कमिलाको अनुहार यति डरलाग्दो
एजेन्सी,
विश्वमा कुनै कमिला यति साना हुन्छन् कि कहिलेकाँही यिनिहरुलाई देख्नसमेत मुश्किल हुन्छ । यसलाई जोसुकैले पनि कुल्चिन सक्छन् । तर जब यसले टोक्छन्, यिनीहरुको वास्तविक शक्तिबारे थाहा हुन्छ । निकै क्रुरताका साथ टोक्ने यी कमिला खासमा त्यति नै डरलाग्दा देखिन्छन् भन्ने कुरा तपाईंलाई थाहा छ ? लिथुआनियाका एक फोटोग्राफर, युजिनियस कपलियाउस्कसले यो तस्बिरलाई कैद गरेर निर्णायकको ध्यान आफूतर्फ आकर्षित गरे । यो तस्बिरको शीर्षक थियो – एन्ट (कम्पोनोटस) । कमिलाको एलियनजस्तो अनुहारलाई एक स्टिरियो 10X माइक्रोस्कोपले पाँच गुणा ठूलो पारेर खिचिएको थियो । निर्णायकले यो शानदार तस्बिरलाई ‘इमेजेज अफ डिस्टिङ्सन’ वर्गमा राखेर पुरस्कृत गरे । हालै विश्वस्तरमा एक फोटोग्राफी प्रतियोगिताको आयोजना गरिएको थियो । स्मल वर्ल्ड फोटोमाइक्रोग्राफी कम्पिटिसन २०२२ जसमा साना जीवका तस्बिर खिचेर पठाउनुपर्दथ्यो । यो प्रतियोगितामा एक व्यक्तिले कमिलाको अचम्मित पारिदिने तस्बिर खिचेका छन् । कमिलाको अनुहारको यो तस्बिरलाई भयानक भन्न सकिन्छ । जुम गरिएको यो तस्बिर किन यति डरलाग्दो भयो त ? सायद कमिलाको एन्टिनाले गर्दा यो भयानक देखिएको हुनसक्छ किनभने यी एन्टिना ‘भूत’ को रातो आँखाजस्तै देखिन्छन् । अथवा कमिलाको ब्लेडको धारजस्तो दाँतका कारण पनि यो भयानक देखिएको हुनसक्छ । यी दाँतमार्फत् नै कमिलाले एकैपटकमा निकै गहिरोसँग टोक्न सक्छ । यी तस्बिरले मात्रै कमिलालाई डरलाग्दो देखाएको होइन । हामी तपाईंलाई कमिलाबारे अर्को एउटा चकित पार्ने जानकारी दिदैछौँ । एन्टोमोलजिस्टका अनुसार केही परजीवीले कमिलाको दिमागलाई नियन्त्रण गर्ने गर्छ र यिनीहरुलाई जम्बीमा परिणत गर्ने गर्छ । दिमाग नियन्त्रण गर्ने परजीवीको प्रवेशपछि कमिला कठपुतली झैँ हुन्छ । त्यसपछि यी परजीवी कमिलाको शरीरभित्र फैलिने गर्छ ।