एमालेको निर्वाचन आयोगलाई ध्यानाकर्षण
रासंसा/काठमाण्डौ, मार्ग १२,
मुलुकमा केही निर्वाचन क्षेत्रमा धाँधली भएको भन्दै नेकपा एमालेले निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण गराएको छ। पार्टी महासचिव शंकर पोखरेलले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउँदै दोलखा, बाजुरा र स्याङजा २ मा बुथ कब्जा भएकाले पुनः मतदान गराउन माग गरे। एमालेको ज्ञापनपत्रमा भनिएको छ, ‘यी मतदान केन्द्रमा स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नभएको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश गरिनुपर्छ।’ एमालेले स्याङजाको चापाकोट नगरपालिका–३ दिसिंगकोट आधारभूत मावि कमेरे, ४ को राम मन्दिर मावि दार्सिङ नरसेवा, ५ को जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी र दिनदयालु आधारभूत विद्यालय साटिमुरेका सबै मतदान केन्द्रमा पुनः मतदानको आदेश हुनुपर्ने बताएको छ। यी मतदान केन्द्रमा बुथ कब्जा, हत्या र विदेशमा रहेका मतदाताको नामबाट मतदान भएको आरोप एमालेको छ। बुथ कब्जा भएका सबै मतदान केन्द्रको विवरणसहित ती ठाउँमा मतदान गराउन एमालेले माग गरेको छ। आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा भने पुनः मतदान गराउन आइतबार नै निर्णय गरिसकेको छ। एमाले भने योसहित अन्य थप स्थान कालिञ्चोक–१ को बेगुम्पा मतदान केन्द्र क र ख र शैलुंग गाउँपालिका–२ भुसाफेदा नवीन मावि मतदान केन्द्रमा पनि पुनः मतदान गराउन माग गरेको छ।
एमालेले बाजुराको त्रिवेणी नगरपालिका–२ को त्रिभुवनेश्वरी मावि मतदान केन्द्र, ३ को मन्टेश्वरी आधारभूत विद्यालय, ७ को नाटेश्वरी आधारभूत विद्यालय, ८ को नवदुर्गा आधारभूत विद्यालय, खप्तडछेडा गाउँपालिका–२ को मालिका मावि मतदान केन्द्र, ४ को खापरदेवस्थली मावि, बुढीगंगा नगरपालिका–७ शारदा मावि मतदान केन्द्रमा पनि फर्जी मतदान भएको जनाएको छ। यी मतदान केन्द्रमा एमालेका प्रतिनिधिलाई कुटपिट गरी हटाएको र विपक्षी उम्मेदवारका प्रतिनिधिले फर्जी मतदान गरेको एमालेले जनाएको छ। एमालेका उम्मेदवारले निर्वाचन अधिकृतसमक्षमा तत्काल निवेदन गरेको र ती स्थानमा स्वतन्त्र, निष्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा ती मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने एमालेको माग छ। यस्तै बुढीगंगा ४ थमा मावि मतदान केन्द्र, ८ को गिरिखेल्ने आधारभूत विद्यालय मतदान केन्द्र, ५ को नन्देश्वरी मतदान केन्द्र, ७ को घटाल आधारभूत विद्यालय, ९ को हिमाली आधारभूत विद्यालय र हिमाली गाउँपालिका ५ को बागेश्वरी आधारभूत विद्यालयसहित ६ को बढीमालिका मावि मतदान केन्द्रमा बुथ कब्जा गरेको एमालेको आरोप छ। उदयपुर १ मा कतिपय मतदान केन्द्रमा अतिरिक्त मतपत्र गणनाका क्रममा फेला परेको र गणनाअघिभन्दा शंकास्पद अवस्थामा मतपेटिका फेला परेकाले ती स्थानमा समेत पुनः मतदानको व्यवस्था गर्न एमालेले भनेको छ। त्यस्तै मन्त्रीहरू चुनाव हार्ने भएपछि उदयपुर १ र सुनसरी ४ मा मतगणनामा अवरोध गरिएको तथा धनुषा २ मा मतगणना सदर हुनुपर्ने मत बदर गरिएकलो पुनः गणना गर्नसमेत माग गरेको छ। ‘सुनसरी ४ को मतगणनाका क्रममा बहालवाला मन्त्री (उम्मेदवार) को दबाबमा मतगणना स्थगित गरिएको छ। मतगणना पुनः सुरु गरियोस्,’ एमालेले निर्वाचन आयोगलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ।’ धनुषा २ मा मतगणना गर्दा सदर हुनुपर्ने मत बदर गरिएकाले त्यसमा पुनः मतगणना गरिनुपर्ने माग एमालेको छ।
निर्वाचन आयोगले आफ्नो कर्तव्यबाट च्युत भई सत्ता गठबन्धनको उम्मेदवारको पक्षपोषण नगरी पुनः मतदानको आदेश गर्न र तदअनुरूप नै मतदान सम्पन्न गराउन एमालेले आग्रह गरेको छ। काभ्रे– १ को प्रदेश (ख) मा सदर मतलाई बदर गरेर ३ मतले एमाले उम्मेदवार पराजित भएकाले पुनः गणना गर्न एमालेले माग गरेको छ। मतगणनामा निर्वाचन क्षेत्रअनुसार मत बदर र सदर सम्बन्धमा फरक–फरक मापदण्ड अपनाउने, निर्वाचित भएको व्यक्तिलाई कसैलाई प्रमाणपत्र तत्काल लिने र कसैलाई नदिई राख्ने कार्य पूर्णतः कानुन प्रतिकूल हुने उसको भनाइ छ। चुनाव जितिसकेका पाँचथरका एमाले उम्मेदवार वसन्त नेम्बाङलाई निर्वाचित भएको प्रमाणपत्र नदिई रोक्ने कुराले सत्ता गठबन्धन धाँधली गर्ने तयारीमा रहेको आशंका सिर्जना भएको समेत एमालेले जनाएको छ।
एमालेले प्रत्यक्षतर्फ र समानुपातिकमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्राप्त समानुपातिकतर्फको मतहरू यस दललाई उपलब्ध गराई कुल योगफल मिले/नमिलेको हेर्न सकिने गरी पारदर्शिता अपनाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ। यसैबीच एमालेले निर्वाचन आयोगको निष्पक्षता माथि पनि प्रश्न उठाएको छ। ‘निर्वाचनमा मतदाताले स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्छ। एउटाको मत अर्को व्यक्तिले आफूखुसी खसाउने, मृत्यु भएका, विदेशमा रहेका र निर्वाचनमा जिल्ला बाहिर खटिएको व्यक्तिले मतदान गरेको वा बुथ कब्जा भएको अवस्थामा पुनः शान्ति सुरक्षाको व्यवस्था मिलाई मतदान गर्नु/गराउनु निर्वाचन आयोगको कर्तव्य हो,’ एमालेले भनेको छ।