वर्तमान गठबन्धनलाई निरन्तरता दिने कि वाम एकतामा जाने? माओवादी बैठकमा मत बाझियो,
रासंसा/काठमाण्डौ, मार्ग १७,
मुलुकमा नेकपा माओवादी केन्द्रले सत्ता समीकरणका लागि अन्य विकल्पमा समेत छलफल खुला राख्ने भएको छ। माओवादी केन्द्रले एमालेसहितका अन्य दलहरूसँग पनि छलफल गर्न सकिने बताएको हो। महराले हालको गठबन्धन छोड्ने निर्णय नभएको र अन्य विकल्प पनि खुला राख्ने विषयमा छलफल भएको बताए। शनिबार बसेको माओवादीको पदाधिकारी बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले चुनावमा अपेक्षाअनुसार नतिजा नआएको भन्दै सत्ता समीकरणमा अन्य विकल्प खुला रहेको बताए। महराले भने, ‘अन्य अप्सन खुला राखेका छौं। मुख्यतः आजको बैठकमा चुनावको समीक्षा भयो।’ माओवादी केन्द्रका महासचिव देव गुरुङले बहुदलीय प्रणालीमा अन्य दलसँग छलफल गर्नै नहुने भन्ने नरहेको बताए। ‘मल्टीपार्टी सिस्टममा अन्य दलहरूसँग छलफल नै नगर्ने भन्ने हुँदैन। त्यो भनेको एमालेसँग पनि छलफल गर्न सकिन्छ। बहुदलमा भेटघाट हुन्छ। आ-आफ्ना कुरा त राख्न पाइन्छ नि,’ बैठकपछि उनले भने। सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी पनि छन्। यीबाहेक अन्य दलहरूसँग पनि आगामी सत्ता समीकरणबारे छलफल गर्न सकिने माओवादी केन्द्रको रणनीति छ। मधेसबाट पराजित भएका नेता मातृका यादवले निर्वाचनमा भोट ट्रान्सफर नभएकाले माओवादी पार्टी १७ सिटमा खुम्चिएको बताए। उनले वर्तमान गठबन्धनबाट माओवादीले अपेक्षा गरेबमोजिम नतीजा ल्याउन नसकेको स्पष्ट पारे। ‘बैठकमा नेताहरूले निर्वाचनको मत परिणामबारे समीक्षात्मक रिपोर्टिङ गरिरहनुभएको छ। माओवादीले सोचेअनुरुपको नतिजा ल्याउन नसकेको सबैको निष्कर्ष छ। त्यसैले वर्तमान गठबन्धनलाई के गर्ने भन्नेबारे अझै निर्णय भएको छैन,’ उनले भने। उनले अहिल्यै वाम एकताबारे भने छलफल नभएको बताए। पछिल्लो समय प्रचण्डको सचिवालय नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग निरन्तर सम्बाद गरिरहेका छन्। केही दिनअघि मात्रै पनि जनमत पार्टीका अध्यक्ष सीके राउतसँग प्रचण्डले खुमलटारमा भेटवार्ता गरेका थिए। कांग्रेस नेतृत्वको गठबन्धनमा आफू निर्णायक भएर जाने प्रचण्ड रणनीति रहेको ती नेताको भनाइ छ। माओवादीले माधव कुमार नेपाललाई समेत पार्टी मर्जर गरेर अगाडि बढ्ने प्रस्ताव गरिरहेका छन्। नेपालले भने यसबारे बसेर छलफल गर्ने आश्वासन दिएका छन्। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साना दलहरूसँग सहकार्य गरेर शक्ति निर्माण गर्नसक्ने बताएका थिए। सोचेजस्तो मतपरिणाम नआएपछि सत्ता बार्गेनिङका लागि यो उपयुक्त विकल्प रहेको प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले बताए। निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १७ सिट जितेको छ। उसले जारी मतगणनामा दोलखामा अग्रता लिएको छ। समानुपातिकतर्फ भने उसले १४ सिट ल्याउने आँकलन गरिएको छ। बैठक आइतबार २ बजे बस्ने बताइएको छ।