांक कोइराला र शेखर कोइरालाले चुनाव जित्दा सुजाता कोइराला भने पराजित भइन् । पार्टीको महामन्त्री भइसकेका शशांकले चुनाव जितेलगत्तै अब प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेतामा दाबी गर्ने बताए । गत मंसिरमा भएको महाधिवेशनमा सभापतिका प्रत्यासी रहेका शेखरले त्यसबारे प्रष्ट बोलेका छैनन् । तर पार्टीभित्र प्रतिपक्षी धारको नेतृत्वमा रहेका उनको कदमबारे चौतर्फी चासो छ । चुनाव जितेर संसद् छिरेका कोइराला दाजुभाइलाई यसपटक कोइराला परिवारको विरासत फर्काउनुपर्ने चुनौती छ । यसपटक दुवैले प्रधानमन्त्रीमा चासो र दाबेदारी प्रस्तुत गरिसकेका छन्, तर सहज भने देखिँदैन । पार्टीमा ‘वेटिङ प्रेसिडेण्ट’का रुपमा रहेका शेखर यसपटक कांग्रेसमा प्रभावशाली भूमिकामा छन् । कोइराला परिवारको प्रभाव क्षेत्र विराटनगरबाट चुनाव जितेका उनको अब प्रधानमन्त्रीको दौड सफल होला कि नहोला ? यहाँ बहसको विषय बनेको छ । विगतमा कोइराला परिवारबाट मातृकाप्रसाद, बीपी र गिरिजाप्रसादले पार्टीमात्रै होइन, प्रधानमन्त्रीसमेत भएर देशको नेतृत्व गरे । सुशील कोइरालाले पनि पार्टी र देशको नेतृत्व गरे । त्यसपछि भने नेतृत्वमा कोइराला परिवारको उदय हुन सकेको छैन । शेखर र शशांक दुवै बाबुहरूले बनाएको विरासत जोगाउन राष्ट्रिय राजनीतिको नेतृत्वमा कोइराला परिवारलाई ‘कम ब्याक’ गराउने प्रयासमा देखिन्छन् । राजनीतिमा युवा नेतृत्व आउनुपर्छ भन्ने जनभाव बढ्दै गर्दा सात दशक नाघिसकेका शेखर र हाराहारी पुगेका शशांकका लागि कोइराला विरासत फर्काउने यही अन्तिम मौकासमेत हुनसक्छ । पार्टीको महामन्त्री रहिसकेका शशांक र पार्टीभित्र प्रतिपक्षी धारको नेतृत्वमा रहेका शेखरबीच अहिले राजनीतिक सहकार्य छैन । १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सहयोग पुग्ने गरी शशांकले खेलेको भूमिकाले शेखरलाई चोट परेको थियो । तर, केन्द्रीय सदस्यबाट सीधै सभापतिमा भिडेका शेखरले पराजित भएर पनि पार्टीमा प्रभावशाली नेताको छवि बनाएका छन् । चौंथोपटक संसदीय यात्रामा रहेका बीपी पुत्र शशांक उमेरका हिसावले शेखरका भाइ हुन् । तेस्रो पटक संसद् प्रवेश गरेका शेखर बीपीका भाइ केशव कोइरालाले छोरा हुन् । शशांक यसपटक पनि नवलपरासी (बर्दघाट सुस्तापुर्व)–१ बाटै निर्वाचित भएका छन् भने शेखरले गिरिजाप्रसाद कोइरालाले चुनाव लड्ने गरेको क्षेत्र मोरङ–६ बाट चुनाव जितेका छन् । शशांकले औपचारिक रुपमै प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् । शेखरले बोलेका छैनन् । तर, पार्टीको संसदीय दलको नेता छानिएर प्रधानमन्त्री बन्ने अंकगणितीय जोड घटाउमा भने सक्रिय छन् । ‘विराटनगरको राजनीतिक राजधानीको साख फर्काउन प्रधानमन्त्री बन्नै पर्छ भन्ने कुरो होइन, तर प्रधानमन्त्री बन्दिनँ भन्ने पनि होइन,’ कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा शेखरले भने, ‘सरकारको नेतृत्व पुस्तान्तरण गर्न नम्बर ‘गेम’ आवश्यक हुन्छ, साथीहरुसँग छलफल गरिरहेको छु ।’ त्यसो त कांग्रेसमा सरकारको नेतृत्वमा पुस्तान्तरणको हुनुपर्ने मुद्धा जोडतोडका साथ उठिरहेको छ । त्यसका लागि महामन्त्री गगन थापाले आफू प्रधानमन्त्री बन्नका लागि तयार रहेको घोषणासँगै त्यसको तयारीमा जुटिसकेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा, गुल्मीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चन्द्र भण्डारीलगायतका युवा नेताहरुले देशको नेतृत्वमा प्स्तुान्तणको आवाज उठाएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि नेतृत्वमा पुस्तान्तरणसँगै आफू प्रधानमन्त्रीका लागि सक्षम रहेको भनिरहेका छन् । प्राध्यापक बेदराज आचार्य गिरिजाप्रसाद कोइराला बाँचुन्जेल प्रतिनिधित्व गरेको सम्झिएर मतदाताले राजनीतिभन्दा माथि उठेर शेखरलाई मतदान गरेको बताउँछन् । ‘यो गिरिजाप्रसादले प्रतिनिधित्व गरेको भूमि हो । शेखरले कांग्रेसमा जुन उचाइ लिए, त्यो देखेर मतदाताले उनलाई कांग्रेसको नेताभन्दा पनि पुर्वको नेताकारुपमा मत दिएर पठाएका छन्,’ उनी भन्छन्, ‘सत्ता गठबन्धनमा पुस्तान्तरण गर्नका लागि शेखरको नेतृत्व उपयुक्त हुने देखिन्छ ।’ अर्का राजनीतिक विश्लेषक प्राध्यापक भेषप्रसाद धमला पनि आचार्यको तर्कमा सहमत देखिन्छन् । ‘शेखरजीलाई यहाँ कांग्रेस वा गठबन्धनका मतदाताले मात्रै होइन, सबै पार्टीका मतदाताले स्वीकारेको अवस्था छ, त्यो मत परिणाममा पनि झल्किन्छ,’ उनले भने, ‘क्षेत्रका मतदाताले शेखरलाई देशको नेतृत्व गर्ने मत दिएर पठाएका छन् ।’ एकातिर गठबन्धन बिना बहुमत नपुग्ने अवस्था र अर्कोतिर पार्टीभित्रै दाबेदारको भीड लागिरहेका बेला कोइराला दाजुभाइ अब एक्ला–एक्लै अघि बढ्लान् वा एकजुट बनेर अघि बढ्लान् भन्ने प्रश्न त छँदैछ । शेखरनिकट नेताहरूका अनुसार गठबन्धनमा पुस्तान्तरण हुँदा गठबन्धन दलकालागि देउवापछि शेखरको नेतृत्व बढी स्वीकार्य छ । शेखरले पनि त्यस्तो संकेत गरेका छन् । उनले सभापति देउवाइत्तर पक्षलाई एकीकृत गर्ने प्रयास गरेको बताउँदै आएका छन् । अब फेरि पनि वर्तमान सत्ता गठबन्धनकै सरकार बन्दा नेतृत्वकालागि कांग्रेसबाट सभापति शेरबहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेल पनि दाबेदार छन् । पार्टीभित्रको संसदीय गणित सभापति देउवाका लागि सहज देखिन्छ । तर, गठबन्धनमै रहेको दल नेकपा माओवादी केन्दबाट अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि प्रधानमन्त्रीका आकांक्षी छन् । तर, अहिलेको गणितमा देउवाको विकल्प खोज्न कांग्रेसमा ठूलै विद्रोह हुनुपर्छ । देउवा आफैँले नचाहेको अवस्थामा उनको विकल्प खोजिने सम्भावना कम छ । ‘कसैले प्रधानमन्त्री बन्ने चाहना राखेर मात्रै हुँदैन, त्यसका लागि नम्बरको गेम हुन्छ भन्ने कुरा बुझ्नु जरुरी छ,’ कोइरालाले भनेका छन्, ‘संसदीय दलको नेतामा जसले नम्बर पुर्‍याउँछ, उसैले सरकारको नेतृत्व गर्छ । म त्यसका लागि साथीहरुसँग कुरा गरिरहेको छु ।’ ०७४ मा पराजित भएका शेखरले यसपटक मोरङ–६ मा उही पुरानै प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितलाई पराजित गरेका हुन् । कोइरालाले पण्डितलाई १२ हजार २७८ मतान्तरले पराजित गरे । उता शंशांकले नवलपरासी पुर्व–१ मा एमालेका कृष्णप्रसाद पौडेललाई २ हजार २० मतान्तरले पराजित गरेका छन् । गिरिजापुत्री सुजाता भने मोरङ–२ मा एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी छिन् ।

Like